काठमाडौं, १७ कात्तिक
भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब ५० मिनेट बन्द हुने भएको छ ।
मुखर्जीको सुरक्षामा ध्यान दिएर उनी आउनुभन्दा पहिले र अवतरण गरिसकेपछि पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुनैपनि विमान अवतरण र उडान गर्न रोकिने छ ।
मध्यान्ह १२ बजेर १० बजेदेखि १ बजेसम्म विमानस्थल पुरै बन्द हुने त्रिभुवन विमानस्थलका एक कर्मचारीले बताए ।
विमानस्थलले नोटिस फर एयरमेन (नोटाम) जारी गरेर भिभिआइपी आउनुभन्दा केही समय अघिदेखि र पछिसम्म विमानस्थल बन्द गरिन्छ ।
भारतीय राष्ट्रपति मुखर्जी आउनुभन्दा २० मिनेट अघिदेखि नै बन्द हुने त्रिभुवन विमानस्थल मुखर्जीको विमान अवतरण भएको २५ मिनेटपछि मात्रै खुल्ने छ । त्रिभुवन विमानस्थलले ‘नोटाम’ अवधी थपिनसक्ने समेत बताएको छ ।
विमानस्थल बन्द हुने भएपछि नियमित उडानहरु तालिकाहरु परिवर्तन हुनेछन् । आन्तरिक तथा वाह्य सबै उडान र अवतरणमा ढिलाइ हुनेछ । मलेसियन एयरलाइन्सको एक विमान अवतरण गर्न नपाएपछि आकासमै फन्को लगाइरहेको छ ।
कर्मचारीको ड्युटी तालिका परिवर्तन
यसैवीच अन्तराष्ट्रिय विमानस्थलमा निजी तथा सरकारी वायुसेवा कम्पनीमा काम गर्ने कर्मचारीको नियमित ड्युटी तालिका परिवर्तन गरिएको छ ।
मुखर्जीको सुरक्षामा ध्यान दिँदै विहानै कार्यालय पुगेका कर्मचारीलाई बिशेष सुरक्षा जाँच गरेर दिनभर आज उनीहरुलाई नै बस्न निर्देशन दिइएको छ । विमानस्थलले तीन दिनसम्म कर्मचारीको नियमित ड्युटी तालिका परिवर्तन गर्न आग्रह गरेको हो ।
मुखर्जीको आगमनलाई ध्यान दिँदै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । आज सार्बजनिक विदा नै दिएको सरकारले सडकमा सवारी साधन गुड्न र पैदल हिँड्न समेत रोक लगाएको छ ।
Previous Articleबेनीको रातोमाटो : आयस्रोतको राम्रो माध्यम
Next Article काठमाडौं ओर्लिए भारतीय राष्ट्रपति मुखर्जी