शरिरमा सेतो रङको उप्रोन । घाँटीमा बिपी सेट । हातमा सिरिन्ज र बिरामीको मेडिसिन कार्डेस ( रेकर्ड फाइल) । थर्मोमिटर र पल्स अक्सिमिटर लिएर स्टाफनर्सका रुपमा बिरामीहरुको उपचार गर्ने भन्ने सपना थियो लालकुमारी खड्कासँग । उनको कक्षा ९ र १० पढ्दै गर्दा एसएलसी पास गरेपछि नर्सिङ पढ्ने अनि स्टाफनर्स बनेर विशेष गरी वृद्धवृद्धाहरुको उपचार तथा उनीहरुलाई सहयोग गर्ने ठूलो सपना थियो । नर्सिङ पढेर स्वास्थ्य क्षेत्रमा प्रवेश गर्ने उनको सपना आखिरमा आएर एसएलसी पासपछि व्यवस्थापन सङ्कायमा अध्ययन सुरु गरेसँगै स्टाफनर्स बन्ने सपना बैंकिङ क्षेत्रमा रुपान्तरण भयो ।
बागलुङ नगरपालिका–८, बागलुङकी लालकुमारी खड्काले आदर्श विद्यामन्दिर माविबाट कक्षा ११ र १२ उत्तीर्ण गरेसँगै २०६५ सालबाट बैङ्किङ क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले सुरुमा ६ महिनाको तालिम लिएपछि काठमाडौंको लैनचौरमा रहेको तत्कालीन प्रभु फाईनान्स कम्पनी लिमिटेडको प्रधान कार्यालयबाट टे«निङ असिस्टेन्टका रुपमा काम गर्न थालिन् । ट्रेनिङ असिस्टेन्टपछि कनिष्ठ सहायक, सहायक, वरिष्ठ सहायक, कनिष्ठ अधिकृत हुँदै अहिले शाखा प्रवन्धकका रुपमा प्रभु बैंक बेनी शाखामा कार्यरत छिन् । २०६९ साल चैत १९ गते म्याग्दीको सदरमुकाम बेनीमा प्रभु फाईनान्स कम्पनी लिमिटेड स्थापना भएसँगै खड्का सो समयमा सहायकका रुपमा म्याग्दी आएकी थिइन् । उनी म्याग्दीको बेनी आएपछि क्रमशः वरिष्ठ सहायक, कनिष्ठ अधिकृत हुँदै हाल शाखा प्रवन्धकका रुपमा कार्यरत छिन् ।
म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारसहित विभिन्न स्थानमा सञ्चालनमा रहेका बैंकहरुमा महिला प्रवन्धकका रुपमा कार्यरत प्रभु बैंक बेनी शाखाका प्रवन्धक खड्का मात्र एक्ली महिला प्रवन्धक हुन् । उनी कार्यरत प्रभु बैंक अहिले (क) वर्गको वाणिज्य बैंकका रुपमा सञ्चालनमा रहेको छ । बेनीमा मात्रै (क) वर्गका विभिन्न १३ ओटा बैंकहरु सञ्चालनमा छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिकासहित ६ ओटा स्थानीय तह रहेको हिमाली जिल्ला म्याग्दीको सबै स्थानीय तहमा प्रभु बैंकको पहुँच पुगेको छ । प्रभु बैंकले स्थानीय तहसँग आवश्यक समन्वय गरी ज्येष्ठ नागरिकहरुलाई सम्बन्धित वडा कार्यालयमै पुगेर खाता खोलिदिनुका साथै सामाजिक सुरक्षा भत्ता वितरणको सेवा समेत दिएको जनाएको छ । यसका साथै वडा कार्यालयसम्म आउन नसक्ने ज्येष्ठनागरिकलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
