लकडाउन सुरु हुनासाथ एउटा भिडियो भाइरल बनेको थियो । प्रहरीले साईकलमा यात्रा गर्दै गरेका एक युवालाई कता र किन जाने भनेर सोध्दा त्यत्तिकै हिँडेको भन्दा लाठी कारवाही गरेको । विश्व समुदाय नेपालीसँग त्यसै डराउँदैन । उनीहरु नेपालीहरुको मुर्खता वा बहादुरी देखेरै डराएको हो । शान्ति मिसनमा गएका नेपालीहरुको व्यवहारले मिसनमा आएका अन्य देशका सुरक्षाकर्मी त तर्सिन्छन् नै भने जुन स्थानमा शान्ति स्थापना गर्नुपर्ने अवस्था सिर्जना गर्ने समूह हुन्छ त्यो पनि तर्सिन्छ । बाहिर कतैबाट जब विष्फोटको आवाज आउँछ तब अन्य मुलुकका सुरक्षाकर्मीहरु बुलेटप्रुफ लगाउन भित्र छिर्छन् नेपालीहरु भने जुन अवस्थामा छ त्यस्तैमा बारिह कुद्छन् कहाँ के भयो भनेर भन्ने पनि सुन्नमा आउँछ । गोली वा बमको आवाज निस्केपछि पनि सामान्य सुरक्षा कवजको समेत प्रयोग नगरी युद्ध मैदानमा उत्रन सक्ने नेपाली मात्रै हुन् भन्ने उदाहरणहरु त्यसै आएका होइनन् ।
अहिलेको अवस्थामा पनि कोरोना महामारीले गर्दा बाहिर हिँडडुललाई नियन्त्रण गर्नुपर्ने अवस्था भए पनि केही नभएकाले बाहिर निस्कने भन्दापनि काम गर्नका लागि वा केही गर्न मात्र निस्कँदा कस्तो हुन्थ्यो होला । हिमाली जिल्ला म्याग्दीमा हालसम्म नेपाल सरकार स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार ५० संक्रमित भएकोमा ४८ पूर्ण निको, १ को मृत्यु र १ सक्रिय संक्रमित रहेको देखाउँछ । संक्रमित र निको हुनेको दर हेर्दा करिब शतप्रतिशत जस्तै देखिए पनि एकजना ४५ दिनको बच्चाको मृत्यु काठमाडौंमा भए पनि उनको बाबाको स्थायी ठेगाना म्याग्दी देखिएकोले मृतकको संख्या म्याग्दी गणना गरेर म्याग्दीलाई मृतक पनि रहेको जिल्ला मन्त्रालयले देखाइदिएको हो । अहिलेको अवस्थामा कोरोनाका बारेमा विभिन्न अड्कलबाजी काटिए पनि कसैले यसको रोकथाम वा फैलावट कसरी कहाँबाट कस्ले थाल्यो भन्न सक्ने अवस्था छैन । चीनको वुहानबाट फैलिएको भाइरसलाई चीनको कुनै अनुसन्धान केन्द्रबाट चुहावट भएको हो कि भन्नेहरुको मत रहेको भए पनि चीनका पत्रकारले सन् २०२० को सुरुमै अमेरिकन सैनिकले ल्याएर चीनमा छाडेको आरोप लगाएका थिए । आरोप प्रत्यारोप भए पनि एकिन तथ्यगत पुष्ट्याईँ भने कसैसँग पनि छैन । तर पनि हुलमुलमा ज्यान जोगाउनुपर्छ भन्ने उखानलाई मनन गर्दै भीडभाडमा नजाने र भीडभन्दा टाढा रहनु नै उचित र उत्तम उपाय हो ।
पुलिस, सेना, सशस्त्र अनि मेडिकल टोलीको मात्र जिम्मेवारी होइन कोरोना नियन्त्रण । सेना, प्रहरी, सशस्त्रले अग्रमोर्चामा बसेर सुरक्षा व्यवस्था गर्ने गरेका छन्भने मेडिकल टोली जुनसुकै कठिन परिस्थितिलाई पनि नजरअन्दाज गर्दै जिन्दगीलाई दाउमा राखेर भीड्नुपर्ने अवस्था छ । विश्वमा कयौं डाक्टर, नर्सहरुले अहिले कोरोनाको कारणले ज्यान गुमाएका छन् । फैलावटको हिसाबले हेर्ने हो भने पनि त्यही क्षेत्रलाई आरोप लगाइन्छ । तर अन्यत्रबाट आएका सुरक्षा निकायका कर्मचारी तथा स्वास्थ्य क्षेत्रका कर्मचारीमा कोरोना हुन सक्छ भने त्यस्तै क्षेत्रबाट आएका सर्वसाधारणहरुलाई पनि कोरोना लागेको हुन सक्छ । म्याग्दीमा तालिम सकेर आएका प्रहरीमा कोरोना देखियो भनेर प्रहरीतर्फ औंला ठड्याउनेहरु पनि धेरै छन्, तर प्रहरीलाई लाग्ने कोरोना पोखराबाट आएका सर्वसाधारणहरुलाई पनि लाग्न सक्नेतर्फ ध्यान सबैले दिनैपर्छ । म्याग्दी आएका प्रहरीलाई कोरोना पुष्टि हुँदै गर्दा प्रहरीलाई औंला उठाउनेहरु आफू कतिसम्म सुरक्षित हुँदै सुरक्षा व्यवस्था अपनाउन ध्यान दिएका छौं भन्नेतर्फ सोच्नु आवश्यक देखिन्छ ।