कुनै पनि कार्य गर्नका लागि चाहिने भनेको पहिलो विन्दु इच्छाशक्ति हो । जब हामीमा इच्छाशक्ति हुँदैन तब कुनै पनि काम गर्न कदापी सकिदैन । आवश्यकता हुँदै गर्दा पनि त्यसमाा ज्ञान अनि काम गर्ने चाहना भएन भने कुनै पनि कामहरुमा सफलता पाइँदैन । त्यस्तै इच्छाशक्तिले बेनीमा पनि निकै सकारात्मक परिवर्तन भएको मान्न सकिन्छ । बेनीमा रहेको सरकारी अस्पताल नयाँ नेतृत्व आएपछि अस्पतालमा भएको परिवर्तनको नजरअन्दाज गर्न सकिदैन । स्वास्थ्य सेवासुविधा थप्नका लागि मात्रै झण्डै ६ करोड रुपैयाँ पर्ने उपकरणहरु बेनी अस्पतालमा भित्रिएका छन् । पछिल्ला उपकरणहरु भित्रिदै गर्दा चुनौती पनि थपिएको छ । चुनौती यो हो कि ति उपकरण चलाउन राज्यले गर्नुपर्ने दक्ष जनशक्तिको व्यवस्थापन । अबका दिनमा दक्ष जनशक्ति ल्याउन सकिएन भने भित्रिएका पूर्वाधारहरुको प्रयोग पनि समस्या हुन सक्नेतर्फ ध्यान दिन जरुरी छ ।
बेनी अस्पताल म्याग्दीमा पछिल्लो डेढ वर्षको अवधिमा जिल्ला अस्पतालमा आम सर्वसाधारणहरुलाई लक्षित गरेर सेवालाई मजबुत बनाउन ठूलो लगानीमा आधुनिक सेवा सुविधाहरु थपिएको छ । सामाजिक क्षेत्रमा सक्रिय रहेका अध्यक्षले म्याग्दीका आम सर्वसाधारणको स्वास्थ्य समस्यालाई हेरेर त्यसको निदानका लागि पूर्वाधार विकासलाई ध्यान दिनु समग्र यस क्षत्रका लागि पनि राम्रो पक्ष हो । म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्ष बेनी अस्पतालको नेतृत्वमा आएको १८ महिनाको अवधिमा देखिने खालका परिवर्तनहरु भएका छन् । उनको अगुवाइमा रहेको अस्पतालमा नवजात शिशु केयर (नियोनेटर) सेवा, टोकन मेसिन, युएसजी मेसिन, फुल अटो एनलाइजर मेसिन, मधुमेहको जाँचका लागि एच.बि.ए.वान.सी. मेसिन, हेमोडायलाईसीस सेवा अहिले बेनी अस्पतालमै पाइन्छ । त्यस्तै २ वटा भ्यान्टीलेटरसहित ५ बेड क्षमताको आइसीयु सेवा, अटोक्लेप मेसिनसहितको फोहोर व्यवस्थापन पनि बेनी अस्पतालले सुरु गरेको छ । शव व्यवस्थापनका लागि मर्चरी च्याम्बर, दैनिक १८ सिलिण्डर भर्न मिल्ने अक्सिजन प्लान्ट, स्वच्छ पिउने पानीका लागि युरोगार्डको व्यवस्थापन समेत कटुवालको अगुवाइमा सम्भव भएको छ । पाटन हस्पिटलसँगको सहकार्यमा मेडिसियन, सर्जन र एमडिजिपि विशेषज्ञ डाक्टरहरुले बेनी अस्पतालमा सेवा दिँदै आएका छन् । जटिल किसिमका अप्रेसनका साथै स्वास्थ्य बिमाबाट पाइने सबै सुविधासहित निकट भविष्यमै आँखाको समेत विशेषज्ञ डाक्टरसहित सेवा दिने तयारी छ ।
म्याग्दी, पर्वतको जलजला गाउँपालिका, मुस्ताङ तथा बागलुङका केही क्षेत्रका बासिन्दाले म्याग्दीको बेनी अस्पतालबाट सेवा लिन्छन् । आम सर्वसाधारणको सास्तीलाइ कम गर्नका लागि नै अस्पताल हुन् र त्यहाँ पुगेपछि निको हुने र उचित सुविधासहितको उपचार गर्न पाउनु आम सर्वसाधारणको अधिकर हो । उनीहरुको अधिकारलाई प्रत्याभूति गर्ने अस्पतालका जिम्मेवार व्यक्तिले हो । त्यही जिम्मेवारी पुरा गर्नका लागि आएर गरेका कार्यहरुले पनि उनको जिम्मेवारीप्रतिको कटिबद्धता देखाउँछ । बेनी अस्पतालमा हुने प्रगतिका लागि इट्टा थप्ने काम गरेमा आगामी दिनमा पनि सामाजिक स्वार्थका लागि काम गर्ने इच्छाशक्ति मिलोस । सबैका लागि राम्रो अस्पताल बनाउनका लागि आम सर्वसाधारणहरुले पनि हातमा हात मिलाएपछि मात्र सामाजिक र समाज सेवाको कार्यमा पूर्णता पक्कै पाइनेछ ।