प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको लपुलेकमा नेपाली सेना पठाउनुपर्ने आवाज उठेको छ ।
समितिको सोमबार बिहान बसेको बैठकमा सांसद प्रेमप्रसाल तुलाचनले आफ्नो सीमा सुरक्षाका लागि नेपालले तत्काल सेना पठाउनुपर्ने माग गरे । उनले विगतका सरकारहरुले गरेका गल्तीबारे पनि जनतालाई जानकारी दिनुपर्ने र अहिलेको सरकारले तत्काल सीमा रक्षाका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
अर्की सांसद चाँदतारा कुमारीले पनि अतिक्रमित सीमा क्षेत्रमा सेना परिचालन गर्नुपर्ने बताइन् । ‘सीमामा नेपाली सेना पठाउनुपर्छ’, उनले भनिन्, ‘सँगसँगै समस्या समाधानका लागि कूटनीतिक प्रयास पनि थाल्नुपर्छ ।’