नेकपाका कार्यकारी अध्यक्ष पुष्पलकमल दाहाल प्रचण्डले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुध्न वुद्धका उपदेशले उच्च मनोबल प्रदान गर्ने बताएका छन् ।
२५ सय ६४ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसमा अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले स्वदेश तथा विदेशमा रहेका बौद्धमार्गीहरुप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
‘नेपालको भूमिमा जन्मेर मानव कल्याण र विश्व शान्तिका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय छन्’, सन्देशमा प्रचण्डले भनेका छन्, ‘बुद्धले विश्व मानव जातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याउनुभएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं ।’
यसै गरी प्रचण्डले आजै परेको किराँत (राई, लिम्बु, सुनुवार र यायोक्खा समुदाय) को उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।