कुनै पनि जटिल काम गर्नुपर्ने अवस्था जब आउँछ तब त्यसलाई समाधान गरेपछि हिरो भइन्छ । हिरो हुनका लागि सबैले के कसो हो भन्नेतर्फ मात्रै केन्द्रीत हुने हो भन्दापनि फरक प्रकृतिका कुराहरुमा पनि सबैले ध्यान दिनुपर्छ । पछिल्लो समय हेर्ने हो भने कोभिड–१९ को महामारीको समयमा भोग्नुपरेका जटिलताहरुलाई समाधान गर्ने र त्यसको जोखिम अवस्थामा पनि खटेर काम गर्नेहरुको अवस्थालाई नेपालमा मात्र होइन विश्व स्वास्थ्य संगठनका निर्देशकले नै हिरोको संज्ञा दिएका छन् । पर्वतका वडा अध्यक्षहरुले कोभिडका बिरामीका साथै कोभिडबाट मृत्यु भएकाको शव व्यवस्थापनको काम गरेको प्रसंग अहिले नेपाली मिडियामा छाए । त्यस्तै असारको पहिलो दिनका लागि तोकिएको भ्याक्सिन लगाउने कार्यलाई पनि दृष्टिगत गरेर सबैको ध्यान तानेकै हो । खोला तर्न नसकेपछि भ्याक्सिनलाई खोला तार्नका लागि भएको प्रयास मुस्ताङ जिल्ला मात्र नभएर नेपाल हुँदै विश्व स्वास्थ्य संगठनका निर्देशकले नै उनीहरु हिरो हुन् भन्दै सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका थिए ।
मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर १ र २ मा असार १ गते ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम थियो । लक्षित उमेर समूहका नागरिकलाई कोरोना खोपको दोस्रो मात्रा दिनका लागि टुकुचे र कोबाङ स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आवश्यक सबैजसो तयारी पूरा गरिसकेका थिए । तर, खोप भने आइपुगेको थिएन । खोप लेते प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेको थियो । खोपलाई कोल्डचेन मेन्टेन गरेर राख्ने संरचना लेतेमा मात्रै छ । गाउँपालिका क्षेत्रका अरु खोप केन्द्रमा खोप लगाउनुपरेमा लेतेबाटै लगिने गरिएको थियो । जेठ २८ गतेदेखि लगातारको वर्षाका कारण छ्याक्ताङखोला उर्लिएको थियो । खोला तर्ने कुनै उपाय थिएन । ज्यान जोखिममा राखेर केही गर्न सक्ने अवस्था पनि थिएन तर खोप लगाउनैपर्ने थियो । त्यसैले छ्याक्ताङखोला वारीपारीबाट फलामका पाइपको माध्यमबाट भ्याक्सिन तारेरै भए पनि कोबाङमा खोप लगाउनका लागि प्रयास भयो र सफल पनि भयो । जुन माध्यमबाट खोप तार्ने काम भयो त्यसको फोटो तथा भिडियो पनि खिचिएका कारण विश्वले हेर्न पायो र विश्व स्वास्थ्य संगठनका निर्देशकले पनि नेपाली स्वास्थ्यकर्मीलाई रियल हिरोको संज्ञा दिए ।
मुस्ताङका कवि भुपी शेरचनले लेखेका थिए हामी बहादुर कि बुद्दु भन्ने प्रसंगमा । हो अहिलेको अवस्था र जुनसुकै समयमा पनि हिरो हुनेको अवस्था भनेकै त्यही हो । जहाँ स्रोतसाधन हुँदैन अनि त्यही कमजोर स्रोतसाधनका बाबजुत पनि सफल काम गरिन्छ तब त्यहाँ हिरोको जन्म हुन्छ । त्यही हुन्छ अनि रियल हिरो । सबै सधैं हिरो हुन कहाँ सक्छन् र तर केही कमजोर होस् वा मजबुद जे जस्तो कार्य भए पनि गर्न सकेको खण्डमा नै हो रियल हिरो हुने । यही रियल हिरो अहिले कोभिडको समयमा धेरै भएका छन् । सबै डराएर भागिरहेको अवस्थामा बिरामीको उपचारमा खट्ने स्वास्थ्यकर्मी, मृत शरिरको व्यवस्थापन गर्ने व्यक्ति मात्र नभएर गम्भीर अवस्थामा पुगेका बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य संस्थासम्म पु¥याएर नयाँ जीवन दिनका लागि खट्ने सबै हिरोहरुप्रति साधुवाद !