अहिले कोभिड–१९ को महामारी फैलिएको छ । यस अवस्थामा कसैले पनि गर्ने र गर्न सक्ने स–साना गल्तीले पनि भोलिका दिनमा कुनै पनि ठूलो दुर्घटना निम्तिन सक्छ । चीनको वुहान सहरमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिँदै गर्दा भएको सामान्य गल्तीको कारण अहिले सारा विश्वमै संक्रमण फैलिएको अवस्था हो । एकजना बिरामीमा देखिएको संक्रमण र उसमा भएको भाइरसले गर्ने खराबीको बारेमा भन्दै गर्दा डाक्टरलाई नै कारवाही गरिएको थियो । उक्त डाक्टर र पहिलो संक्रमितको ज्यान गैसकेपछि मात्रै चीनले नयाँ तरिकाले अध्ययन र उपचार थालेको थियो । उक्त अवस्थालाई अध्ययन गर्ने हो भने पनि के देखाउँछ भने त्यो समयमा सामान्य सोचिएको लापरवाहीले गर्दा अहिले विश्वका दुई करोडभन्दा बढीमा संक्रमण देखिएको छ । एक जनामा संक्रमण देखिएको समयमा चिकित्सकले दिएको सुझावलाई गम्भीर तरिकाले लिएर अगाडि बढेको भए विश्वको अर्बौं डलर नोक्सान हुने थिएन ।
चीनको वुहान सहरमा कोरोना भाइरसको संक्रमण देखिँदा विश्व समुदायले रमिता हेरेको जस्तो गरेको थियो । मानौं चीन अर्कै विश्व हो र त्यहाँ भएको समस्याले कुनै अर्थ राख्दैन । तर त्यसले हालको अवस्थामा के हुन सक्ला भन्नेसम्मको हेक्का किन राख्न सकेन विश्वले ? तर चीनले कोरोनालाई आफ्नो नियन्त्रण रेखाभित्र सीमित गरेको छ भने अन्य विश्वका शक्तिशाली मुलुकहरुले भने तवाही मच्चिएको अवस्थामा छन् । युरोप, अफ्रिका तथा उत्तर र दक्षिण अमेरिकी मुलुकहरुले चीनमा निकै ठूलो संख्यामा संक्रमितहरु देखिएको अवस्थामा चिनियाँ भाइरसले चीनमा बिरामी तथा मृत्यु भन्दै आरोप लगाउनमै व्यस्त रहे । सुरक्षा व्यवस्थातर्फ सोच्दै नसोची प्रचारात्मक व्यङ्ग्यतर्फ मात्र केन्द्रीत भएका पश्चिमा मिडियाहरु अनि पश्चिमा देशहरुमा अहिले महामारी फैलिएको समयमा चीनले भने सक्दो सहयोग गरेको छ । चीनले अमेरिका जस्तो कट्टर विरोधी मुलुकलाई समेत भ्यान्टीलेटर तथा आइसीयु निःशुल्क तथा शसुल्क उपलब्ध गराएको छ । सन् १९१८ मा स्पेनबाट सुरु भएको फ्लुले पनि २ वर्षसम्म विश्वलाई सताएको थियो भने ५ करोड मानिसले ज्यान गुमाएका थिए । अहिले के हुने हो भनेर आँकलन गर्न सक्ने अवस्था छैन तर पनि सचेत र सुरक्षित हुन सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्नैपर्छ ।
मास्कको प्रयोग नगर्ने, हात नधुने, स्यानीटाइजरको प्रयोग नगर्ने तथा समूह बाँधेर हिँडडुल गर्नुका साथै समूहमा भेला भएर बस्नाले पनि कोरोना संक्रमण बढ्दै जान्छ । अहिले प्रदेश २ कोरोनाको इपिसेन्टर जस्तै भएको छ । चीनको वुहान जस्तै नेपालको प्रदेश २ पनि उच्च संख्यामा संक्रमित हुनुका साथै मृत्यु पनि बढी देखिएको छ । नेपालमा ३५ हजारको संख्यामा संक्रमितहरु पुग्दै गर्दा प्रदेश २ मा मात्रै १० हजारको हाराहारीमा संक्रमितहरु छन् । प्रदेश २ वुहान मार्गमा लम्केको भन्दा फरक नपर्ला । तराईको वस्ती अनि मानवीय स्वभाव पनि बढी घुलमिल हुने खालको भएकोले भारतबाट आएकाहरु सिधै परिवारसँग बस्न थालेको र उनीहरुको घुलमिल अझ बढी बाक्लिने समस्याले गर्दा परीक्षण गरेको भन्दा परीक्षण नगरिएका संक्रमितहरु नै बढी हुन सक्ने सम्भावना देखिन्छ । रोग पहिचान गर्न नपाउँदै संक्रमण भएर मृत्युसम्म हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबैले आफू, आफ्ना अनि सबैको सुरक्षाका लाििग भौतिक दुरी बढाउनुका साथै साबुनपानीको प्रयोग तथा स्यानीटाइजर प्रयोग र सधैं दुरी कायम गर्नेतर्फ सोच्नैपर्छ । होइन भने अमेरिका, ब्राजिल, भारत, रसियाको जस्तो हालत हाम्रो पनि नहोला भन्न सकिदैन ।