नेपाली जनताले लामो समयदेखि अधिकारका लागि विभिन्न किसिमका आन्दोलनहरु गरे र त्यसका लागि धेरै नागरिकले आफ्नो जीवनको आहुती पनि दिए । जबसम्म कुनै पनि आन्दोलनमा मानिसको ज्यान जाँदैन तबसम्म कुनै पनि हालतमा आन्दोलन सफल हुँदैन भन्ने मानसिकता बोकेको समाजमा पटक पटकको आन्दोलनमा धेरैले ज्यान गुमाएको यथार्थ हो । १०४ वर्षे राणाशासनको अन्त्यका लागि थालिएको आन्दोलन होस् वा यहाँ पञ्चायती व्यवस्थाको विरुद्धमा थालिएको आन्दोलन । संयुक्त राष्ट्रसंघले प्रत्याभूत गरेका अधिकार लिनका लागि पनि सहमति गरिएको छ र त्यसका लािग हस्ताक्षर गर्ने र पक्ष राष्ट्र बन्ने काम भएको छ। जब कुनै पनि नागरिकले आफ्नो अधिकार खोज्छ त्यसले कर्तव्यको पालना गर्न पनि पक्कै जरुरी हो । अधिकार मात्र नभएर कर्तव्यका बारेमा पनि हामीले सोच्नुपर्छ र त्यसलाई पालना गर्नुपर्छ ।
नेपालमा संघीयता कार्यान्वयनसँगै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले शिक्षासँग सम्बन्धित विभिन्न २३ ओटा अधिकारहरु स्थानीय तहलाई दिएको छ । सोही अधिकार अनुसार स्थानीय तहले स्थानीय चाहना र आवश्यकता अनुरुप शिक्षासँग सम्बन्धित कार्यक्रमहरु बनाएर सञ्चालन गर्नुपर्ने हो । हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवसका रुपमा मनाइँदै आएको छ । तर यसवर्ष धौलागिरी गाउँपालिकाबाहेक अन्यत्र बालबालिकालाई सम्झने र उनीहरुको दिन अर्थात् बाल दिवस मनाउनेतर्फ कसैले पनि सोचेनन् । ‘सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार’ भन्ने मूल नारासहित देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरेर राष्ट्रिय बाल दिवस–२०७६ मनाउने भनेर संघीय सरकारले अनुरोध गरेको भए पनि म्याग्दीका स्थानीय तहमा धौलागिरिबाहेक अन्यले आवश्यकता नै ठानेनन् । पाँचवटा स्थानीय तहलाई बालबालिका नचाहिएको वा बच्चाको दिवस मनाउन पर्दैन भन्ने लागेको हो भने त्यो उनीहरुलाई नै थाहा होला ।
शिक्षासँग सम्बन्धित विभिन्न २३ ओटा अधिकार पाएको स्थानीय तहले बाल दिवसका दिन बालबालिकालाई लक्षित गरेर कुनै पनि कार्यक्रम नगर्नुलाई सामान्य रुपमा लिनु पक्कै पनि हुँदैन । म्याग्दीको जिल्ला सदरमुकाम रहेकै बेनी नगरपालिकाले औपचारिक रुपमा बाल दिवसको कुनै पनि कार्यक्रम आयोजना गरेन । अन्नपूर्ण, गाउँपालिका, रघुगंगा गाउँपालिका, मंगला अनि मालिका गाउँपालिकाले पनि बाल दिवसको कुनै कार्यक्रम गरेनन् । बाल दिवस नमनाउनुमा सबैको आ–आफ्नै तर्क होलान् तर पनि बाल दिवसको कार्यक्रम नै गर्न नसक्ने वा नपर्ने भन्ने त पक्कै पनि होइन होला । कुनै पनि हालतमा यस्ता कार्यक्रम गर्नुपर्ने भएता पनि जिल्ला सदरमुकाम अनि आसपासको क्षेत्रमा कार्यक्रम नहुनु दुःखद् हो । त्यसैले बाल अधिकारको वकालत गर्ने हामीहरुले दिवसको कार्यक्रम गरेर आफ्नो कर्तव्य निर्वाह गर्न किन चुकियो ? सवाल पक्कै पनि गम्भीर छ । त्यसैले आगामी दिनमा यस्तो नहोस् । बालबालिका भनेको भोलीको कर्णधार भएकाले आजैदेखि जगलाई राम्रो बनाउनेतर्फ ध्यान दिऔं ।
Previous Articleरुप्से दैनिक ! ३० भाद्र २०७६
Next Article रुप्से दैनिक ! ३१ भाद्र २०७६