विगतमा विवाह अनि राम्रो कामको प्रलोभन देखाएर विदेशमा लगेर बेचेको भन्ने सुन्नमा आएको भए पनि अहिले आएर धेरै यस्ता घटनाहरु सार्वजनिक भएका छन् । अघिल्लो शताब्दीमा युरोप तथा अमेरिकी महादेशहरुमा अफ्रिकाबाट ल्याइएका काला जातिका मानिसलाई दाम्लोले बाँधेर बेच्ने गरिन्थ्यो भने अफ्रिकाभित्रै पनि गोरा जातिले काला जातिमाथि दमन गर्ने र उनीहरुलाई दबाउने गर्दथे । तर, कालान्तरमा यो परम्परा अन्त्य भएको मान्ने गरिएको भए पनि अहिले मानव बेचबिखन भने रोकिएको छैन । अहिले मानिस स्वतः स्फूर्त रुपमा बेचिएको छ । मानिसले स्वीकार नगरे पनि आफूले आफैलाई बेचिएको भए पनि उसैले आफू बेचिएको भने पक्कै महसुस गरेको छैन । मेनपावर कम्पनीमा लाखौं रकम बुझाएर विदेश हान्निएको मानिस आफै स्वतः स्फूर्त रुपमा बिक्री भएको त पक्कै हो नि ।
मानव बेचविखन तथा ओसारपसार एक बहुआयामिक, बहुक्षेत्रगत मात्र नभएर विश्वव्यापी समस्याका रुपमा रहेको छ । यसलाई जघन्य अपराधको रुपमा लिइन्छ र नेपाल पनि यस समस्याबाट अछुतो छैन । कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याई, डर, त्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचविखन भनिन्छ । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको ११औं शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धी, २००२ लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ सालदेखि प्रत्येक वर्ष मनाउन लागिएको हो । प्रत्येक वर्ष फरक नाराका साथ मनाइने यो दिवसको अवसरमा शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाइमा जनचेतनामूलक प्रभातफेरी आयोजना गरेर म्याग्दीमा यो दिवस मनाइँदैछ । ‘सरकारको प्रतिबद्धताः मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने मूल नारा यस वर्षको दिवसका लागि सरकारले तय गरेको छ ।
नेपालमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस मनाउन लागेको अहिले १३ वर्ष भयो । यस अवधिमा के कस्तो प्रगति भयो भन्नुभन्दा पनि यसले कति जनचेतना जगायो भन्ने सवाल पक्कै हो । देशैभर बेचबिखन अनि यसको असर र हामीले गर्न सक्ने र गर्ने कामको बारेमा चर्चा परिचर्चा भयो भने नै पनि निकै राम्रो मान्नुपर्छ । जब हामी जनचेतनाको कार्यक्रम अगाडि बढाउँछौं त्यो नै उत्कृष्ट कार्य हो । त्यसैले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा चेतना बढाउने र सूसूचित गराउनेतर्फ लागौं । हामी सबैले मानव बेचबिखन तथा ओसारपसार निस्तेज पार्ने प्रण गरौं । मानव बेचबिखनको विरुद्धमा हामी सबै एक भएर अगाडि बढेमा यस्ता क्रियाकलापहरु नियन्त्रणमा आउने देखिन्छ ।
Previous Articleअपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते
Next Article म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो