हिजो हामीले २०७५ लाई विदाई गरी सकेको छौं भने आज बिहानै हामीले नयाँ वर्ष २०७६लाई स्वागत गरी सकेका छौं । गत वर्षम के के भयो भन्दा पनि अब हामीले नयाँ वर्षमा के गर्ने भनेर सोच्ने समय हो । विगतमा के गरीयो के गरिएन भन्दा पनि यो वर्ष हामीले कस्तो बनाउने र के गरेर अगाडी बढ्ने भन्ने तर्फ सोच्न पर्छ । जव मानिसले गुमाएको हुन्छ तब त्यो गुमेको चिजलाई कल्पना गरेर पछुताउने गर्दछन् । तर त्यसरी पछुताउन भन्दा पनि अब के हुने र के गर्ने भन्ने तर्फ सोच्नु उत्तम हो । कतिपय प्रसंगमा पुगेका नपुगेका अनि गर्न सकिएका वा नसकिएका कुराहरुलाई सम्झनु भन्दा पनि अहिले सम्मको अवस्थालाई आत्मसात गर्दै त्यसको अध्ययन अनि मुल्याङ्कन गरेर आगामी दिनलाई सहज र राम्रो बनाउन तर्फ लाग्नु नै बुद्धिमानी हो ।
देशले गत वर्षमा राम्रा उपलब्धी पनि हासिल गर्न सक्यो भने केही होनहार व्यक्तीत्वलाई गुमाउन पनि परेको छ । युवा नेतृत्व अर्थात् मन्त्री रविन्द्र अधिकारीलाई गुमायो भने उनी लगायत ७ होनहार व्यक्तित्वलाई एकै पटक गुमायो देशले । त्यस्तै सर्जन उपेन्द्र देवकोटालाई देशले गुमायो । देशमा धेरै चर्चा परिचर्चा हुने काम भएको थियो भने केही कुराहरु समस्याकै रुपमा रहि रहे । नेपालमा लगानीका लागि वातावरण राम्रो भएको भन्दै लगानी सम्मेलन गरियो र त्यसले विश्वमा राम्रो प्रभाव पारेको देखियो । त्यस्तै गत वर्ष नै आयोजित एसिया प्यासिफिक सम्मेलन विवादमा परेको थियो भने निर्मला पन्त बलात्कार पछि हत्या र चर्चीत ३३ किलो सुन काण्ड भने जहाँको तही रहेका छन् । त्यसमा खासै प्रगति देखिएको छैन ।
आजको दिनमा हामीले नयाँ वर्षलाई स्वागत गर्दै गर्दा एकदुई कुराहरुको भने प्रण गरेमा राम्रो हुने थियो । हाम्रो यदि गलत बानि छ भने आजकै दिनमा त्यसबाट छुटकरा पाउन तर्फ लागौं । त्यस्तै नयाँ दिनमा कसैको हानि नोक्सानी गर्ने तर्फ सोच्दै नसोच्ने र गाउँ, टोल, समाज अनि देश विकासमा मेरो पनि केही भूमिका छ भन्ने तर्फ सोच्न लागौं । जब हामीले आफैंबाट शुरुआत गरेर परिवर्तनलाई स्वागत गरिदैन तब कहिल्यै पनि हामीले अरुको भरमा परेर हुनेवाला छैन । जव आफ्नो भित्रै देखि सकारात्मक सोचको विकास गरिदैन तब सम्म कहिल्यै कदापी पनि परिवर्तन आशा गर्न सकिदैन । त्यसैले हामी सबैले कामना गरौं आजको दिनबाट मैले गलत बाटो समात्ने छैन, आफ्नो मात्र नभएर देश विकासका लागि पनि चिन्ता लिने छु र देशका लागि केही भएपनि योगदान गर्ने बाचा गर्दै नकारात्मक प्रतिकृया होइन सुधारको बाटो अपनाउने प्रण गर्दै नया वर्षलाई स्वागत गरौं ।