म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटलाई जोगाउनका लागि म्याग्दी नदीको किनारामा लगाइएको ग्याविन पर्खाल बाढीले बगाएपछि बगरफाँट गाउँ पुनः जोखिममा परेको छ ।
रुपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेरासम्म करिब २ किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटबन्ध गर्ने योजना अनुसार रातोढुङ्गादेखि झोलुङ्गे पुलसम्म ४ सय ७० थान ग्याविन जाली भरेर पर्खाल लगाइएको थियो । यही साउन दोस्रो साता म्याग्दी नदीमा आएको बाढीले सो क्षेत्रको १ सयभन्दा बढि ग्याबिन जाली बगाएपछि पुनः ग्याबिन पर्खाल लगाउने काम सुरु भएको बगरफाँट म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए ।
कार्कीका अनुसार संघीय सांसद भूपेन्द्रबहादुर थापाको पहलमा रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बगरफाँटको वस्ती संरक्षणका लागि डिपीआर तयार गरी १ वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी संरक्षण आयोजनाको काम सुरु भएको थियो । गतवर्ष नदी कटानबाट अति प्रभावित क्षेत्र जरुवादेखि डम्मराको पुलसम्म ४ सय ७० थान जाली भरिएकोमा १ सय थानभन्दा बढी जाली बाढीले बगाएर क्षति पु¥याएको हो । २०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रुपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षहरुमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन ।
करिब २ सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि वर्षामा भने नदी कटानका कारण सधैं जोखिममा रहने गरेको स्थानीयले बताएका छन् । गतवर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त १० लाखबाट नदीजन्य वस्तुहरुको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको अध्यक्ष कार्कीले बताए ।
म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका वडा नं ६ डम्मराका वासिन्दाहरुको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्य वस्तु (ढुङ्गा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो । नदीले बगरफाँटको करिब १ सय ५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा परेका छन् । नदी कटानका कारण वर्षेनी त्रासमा रहने बगरफाँटवासीलाई तटबन्धले केही राहत मिलेको र गाउँको संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासी जीतबहादुर कार्कीले बताए ।
Previous Articleम्याग्दीमा १४ ओटा तातोपानीका कुण्ड !
Next Article पहाडी जिल्लामा डेंगुको संक्रमण बढ्दो