काठमाडौं, २६ कात्तिक-सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा फेल भए अब तीन महिना कुर्न नपर्ने भएको छ । एकपटक लिखित परीक्षा पास गरेपछि तीनपटकसम्म लगातार ट्रायल परीक्षा दिन पाइने भएको छ ।
दुई महिनाअघि सरकारले संशोधन गरेको सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न लागेको हो । संशोधित नियमावलीमा एकपटक लिखित परीक्षा पास गरेपछि ९० दिनभित्र तीनपटकसम्म ट्रायल दिन पाउने प्रावधान रहेको र मंसिरदेखि त्यसलाई कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए ।
नियमावली संशोधन भएयता देशभरि लाइसेन्स परीक्षा रोकिँदै आएको छ । सफ्टवेयर अपडेट गरेर मंसिरको पहिलो सातादेखि देशभरि परीक्षा सञ्चालन सुरु गरिने पाण्डेले बताए । हरेक महिना १५–१६ हजार सर्वसाधारणले लाइसेन्स परीक्षा दिने गरेका छन् । विभागले उपत्यकालगायत अञ्चल यातायात कार्यालयहरूमा क्षमता विस्तार गरी नयाँ नियमावली कार्यान्वयन गर्न लागेको हो ।
उपत्यकामा मीनभवनमा मोटरसाइकल तथा भद्रकालीस्थित नेसनल ट्रेडिङको जग्गामा विभागले गाडीको ट्रायल परीक्षा लिँदै आएको छ । विभागले गुर्जुधारामा आफ्नै ट्रायल सेन्टर बनाउँदै छ । बन्द भएको रोपवे कम्पनीको जग्गामा विभागले मोटरसाइकल र गाडीको ट्रायल सेन्टर बनाउने प्रक्रिया अघि बढाइसकेको छ । नयाँ पत्रिका