वर्षात्को याम अनि कोरोना भाईरसको जोखिम, गत चैतदेखि नेपालमा लकडाउन । लकडाउन खुलेको भए पनि पूर्ण रुपमा सुरक्षित भैसकेको अवस्था अहिले पनि छैन । कुनै पनि हालतमा लकडाउनलाई साम्य पार्ने र थप क्षति हुन नदिनेतर्फ केन्द्रीत हुन आवश्यक छ । विगतको अवस्था हेर्ने हो भने र अब आउन सक्ने सम्भावनालाई आँकलन गर्ने हो भने पनि समस्याका पर्खाल ठूला देखिन सक्छन् । विश्वका शक्तिशाली देशहरु अनि स्वास्थ्य क्षेत्रमा निकै माहिर धेरै लगानी गरेर प्रविधिको समेत उच्च प्रयोग गरिरहेका देशहरु समेत अहिले कोरोना भाइरसको महामारीमा टिक्न सकेनन् । हालको अवस्था हेर्ने हो भने विश्वमा सबैभन्दा धेरै अमेरिका, दोस्रो ब्राजिल र तेस्रोमा भारतमा संक्रमणको संख्या बढी देखिन्छ । विश्वको धेरै जनसंख्या भएको चीनबाट सुरु भएको संक्रमण अहिले आएर अमेरिकामा केन्द्रीत भएको छ । अमेरिका अनि ब्राजिलपछि तेस्रोमा भारत रहँदै गर्दा चीनबाट सुरु भएको कोरोना संक्रमितहरुको संख्याको आधारमा चीन २६औं स्थानमा छ ।
विश्वभर कोरोनाको जोखिम रहेकै बेला अहिले भने नेपालमा कोरोनासँगै मनसुनी वर्षाले गर्दा बाढी पहिरोको चपेटा बढ्दो छ । बाढी पहिरोका कारणले गर्दा मानवीय तथा भौतिक क्षति तीव्र गतिमा भएको छ । पहाडी क्षेत्रमा बाढी तथा पहिरोले बितण्डा मच्चाएको छ भने तराईमा डुबानले गर्दा निकै ठूलो क्षतिहरु भएका छन् । पहाडबाट बग्दै जाने पानीले तराईका क्षेत्रमा डुबान थपेको छ । म्याग्दीको पश्चिम तथा उत्तरी भेगका वस्तीहरुसँग सिधा सम्पर्क टुटेको छ भने पहिरोले गर्दा अरबौंको क्षति भएको छ । सयौं घरहरु भत्किएका छन् । जिल्लाभित्र बाढी पहिरोकै कारण ३० भन्दा धेरैले ज्यान गुमाउनुका साथै ४ जना बेपत्ता छन् । अहिले पनि एक हजारभन्दा धेरै नागरिकहरु विस्थापित अवस्थामा छन् । जिल्लाका कुनै पनि स्थानीय तह बाढीपहिरोबाट अछुतो छैन । सबै क्षेत्रमा विनाश भएकै छ । पर्यटकीय क्षेत्र रुप्से झरना होस् या उत्तरी भेगका भूरुङ–तातोपानी, दाना लगायतका क्षेत्र, पश्चिम भेगका बिम, मराङ, ताकम र देवीस्थानमा पनि बाढी पहिरोले निकै क्षति पु¥याएको छ ।
अहिलेको अवस्था भनेको कोरोना अनि बाढी पहिरो दुवैबाट कसरी जोगिने भन्नेतर्फ ध्यान दिने समय हो । नागपञ्चमीपछि हाम्रो घर आगनमा ठूला चाडहरु एकपछि अर्को गर्दै आइरहेका छन् । यस्तो अवस्थामा बाढीपहिरो अनि कोरोनाको जोखिमले गर्दा उत्साह कतै कम हुने त होइन भन्नेतर्फ पनि लगेको छ । उत्साह र उमंगका लागिभन्दा पनि आफूहरु कसरी जोगिने र आफ्नालाई कसरी जोगाउने भन्नेतर्फ भने हामी सबैले ध्यान दिनुपर्ने अवस्था हो । मानिसले चाहेको गर्ने र गर्नैपर्ने खालको हुन्छ । तर पनि अहिलेको अवस्था गर्नैपर्ने र सक्नेभन्दा पनि कसरी जोगिएर जोगाउने भन्नेतर्फ केन्द्रीत भएको अवस्था हो । त्यसैले आफू र आफ्नालाई जोगाउन जोखिमबाट बच्ने उपायतर्फ ध्यान दिन जरुरी देखिन्छ ।
