दीनानाथ शर्मा
विश्वको ठूलो र समृद्ध लोकतन्त्रको निर्वाचन परिणाम सार्वजनिक भएपछि विश्वमा ठूलो हलचल भयो । अमेरिकामा आवधिक निर्वाचन पहिले पनि हुँदै आएका हुन् । हारजित पहिला पनि हुने गरेकै हो तर यसपटक अमेरिकाका राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित र हिलारी क्लिन्टनको पराजयलाई धेरै मानिसले अनपेक्षित भने । पुँजीवादी विश्वका सम्पूर्ण मिडिया हिलारी क्लिन्टनको विजयको प्रचार गरेका थिए । मिडियाका पटक पटकका ‘एक्जिट पोल’ (मत सर्वेक्षण) ले हिलारी क्लिन्टनको स्थितिलाई अगाडि देखाएको थियो तर अन्तमा परिणाम त्यसको विपरीत भयो । अमेरिकी चुनावको परिणाम पर्खेर बसेका विश्वका करोडौँ मानिस चुनाव परिणामबाट स्तब्ध भए ।
चुनाव परिणामपछि राजनीतिक विश्लेषक, लेखक, पत्रकारहरूले विभिन्न कोणबाट विश्लेषण गरे । विश्व राजनीतिक प्रणाली यथास्थितिबाट बाहिर निस्कन चाहन्छ । ट्रम्पको विजय डेमोक्रेटिक उम्मेदवार हिलारीको राज्य सञ्चालनको परम्परागत नीतिको निरन्तरताप्रतिको प्रतिबद्धता हो भन्ने निचोड निकाले कतिले । मतदानमा व्यक्तिको राजनीतिक योग्यता, परिपक्वता र अनुभवको ख्याल गरिएन । गोरा जातिमा सांस्कृतिक, आर्थिक, सामाजिक र राजनीतिक रूपले परेको नकारात्मक परिणामको आधारमा मतदान गरे । आप्रवासी काला जातिले शासन गरेको गोराहरूलाई चित्त बुझेन । महिलाप्रति हर्ने सङ्कीर्ण अमेरिकीहरूको चिन्तन प्रणालीलाई यो परिणामले नराम्रोसँग उजागर ग¥यो । हामीले राष्ट्रपतिको उम्मेदवारको व्यक्तिगत वा पार्टीगत आधारमाभन्दा पनि समग्र विश्व राजनीतिक प्रणालीमा पर्ने असरको धरातलमा उभेर समीक्षा गर्नु उपयुक्त होला ।
फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटी भन्नुहुन्छ, ‘युरोप र विश्वलाई मुख्य शिक्षा प्रस्ट छ, भूमण्डलीकरणलाई आधारभूत रूपमै पुनर्विन्यास गर्नुपर्छ । ’ यो भनाइ अत्यन्तै महŒवपूर्ण छ । अमेरिकी समाजमा भूमण्डलीकरण र खुला बजार व्यवस्थामा परेको सङ्कटको परिणाम हो ट्रम्पको विजय । ट्रम्पको विजय अमेरिकी नीतिको परिणाम हो । बजार उदारीकरणद्वारा विश्व साम्राज्य कायम गर्ने अमेरिकी सपनालाई चिनियाँ विश्व बजारले उछिनिदियो । अमेरिकी युवक तथा निम्न आय भएका गोराहरूको मत ट्रम्पलाई गयो । युवा पुस्ताले विश्व बजार प्रणालीमा आफ्नो भविष्य सुरक्षित देखेन । निम्न आय भएका व्यक्तिले चिनियाँ पुँजीसित प्रतिस्पर्धा गर्ने विश्वास गुमाए । अमेरिका मात्रै अमेरिकीको भविष्य सुरक्षित देख्ने सम्भ्रान्त गोराहरूले सेप्टेम्बर ११ को घटनाले आतङ्कित बनेको अमेरिकीको मनोविज्ञानलाई ट्रम्पको आप्रवासी विरुद्धको आक्रोशपूर्ण अभिव्यक्तिले आकर्षित ग¥यो । मेक्सिकोको सीमामा पर्खाल लगाउने ट्रम्पको उद्घोषले राष्ट्रवादी जनमत ट्रम्पको पक्षमा तानियो ।
