नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई मन्त्री बन्ने भएका छन्।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्।
उनले आज दिउँसो ४ बजे सपथ लिनेछन्।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। त्यसपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री ओली आफैंले राखेका थिए।
पाँच महिनापछि प्रधानमन्त्री ओलीले ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्रीले मन्त्रिपरिषद नै फेरबदल गर्ने चर्चा पनि चलिरहेको छ। तर आज भने भट्टराईले मात्र मन्त्रीको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ।