राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि पहिलो पटक सत्तारुढ नेकपाकी युवा महिला मिना श्रेष्ठले दाबेदारी देखाएकी छन् । सदस्य सचिव केशव विष्टको कार्यकाल यहि साता सकिनासाथ सरकारले नयाँ नियुक्ति गर्नेछ । जसमा श्रेष्ठले दाबी गरेकी दैनिक नेपाल डटकमले समाचार प्रकाशन गरेको छ ।
श्रेष्ठबाहेक अन्य पनि उक्त पदका लागि दौडधुपमा छन् ।
श्रेष्ठले परिषद सदस्यसचिवमा नियुक्त भएको खण्डमा के–के काम गर्ने भनी कार्यपत्र नै तयार पारेकी छन् । जसलाई शीर्ष नेताले पढेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मादेखि नेकपाका अन्य नेता पनि उनको नाममा सकारात्मक देखिएका छन् । ‘पहिलो पटक महिलाको दाबेदारी देखाएँ, नेताहरूले मैले तयार पारेको कार्यपत्र अध्ययन गरी ‘गो अहेड’ भन्नुभएको छ’, श्रेष्ठले दैनिक नेपालसँग भनिन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त उनी उम्मेदवार रहेको खण्डमा समर्थन रहने र पूर्वमाओवादीबाट कसैले पनि दाबी नगर्ने बचन दिएका छन् ।
प्रधानमन्त्री ओलीले युरोप भ्रमण जानु अघि नै उनको कार्यपत्र अध्ययन गरेका थिए । श्रेष्ठ प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा स्वकीय सचिवालयमा कार्यरत थिइन् भने ओलीले तत्कालिन एमालेको युथ फोर्स गठन गर्दा केन्द्रीय डेक्स्समा रहेर काम गरेकी थिइन् ।
यता, वरिष्ठ नेता माधवकुमार नेपालले त सबै सकारात्मक देखिएका कारण श्रेष्ठको सिफारिस खेलकुद मन्त्रीलाई गरिसकेका छन् । उनले श्रेष्ठको योजनाहरूको अध्ययन गरेर मन्त्री विश्वकर्मालाई टेलिफोन गरेरै ‘परिषद सदस्य सचिव अहिलेसम्म महिला भएको छैन, उहाँको नाम प्रस्ताव भए राम्रो हुन्छ । २५ बर्ष भयो मैले चिनेको, उहाँको हिम्मत जोश थाहा छ । जस्तोसुकै जिम्मेवारी पूरा गर्नुहुन्छ’ भनेका थिए ।