नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ ।
नारायणी नदी किनारमा आयोजित एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई त्यसबेला अन्य दलले स्वीकार नगरे पनि अब चाँडै मुलुक निर्वाचनमा जाने भएकाले त्यसको तयारी गर्दै एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले देशमा समृद्धि, सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै देशलाई मिलेर अघि बढाउन एमालेमा सामेल भएर आउन अन्य दलमा रहेका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । “एमालेले आउँदो फागुनसम्म देशभर पार्टी प्रवेशका व्यापक कार्यक्रम आयोजना गर्नेछ”, उहाँले भन्नुभयो, “एमाले गफ गर्ने पार्टी होइन, देश र जनताका लागि काम गर्ने पार्टी हो ।”
अध्यक्ष ओलीले एमालेले छिमेकी र अन्य मुुलुकसँग पारस्परिक लाभ, आपसी समानता र सार्वभौमिकताका आधारमा सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै आफू नेतृत्वको सरकारले पृथकतावाद र हिंसात्मक गतिविधिमा संलग्न पक्षहरुलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याएकाले अब कुनै हिंसाको वातावरणको काम नरहेकाले विदेशीहरुले लगानी गर्ने वातावरण रहेको बताउनुभयो ।
महाधिवेशन उदाहरणीय बन्ने
अध्यक्ष ओलीले महाधिवेशनको बन्द सत्रले उच्चस्तरमा सहमति, एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लासपूर्णरुपमा सम्पन्न भएर सफलताको सूचनासहित यही मङ्सिर १३ गते पत्रकार सम्मेलनबाट घोषणा गर्ने बताउनुभयो । उहाँले एमाले र अर्को पाँच वर्ष देशलाई नै हाँक्न सक्ने नेतृत्व चुन्नु महाधिवेशनको कार्यभार भएकाले सानातिना अन्तरविरोधमा नअल्मिएर देश निर्माणका भावना र उचाइका आधारमा अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन्। चितवनमा जारी दसौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘समुन्द्र पनि हाम्रो हो, अन्तरिक्ष पनि हाम्रो हो। भू–उपग्रह अन्तरिक्षमा पठाएका छौं। जमिनमुनि तार बिछ्याउने काम गरेका छौं।’
उनले थपे, ‘समुन्द्रमा हामी पुगिसक्या छैनौं। साथीहरुलाई स्मरण गराउन चाहन्छु, धर्तीको अरबिट छेडेर सानो भू-उपग्रह अन्तरिक्षमा पठाएका छौं। त्यसमा सफलता पाएका छौं। अब ठूलो उपयुक्त साइजको भू-उपग्रह हामी अन्तरिक्षमा पठाउनेछौं।’
उनले संविधान संशोधन गर्ने संकेतसमेत दिए। उनले नेपाली जनताले बनाएको संविधान आवश्यकताअनुसार संसोधन हुने बताए। उनले आफ्नो पार्टी अब चुनावमा केन्द्रीत हुने बताए। त्यसका लागि अन्य पार्टीलाई जनतामा जान आह्वान गरेको तर उनीहरु त्रसित भएको उनले बताए।
उनले छोटो समयमा नेपाललाई समृद्ध राष्ट्र बनाउने अभिभारा रहेको बताउँदै लोकतन्त्रको रक्षाका लागि, संविधानको गलत व्याख्या सच्चाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरे।
उनले एमालेका लागि एकल बहुमतको जरुरी रहेको बताए। ‘एमालेलाई बहुमत हैन, देशका लागि बहुमत चाहिएको हो। लोकतन्त्रको रक्षा, संविधानको रक्षाका लागि, नेकपा एमालले बहुमत ल्याउनुपर्छ। विकासको लहर ल्याउनका लागि बहुमत चाहिएको हो,’ उनले भने।
उनले एमाले नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान गर्न सदैव कटिबद्ध रहेको बताए। उनले सम्बोधनको क्रममा भने, ‘नेपालको सबैभन्दा ठूलो पार्टी, सेन्टिमेन्टल कुरा होइन। वास्तविकरुपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भनेर व्यवहारिक कार्यान्वन गर्ने पार्टी हो एमाले।’
उनले एमाले अब चुनावको तयारीमा रहेको बताउँदै भने- ‘तपाईँहरुले छानेर पठाएका प्रतिनिधि गैरजिम्मेवार छैनन्। अत्यन्तै जिम्मेवार छन्।’