नियमनकारी निकाय कडा हुनु पर्छ भन्ने हेतुले अहिले मिडियालाई नियमन गर्ने गरी जुन विधेयक ल्याईएको छ त्यसका विरुद्धमा पत्रकार महासंघले आन्दोलन थालेको पक्का हो । तर मिडिया भित्र भएका तुसहरुलाई पनि निर्मुल पार्न भने पक्कै पर्छ । केही दिन अगाडी एउटा टेलिभिजनका पत्रकारले उप–प्रधानमन्त्रीलाई स्टुडियोमा बोलाएर बकबास गर्ने भए जान सक्नुहुन्छ भन्दै मान मर्दन गरेको घटना कसैको पनि दिमागबाट हटेको पक्कै छैन । कुनै पनि सञ्चार माध्यमले आफ्नो लागि कुराकानी गर्न बोलाएर कहिल्यै पनि पाहुनाको अपमान गर्न पक्कै पनि मिल्दैन । मिडियाले जे पनि गर्न मिल्छ भन्ने खालको मानसिकता बनाउन कदापी हुँदैन । इज्जत भनेको आफ्नो भन्दा अरुको बढी हुन्छ भन्ने हामीले ठान्न सक्नु पर्छ । हामीले सानै देखि सिक्दै आएको अतिथि देवो भवः भन्ने उक्तीको सम्मान गर्न सकिएन भने कुनै पनि हालतमा राम्रो पक्कै पनि हुदैन ।
उपेन्द्र यादव नेपालको एउटा राष्ट्रिय पार्टीका अध्यक्ष हुन् भने उनी वर्तमान सरकारको उपप्रधानमन्त्री समेत हुन् । त्यत्तीको हैसियत भएका व्यक्तिलाई आफ्नो कार्यक्रममा बोलाएर प्रश्नको जवाफ दिन नसक्ने र बकबास बोल्ने भन्दै हुर्मत निकाल्दै उनलाई गलत्याएर निकाल्ने शैलिको अभिव्यक्ति सहित जुन व्यवहार देखाइयो त्यो कदापी पनि माफी दिन लायकको व्यवहार छैन । यस्तै मानसिकता र आफ्नो टिआरपी बढाउनका लागि अपनाइने तिकडमले गर्दा समग्र मिडियामाथि प्रश्न चिन्ह उठ्ने खालका काम गर्ने त्यस्ता मिडियाकर्मीलाई कुनै पनि हालतमा जोगाउन भने पक्कै हुँदैन । जब सम्म आफ्नो भन्दा अर्काको इज्जतको महत्वलाई बुझ्ने चेष्टा गरिदैन तब कसैको भलो हुदैन ।
केही दिन अगाडी सामाजिक सञ्जालमा एक व्यक्तिले १० लाख दिएको खण्डमा देशका प्रधानमन्त्रीको पनि हत्या गर्ने भन्ने आसयको कमेन्ट गरेको आधारमा गिरफ्तार गरेर साइबर क्राइम अन्तरगतको मुद्धा चलाएको छ प्रहरीले । तर मिडियामा ल्याएर प्रश्नको जवाफ दिन नसक्ने, बकबास बोल्ने जस्ता शब्दको प्रयोग गर्दै स्टुडियोबाट खेद्ने र पछि प्रश्नको जवाफ दिन नसकेर भागेको फेरी आउनु हामी स्वागत गर्छौं जस्ता बोलीको प्रयोगले मिडिया काउन्सिल विधेयकलाइ अझै कडा बनाउन तर्फ मल जल गर्छ । त्यसैले पत्रकार आचारसंहितको पालना गर्ने र आफूलाई स्वमूल्याङ्कन गरी पत्रकार अगाडी बढ्नु नै अहिलेको आवश्यकता र यथार्थ हो ।
Previous Articleतीनवटा स्थानीय तहका जनप्रतिनिधिबीच अन्तत्र्रिmया
Next Article रुप्से दैनिक ! ०४ जेठ २०७६