अमेरिका खुम्चिन चाहन्छ आफ्नो सीमाभित्र । एकधु्रवीय विश्वको सपना बाँडेर अमेरिकी जनतालाई शासन गर्ने अमेरिकी सपना तुहिइसकेको छ । ट्रम्पको विजय एकध्रुवीय विश्वको बिसर्जनको सनाखत हो । ट्रम्पको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसित सहकार्य गरेर जाने सन्देशले २१औँ शताब्दीको विश्व राजनीतिक प्रणालीमा आमूल परिवर्तन हुने सङ्केत गर्छ ।
ट्रम्प कुनै राजनीतिक सुझबुझ भएका व्यक्ति मानिनुहुन्न । उहाँले स्वास्थ्य बीमाको खारेजी चाहनुहुन्छ । । यसले ट्रम्पलाई मतदान गर्ने निम्न र मध्यमवर्गीय अमेरिकीलाई प्रभावित गर्नेछ । निजी स्वास्थ संस्थाहरूको व्यापार वृद्धिले अमेरिकी समाजमा असमानताको दूरी निकै फराकिलो हुनेछ । करको ३५ प्रतिशतको दायरा घटाएर १५ मा झार्ने घोषणाले अमेरिकीहरू खुसी त भए तर यसको दूरगामी परिणाम भने निकै घातक हुनेछ । कर्पोरेट पुँजीलाई संरक्षण गर्ने ट्रम्पको नीतिले अमेरिकी सम्भ्रान्त पुँजीपतिलाई संरक्षण गर्नेछ । मिकेरी अगाडि भन्नुहुन्छ, ‘हाम्रो समस्याको मूल चुनौती असमानताको वृद्धि र विश्व तापमानमा आएको वृद्धि हो । ’ ऊर्जा उत्सर्जनको समस्या हल गर्ने विश्व अभियानबाट ट्रम्प विचलित र गैरजिम्मेवार ढङ्गले पेस हुनुभएको छ ।
सतही रूपमा उहाँ अति राष्ट्रवादी व्यवसायीको रूपमा पेस हुनुभएको छ । मेक्सिकोको सीमामा पर्खाल लगाउने ट्रम्पको भाषणलाई अमेरिकीले मन पराए । मेक्सिकोको बाटो भएरै चोरीछिपी अमेरिका छिर्ने र आन्तरिक गडबढी मच्चाउने, लागूपदार्थ ओसारपसार गर्ने, मानव तस्करीको सरल निकास त्यसैलाई बन्द गर्छु भन्ने ट्रम्पको भनाइको अमेरिकी मतदाताले समर्थन गरे । मानव तस्करी चोरिनिकासी, लागूपदार्थ तस्करी रोक्न अमेरिकी सुरक्षा निकाय असक्षम रहेछ भन्ने सन्देश हो यो । भारतबाट प्रकाशित हुने टेलिग्राफले ‘अमेरिकालाई, हाम्रा मान्छेहरू आदरणीय भगवान् मान्छन् । भगवान्को देशमा किन यस्तो
