हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, अर्थात् जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशैभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ । हिन्दु धर्मावलम्बीहरुको पवित्र चाडका रुपमा रहेको जनैपूर्णिमाको अवसरमा धार्मिक मठमन्दिरको दर्शन, गुरु तथा पुरोहित र यजमानकोमा पुगेर रक्षाबन्धन बाँधिएको हो ।
यस वर्षको जनैपूर्णिमाको अवसरमा पनि विगतका वर्षमा झैं म्याग्दी जिल्लाको विभिन्न स्थानमा रहेका धार्मिक स्थलहरुमा भक्तजनहरु भरिभराउ भएका थिए । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल खयरबराह, ८ नम्बर वडाको नागी गाउँमाथि रहेको नागीबराह र रघुगंगा–८, कुईनेमङ्गलेमा अवस्थित ऋखार क्षेत्रमा श्रद्धालु भक्तजनहरु पुजाआजा गर्नका लागि पुगका हुन् ।
यसैगरी रघुगंगा–२, राखुभगवतीको नौलीबराही र अन्नपूर्ण–७, हिस्तानको घराम्दीको रहेको प्यारीबराही थान र तलाउमा समेत भक्तजनहरु आएको स्थानीयवासीको भनाइ छ । यी तलाउ र थानमा जनैपूर्णीमाको अवसरमा मनोकांक्षा पुरा हुने जनविश्वासका साथ भक्तजन र सर्वसाधारणले पुजाआजा गर्नुका साथ भाकल गर्ने चलन रहेको छ । यी धार्मिक स्थलहरुमा बुधबार साँझ नै भक्तजनहरु पुगेका थिए । समुन्द्री सतहदेखि झण्डै ४ हजार ६ सय मिटरको उचाइमा अवस्थित ऋखार मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको ऋखार संरक्षण तथा सुधार समितिले जनाएको छ ।
उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र साविक शिख गाविस–६, पाउद्धारस्थित रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल खयरबराह मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । जनैपूर्णिमाको अवसरमा म्याग्दीसहित विभिन्न जिल्लाबाट आएका श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको हो । समुन्द्री सतहबाट करिब ४७ सय मिटरको उचाइमा प्रसिद्ध खयरबराह मन्दिर अवस्थित छ ।
एकदुई पटक यहाँ आएर आफ्नो मनोकामना पुरा भएको बताउने भक्तजनहरु दोहो¥याएर पनि आउने गरेको पाउद्धारका अगुवा भीम तिलिजा बताउँछन् । मन्दिर नजिकैको तालमा आफ्नो भाकल पुजारीलाई भनेपछि पुजारीले चर्को स्वरमा बर मागिदिने प्रचलन रहेको छ । आफ्नो मनकामना पुरा भएपछि पुनः मन्दिरमा दर्शन गर्न जानेको सङ्ख्या अत्यधिक बढेको छ । खरयभरानी मन्दिरसँगै रहेका ४ वटा मन्दिरमा पुजाआजा गर्न युवाहरु पुजारीका रुपमा खटिन्छन् । म्याग्दीको सदरमुकाम बेनीदेखि करिब ४ घण्टाको कच्ची मोटरबाटाको यात्रापछि मन्दिर नपुग्दासम्म उकालै उकालो यात्रा गरेर त्यहाँ पुग्न सामान्य मानिसलाई २ दिनको यात्रा गर्नुपर्ने हुन्छ ।
यता साविक राम्चे गाविस–१, नागीस्थित रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल नागीबराह मन्दिरमा पनि भक्तजनहरुको भीड लागेको छ । प्रसिद्ध धार्मिकस्थल बराह मन्दिरमा दर्शन गर्न विभिन्न जिल्लाबाट भक्तजनहरू त्यहाँ पुगेका स्थानीयवासीले बताएका छन् । आफ्नो मनको इच्छा पुरा हुने जनविश्वासले हजारौंको सङख्यामा भक्तजनहरू नागी आएको स्थानीय अगुवा रमन पुनले जानकारी दिए । समुन्द्री सतहबाट झण्डै २ हजार तीनसय मिटरको उचाइमा नागी बराहको मन्दिर रहेको छ । सदरमुकाम बेनीदेखि करिब ४ घण्टामा यातायात तथा एक दिनको पैदलयात्रापछि नागी पुगिन्छ ।
Previous Articleपोल गाड्ने क्रममा करेन्ट लाग्दा घाइते
Next Article नेकपाको उपाध्यक्षमा बामदेव गौतम