एक नेपाली वैज्ञानिकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्ने प्रतिरोधी औषधि निर्माण गरेको दाबी गरेका छन् ।
वन विज्ञान अध्ययन संस्थान हेटौंडामा कार्यरत सह–प्रध्यापक डा. ललीतकुमार दासले रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने तीन र कोरोना भाइरस निस्क्रिय पार्ने औषधिका ६ फरक/फरक नमुना तयार पारेका हुन् । वागमति प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ७० दिनको अनवरत अनुसन्धानपछि डा. दासले ती नमुना तयार पारेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतबाट आवश्यक कानूनी प्रक्रिया पुरा गरेपछि नमूना प्रचलित पद्धतिअनुसार परीक्षणमा जाने दुलालको भनाइ छ ।
‘कोभिड-१९ रोगको संसारमा भ्याक्सिन नभएको समाचारले उहाँमा केही गर्ने इच्छा जाग्यो’, दुलालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आजभन्दा करिब ७० दिन अघिबाट औषधि निर्माण सम्बन्धी विभिन्न विधि, कोरना भाइरसबारेको सुक्ष्म अध्ययन र भाइरससँग लड्न रोग प्रतिरोधात्मक क्षमता वद्धि गर्न सक्ने वा भाइरसलाइ निष्क्रिय पार्न सक्ने औषधीको खोजमा लाग्नुभयो’, दुलालले लेखेका छन्, ‘उप्रान्त उहाँले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतबाट आवश्यक कानूनी प्रक्रिया पुरा गरेपछि उहाँको नमूना प्रचलित पद्धतिअनुसार परीक्षणमा जान्छ र त्यसले देखाउने प्रभावका आधारमा थप परिणाम आउनेछ ।’
उनले त्यस कार्यलाई द्रुत गतिमा अघि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्त्री दुलालले डा. दासको प्रयासको सफलताको कामनासमेत गरेका छन् ।