२८ वर्षको कलिलो उमेरमै शाखा प्रवन्धकको जिम्मेवारी पाएकी खड्काले काठमाडौंमा कार्यरत रहँदा २०६७ सालमा म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा उनको मागी विवाह भयो । म्याग्दीतिरै उनको विवाह भएपछि बेनी शाखामा आउन सहज भएको उनी बताउँछिन् । माइती घरमा बुबा ईन्डियन आर्मी (लाहुरे)की छोरी उनका २ दाजु भाईसँगै ५ दिदीबहिनीहरुमध्ये उनी काइँली हुन् ।
बैङ्किङ क्षेत्रमा १२ वर्षको अनुभव सङ्गालेकी प्रवन्धक खड्काले पछिल्लो समय यस क्षेत्रमा आउने नयाँ पुस्ताहरुको आकर्षण बढेको बताउँदै त्यसमा पनि महिलाहरु धेरै रहेको बताएकी छिन् । प्रभु बैंक बेनी शाखामा हाल ५५ सयको हाराहारीमा ग्राहकहरु रहेकोमा ५० प्रतिशतभन्दा बढीले नियमित रुपमा कारोबार गर्ने गरेको उनले जानकारी दिइन् । बेनीमा बैंक स्थापना भएको सुरुको चरणमा केही मेहेनत गर्नु परेपनि पछिल्लोपटक भने निकै सहज भएको उनको भनाइ छ । पछिल्लो समय बजार विस्तारको क्रमसँगै प्रतिस्पर्धा पनि बढेको उनीसँग अनुभव छ । काम गर्ने सवालमा कहिलेकाहीँ बजुली बत्ती जाने र नेटवर्कमा समस्या आउने केही कठिनाई हुने उनी बताउँछिन् ।
कसरी मोडियो यात्रा बैङ्किङ क्षेत्रतिर ?
एसएलसी पास गरेपछि नर्सिङ पढेर स्टाफनर्स बन्ने र खासगरी बुढाबुढीको सेवा गर्छु भन्ने सोचेकी प्रवन्धक लालकुमारी खड्काको जीवनको यात्रा भने बैङ्किङ क्षेत्रतिर मोडियो । कक्षा ११ र १२ उत्तीर्ण गरेर काठमाडौं गएकी उनी अचानक प्रभु बैंकमा तालिम लिएपछि यस क्षेत्रतर्फ लागेकी हुन् । उनले एसएलसी उत्तीर्णपछि नर्सिङ तथा साइन्स पढ्ने भनेपनि व्यवस्थापन सङ्कायको अध्ययनपश्चात् नै उनको यात्रा बैंकतिर रुपान्तरण भएको हो । उनी आफूले नर्सिङ पढ्न नपाए पनि आफ्नी कान्छी बहिनीलाई भने अनमी अध्ययन गराएर हाल धौलागिरी अञ्चल अस्पताल बागलुङमा कार्यरत रहेको बताइन् ।
ज्येष्ठनागरिकको सेवा गर्ने ठूलो इच्छाः
आफ्नो बुबा ईन्डियन आर्मी भए पनि सामाजिक सेवाको काममा सक्रिय रहेकाले आफूले पनि ४० वर्षको उमेरपछि ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्ने उनले सुनाइन् । ४० वर्षको उमेर पार गरेपछि ज्येष्ठनागरिकलाई सेवा गर्ने ठूलो इच्छा रहेको उनको भनाइ छ । स्टाफनर्स बनेर वृद्धवृद्धाको उपचारमा सहयोग गर्ने लक्ष्य भए पनि त्यो सम्भव नभएपछि अब अन्य अभियानमार्फत उनीहरुलाई सहयोग गर्ने उनले बताएकी छिन् । मिजासिलो र सहयोगी भावनाकी प्रवन्धक खड्काले स्टाफनर्स बन्ने धोको अधुरै रहेकाले त्यसलाई ज्येष्ठनागरिकहरुलाई सहयोग गरेर पुरा गर्ने योजना बनाएको खुलासा गरिन् ।