‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान अन्तरगतको कार्यक्रम मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङ र लेतेमा सम्पन्न भएको छ ।
मुस्ताङ र म्याग्दी जिल्ला जोड्ने मुस्ताङको तल्लो भेकमा पर्ने थासाङ गाउँपालिकाको कोबाङ तथा लेतेमा भएको कार्यक्रम गाउँपालिकाका सूचना अधिकारी लाल प्रसाद पौडेलले सञ्चालन गरेका थिए । लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरगत भएको कार्यक्रममा हिंसाको परिचय, प्रकार, अभियानको पृष्ठभुमि, नेपालमा लैङ्गिक हिंसाको अवस्था, हिंसा निवारण गर्नका लागि भएका संबैधानिक र संस्थागत व्यवस्था तथा समाधानका उपायका बारेमा गाउँपालिकाकी लेखा अधिकृत शकुन्तला अधिकारीले सहजीकरण गरेकी थिइन् । त्यस्तै स्वास्थ सम्बन्धी विषयवस्तु सम्बन्धमा रेनुका पाण्डे देबकोटाले सहजीकरण गरेकी थिइन् । त्यसैगरी सुरक्षा निकायका तर्फबाट समग्र अवस्थाको बारेमा जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर प्रताप पौडेलले जानकारी गराएका थिए ।
यस भन्दा पहिला सदरमुकाम जोमसोममा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको पहिलो दिन प्रभातफेरी सहित जोमसोम बजार परिक्रमा गरि मिलनचौतारीमा पुगेर कोणसभा भएको थियो ।
१६ दिने अभियानको दोश्रो दिनमा सर्वसाधारणको निःशुल्क आँखा परीक्षण, आयुर्वेदिक औषधि वितरण, मधुमेह तथा उच्चरक्तचापको परिक्षण लगायतका स्वास्थ्य परीक्षणको सुविधा प्रदान गरिएको मुस्ताङको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । शर्माले भन्नुभयो मुस्ताङमा लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानको दोश्रो दिन एक सय भन्दा धेरै विरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण सुविधा लिनुभएको छ ।
मुस्ताङमा १६ दिन सम्म नै फरक फरक कार्यक्रमहरु आयोजन गरि मनाइन लागेको छ । पहिलो दिन प्रभातफेरी सहित शुरु भएको अभियानको दोश्रो दिन स्वास्थ्य परीक्षण, तेश्रो दिन सरसफाइ, चौथो दिन महिला सम्बन्धी कानुन बारे अभिमुखिकरण, पाँचौ दिन स्थानिय गाउँ पालिकाहरुमा कार्यक्रम, छैटौं दिन हिंसा सम्बन्धी कामको समिक्षा, सातौं दिनमा जेष्ठ नागरिकको भूमिका उनीहरुले पु¥याएको योगदान, अन्तरपुस्ता सिप हस्तान्तरण सम्बन्धी प्रवचन भएको थियो । त्यस्तै आठौं दिनमा बालसञ्जला गठन, नवौं दिन फरक क्षमता भएका व्यक्तिहरु र लैङ्गीक हिंसा सम्बन्धी अन्तरक्रिया, १० औं दिन लैंगिक हिंसा निवारणमा महिला सहकारीको भूमिका सम्बन्धी अन्तरक्रिया, ११ औं दिन थासाङ गाउँपालिकामा कार्यक्रम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । त्यस्तै १२ औं दिनमा हिंसा न्यूनिकरणका लागि गैससको भूमिका सम्बन्धी अभिमूखिकरण, १३ औं दिन जिल्लाको हिंसाको तथ्याङ्क सहित हिंसा न्यूनिकरणका लागि उपायको खोजी, १४ औं दिन बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकामा कार्यक्रम, १५ औं दिन महिला तथा आमा समूहले गरेका कार्यको समिक्षा भएको छ । अन्तिम दिन कार्यक्रमको प्रभावकारीताको मुल्याङन र सुझाब संकलन सहित समापन हुनेछ ।