गरेको ?’ भन्छ । ट्रम्पको विजय देखेर ‘भगवान’ को देशमा भएको आन्तरिक गडबढी र आतङ्कबाट आजित जनताले ट्रम्पजस्ता व्यक्तिको छनोट गर्न बाध्य भएका छन् । कार्यकाल सम्हालेको सय दिनभित्र अवैध रूपमा अमेरिका बस्दै आएका अप्रवासीलाई निस्कासन गर्छु या त जेल हाल्छु भन्ने कडा प्रतिक्रियाले अमेरिकी लोकतन्त्रमा कति असर गर्ला हेर्न बाँकी छ । विश्व तापमानमा भएको परिवर्तनलाई नियन्त्रण गर्ने पेरिस सम्झौता मान्न बाध्य छैन भन्ने गैरजिम्मेवार अभिव्यक्तिले अमेरिकी शासन व्यवस्थालाई विश्वको दृष्टिमा कमजोर अवश्य गर्नेछ ।
डोनाल्ड ट्रम्पको चुनाव घोषणापत्रले साम्राज्यवादी विश्वमा ठूलै हलचल मचायो । युरोपियन युनियनले ट्रम्प चाहेको थिएन । नेटो सैन्यशक्तिप्रति प्रतिबद्ध र विश्वासी उम्मेदवारी हिलारीको विजय पर्खेको थियो । रुस, चीन विरोधी क्याम्प सुदृढ र बलियो गर्ने रणनीतिकारको प्रतिक्षा थियो चुनावमा । युरोपियन युनियनको सपना नराम्रोसँग तुहियो । ट्रम्पको विजयपछि प्रतिक्रिया दिँदै फ्रान्सका राष्ट्रपतिले परिणाम खतरनाक भने । राजनीतिक विश्लेषक तथा पत्रकारहरूले आक्रोश व्यक्त गर्दै ‘अनटेस्टेड पोलिटिसियन’ भनेर प्रतिक्रिया दिए । ट्रम्पले नेटो र विश्वमा सैन्य कटौती गर्ने भन्नुभएको छ । जापानमा ४९ हजार, तथा दक्षिण कोरियामा रहेका २७ हजार सैनिकको खर्च कटौती हुने सङ्केत गरिसकेको र नेटो सैनिकका लागि भएको अमेरिकी खर्च अमेरिकाको समृद्धिमा केन्द्रित गर्ने घोषणा कम महŒवपूर्ण ठानेनन् अमेरिकीहरूले । यसबाट विश्व साम्राज्यवादी धुरीलाई सैन्य बलमा टिकाउने साम्राज्यवादी रणनीतिमा अवश्य पनि असर पर्न सक्छ । अमेरिका दुई धु्रवमा विभाजित हुने सङ्केत हो यो । यथास्थितिलाई कायम राख्ने कि ट्रम्पको नयाँ सोच अमुसार अगाडि बढ्ने भन्ने कुरामा पेन्टागन विभाजित हुनेछ । यसलाई यथास्थितिवादीहरूले खतरा भनेर विश्लेषण गरिसकेका छन् ।
अमेरिकी पत्रकार तथा लेखक रोजर कोहनले द न्यूयोर्क टाइम्समा लेख्नुहुन्छ, ‘अनिश्चयले भरिपूर्ण यो अवस्था विश्व मामिलाका लागि खतरनाक क्षण हो । ’ … ‘बाराक ओवामा लोकप्रिय छन् तर अमेरिकाका प्रथम काला जातिका राष्ट्रपति हुँदैमा नस्लवादको अवसान भइसकेको थिएन । त्यस्तै लिङगका आधारमा महिलामाथि गरिने पक्षपात पनि अझै जीवित छ । महिलाप्रतिको द्वैषका बाबजुद भएको ट्रम्पको विजयले यही देखाउँछ । ’ यो भनाइले अमेरिकी गोराको दिमागमा सङ्कीर्ण नस्लवाद युगौँदेखि आग्रहको रूपमा छ भन्ने प्रस्ट हुन्छ । कथित अमेरिकी स्वतन्त्रता, समावेशी लोकतन्त्र, मानवअधिकारको नारा कति खोक्रो रहेछ भन्ने प्रस्ट हुन्छ । आप्रवासीविरुद्धको द्वेष नस्लवादको चरम अभिव्यक्ति हो । जातिभेद र लिङ्गभेद जस्ता अत्यन्तै घृणित मान्यता बोकेको समाज रहेछ अमेरिका भन्ने बुझ्न सरल भएको छ । अमेरिकी लोकतन्त्र भाले लोकतन्त्र हो, त्यसले भाले जातिको हितलाई मात्र हेर्छ भन्ने प्रमाणित भएको छ ।
