पछिल्लो समय निकै चर्चामा रहेको विषय हो नेपाली कांग्रेसको महाधिवेशन । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन् । उपसभापतिमा निर्वाचित भएका दुईमध्ये पूर्णबहादुर खड्का अनुभवी नेता हुन् भने धनराज गुरुङ नयाँ अनुहार हुन् । महामन्त्रीमा पनि युवा पुस्ताबाट गगन थापा र विश्वप्रकाश शर्माले विजय प्राप्त गरेका छन् । अबको दिनमा हेर्ने हो भने कांग्रेसले परिणाममुखी प्रतिफलका लागि पार्टी नेतृत्व कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा पनि राजनीतिक रुपमा विश्लेषण सुरु भएको छ । बाहिर वा भित्र जे, जस्ता कुराहरु आए पनि कांग्रेसका कार्यकर्ताले पार्टी नेतृत्व अर्थात् सभापतिलाई यथास्थितिमा राखे पनि महामन्त्री तथा अन्य पदहरुमा युवा पुस्ताबाट आउनु राम्रो लक्षण हो । नेतृत्व परिवर्तन भनेर मैदानमा आएका प्रकाशमान सिंह, बिमलेन्द्र निधिले नै पुरानो अनुहार रोजेकोले गर्दा टाउको फेर्न नसके पनि अन्य शरिर भने कायापलट भएको मान्न सकिन्छ ।
नेपाली कांग्रेसमा भएको प्रयोग राम्रो हो तर पनि टाउको अर्थात् सभापति फेर्न सकिएन भन्ने कांग्रेस शुभचिन्तकलाई पक्कै छ । नेपाली कांग्रेसमा देउवाका पक्षमा रहेकाहरुले उनले जित्नुलाई गौरव र विशाल युद्धको विजयउत्सव मानेका होलान् तर समग्रमा हेर्दा भने नेतृत्वमा एउटै अनुहार अनि जसको प्रतिफल पनि खास सम्झनलायक छैन भन्ने नै हो । तर पनि कांग्रेसीहरुले नै शेखर कोईराला लगायतका अन्य जो सभापतिका दावेदार थिए उनीहरुलाई नरुचाए पछि के नै गर्न सकिन्छ र भन्नेतर्फ पनि लागेको हुन सक्छ । हिँजोका दिनमा शेरबहादुरको विरोधमा बोल्दै आएकाहरु एकाएक परिवर्तन भए । शेखर कोईरालालाई आफ्नै परिवारले समेत साथ दिएनन् तर पनि त्यत्रो भोट ल्याए । शशांक कोईरालाले समेत शेखरलाई भोट मागेको खासमा देखिएन । अबका दिनमा अहिलेकै अवस्थामा अब शेखरले राजनीति गर्छन् वा गर्दैनन् त्यो भविष्यले बताउला । बिपी कोईराला पुत्र शशाङ्क कोईराला पार्टीमा चार÷पाँच वर्ष महामन्त्री पदमा रहे पनि उनको भूमिका प्रभावकारी नदेखिएको भन्नेहरु पनि छन् । तर नेतृत्व शैलीमा परिवर्तन आवश्यक रहेको अहिलेको अवस्थाअनुसार आगामी दिनमा पार्टी नेतृत्व विशेष गरी सभापतिले कार्यशैली परिवर्तन गर्नुपर्ने देखिन्छ । पार्टीलाई जिताउने हो भने जनमुखी कार्यक्रमहरु कांग्रेसले ल्याउनैपर्छ । बिपीको नामले मात्रै कांग्रेस चल्नेवाला पक्कै पनि छैन ।
नेपालको राजनैतिक दलहरुमध्ये नेपाली कांग्रेस जन्मदेखि नै लोकतान्त्रिक छवि भएको पार्टी हो । कम्युनिष्टहरु फुटेको समय भएकाले पनि अहिलेकै अवस्थामा नेपाली कांग्रेसलाई ठूलो मौका छ । त्यसैले अब कांग्रेसलाई पुरानो किसिमले हाँक्नुहुँदैन । देउवाले पनि केही गरेर देखाउनुपर्छ । आफैले पनि नयाँ किसिमले सोचेर आगामी चुनावमा बहुमत ल्याउने तयारी गर्नुपर्छ र मात्रै कांग्रेस कांग्रेस जस्तो देखिनेछ । नयाँ नेतृत्वले कांग्रेसजनमा आत्मविश्वास वृद्धि कांग्रेस १४औं महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले कांग्रेसजन र सम्पूर्ण लोकतन्त्रमाथि विश्वास गर्नेहरुमा उत्साह र आत्मविश्वास वृद्धि भएको पक्कै छ । तर २००७ सालदेखि २०४६, अनि २०६२÷०६३ सम्मको जनआन्दोलन र अन्तिम समयको कुरा गर्ने हो भने २०७२ मा कांग्रेसकै नेतृत्वमा संविधान जारी भयो । तर विगततर्फ फर्केर विगतमा भएका कुराहरु भन्दै बस्ने कि अब कांग्रेस नयाँ शक्ति हो भनेर आम सर्वसाधारणलाई देखाउने भन्नेतर्फ पनि सोच, विचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।
Previous Articleकिसानी माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन, प्राविधिक शिक्षामा जोड दिनुपर्छः पूर्व मुख्यमन्त्री गुरुङ (फोटो फीचर)
Next Article एक दिनको बाटो चार घण्टामा छोट्टियो