ट्रम्पको जितले परम्परागत पश्चिमा लोकतन्त्रको मोडल असफल भइसकेको भन्ने सङ्केत गर्छ । वर्तमान पश्चिमा राजनीतिक प्रणाली विशेष अमेरिकी राजनीतिक तथा आर्थिक प्रणाली असफल सिद्ध भएको छ । अमेरिकी लोकतन्त्र नक्कली लोकतन्त्र हो भन्ने कुरा नस्लवाद र लिङ्गभेद नीतिको चरम अभिव्यक्ति यस पटकको निर्वाचनमा प्रकट भएको छ ।
बेलायत जनताले जनमत सङ्ग्रहमा युरोपियन युनियनबाट अलग हुने अभिमत प्रकट गरे । बेलायत र युरोपियन शासक गुटका नेताले त्यो चाहेका थिएनन् र त्यो परिणाम आउँछ भनेर सोचेका थिएनन् तर अहिले जनताको फैसला मान्न बाध्य भएका छन् । स्केन्डभियन देशका जनता युरोपियन युनियनमा बस्न चाहँदैनन् । जनमत सङ्ग्रह हुने हो भने परिणाम त्यही आउनेछ ।
अमेरिकी जनताले केही नयाँ चिज खोजेका छन् । त्यसको अभिव्यक्ति स्वरूप ट्रम्पको जित भयो तर यो क्षणिक र अस्थायी हो । युगा सधैँ एकैनाश रहन सक्दैन । गतिमा अगाडि बढेको युगले नयाँको खोजी गर्छ । इतिहासले नेतृत्व जन्माउँछ । ट्रम्प अमेरिकी इतिहासको उपज हुन् । यो खतराको श्रीगणेश हो । हरेक समाजमा परिवर्तन आउँछ । वर्तमान विश्व राजनीतिक प्रणालीको विकल्प समयकै गर्भबाट जन्मिन्छ । ट्रम्पको विजयबाट कोही आत्तिनुपर्ने आवश्यकता भने छैन ।
विश्व राजनीतिक रङ्गमञ्चमा विगत केही समययता अनौठा दृश्य देखिन थालेका छन् । जनताले कुनै पार्टी विशेष वा सत्तारुढ वर्गका रैती विशेष नरहेर स्वतन्त्र निर्णय गर्न थालेका छन् । विगत निर्वाचनमा परम्परावादी पार्टी कङ्ग्रेस आईलाई भारतीय जनताले ठेगान लगाइदिए । दिल्लीका जनताले केजरीवाललाई मतदान गरेर विजेपी कङ्ग्रेस जस्ता पार्टीको पत्तासाफ गरिदिए । बेलायती जनताले युरोपियन युनियनबाट अलग हुने फैसला गर्छन् भन्ने सोचेको भए शासक गुट जनमतमा जाने नै थिएन । त्यस्तै ट्रम्पको विजयबाट विश्व साम्राज्यवाद तिल्मिलाउने स्थिति भयो । ट्रम्प जनताका प्रतिनिधि हुनुहुन्न तर जनताकै मतले जित्नुभयो । संसदीय प्रणालीका यी परिणामले परम्परागत संसदीय प्रणालीको भविष्य सकिँदै गएको र नयाँ विश्व राजनीतिक प्रणालीको विकास अनिवार्य छ भन्ने सन्देश अमेरिकी चुनाव परिणामले दिएको छ ।
Previous Articleमहँगो डलर, १ डलरको १०९ रुपैयाँ ३६ पैसा
Next Article शान्ति मन्त्रालयका १० वर्षः पीडितको यकिन तथ्यांक छैन