आइतबार राती आएको हुरीबतासले गर्दा ठूलो धनजनको क्षती भएको बारा र पर्साका लागि सरकारले राहत दिने घोषणा गरेको छ भने अन्यत्रबाट पनि सहयोगको प्रतिवद्धता आएको छ । सरकारको नेतृत्व गरीरहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले आफ्ना सांसदहरुको एक दिनको तलब दिने बताई रहँदा नेपाली कांग्रेसले भने दुई दिनेको तलब दिने घोषणाले सबैलाई तरङ्गीत बनाउने पक्कै पनि भयो । आर्थिक सहयोग संकलन तथा राहत वितरण देखि लिएर सबै आ–आफ्नो स्थानबाट खट्ने सम्मका कामहरु भएका छन् । मोरङ्ग र झापाका कार्यक्रमका लागि झापा पुगेका प्रधानमन्त्रीले आफ्ना सबै कार्यक्रमलाई स्थगित गर्दै हावाहुरीबाट प्रभावित क्षेत्रको निरिक्षणमा पुग्नुका साथै विरामीको स्वास्थ्यस्थीती समेत जानकारी लिने जुन काम गरेका छन् त्यो पनि निकै सराहनीय छ ।
प्रधानमन्त्री ओली पुगे पछि नेकपाका अध्यक्ष पुष्पकमल दाहल पनि उक्त क्षेत्रमा पुगे भने अन्य धेरै नेताहरुले प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । उक्त क्षेत्रमा पुग्दै गर्दा सबैको एउटै लक्ष्य र उद्देश्य भनेकै पिडितलाई राहत र उनीहरुको गास, बास र कपासको बन्दोबस्ती मै जोड दिइएको भने पक्कै पनि हो । तर अहिले भिआइपीहरुले तराइका क्षेत्रमा विपत्तीको अवलोकन भ्रमण गर्नका लागि पुग्दा राहत उद्धार तथा उपचारमा भने निकै कठीनाइ पक्कै पनि भएको छ । प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, भौतिक योजना मन्त्री रघुविर महासेठ, विभिनन प्रदेशका मुख्यमन्त्रि, सांसदहरुको स्थलगत अनुगमनले प्रभावित क्षेत्रलाइ अझै प्रभावित बनाएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा तथा प्रचण्ड पनि त्यस क्षेत्र पुग्दा राहत वितरणमै समस्या भएको छ । त्यही मौका छोपेर पहुँचवालाले राहत हडप्ने काम पनि पक्कै भएको छ ।
अहिले अनुगमन र स्थलगत अध्ययनका लागि भन्दा पनि त्यस क्षेत्रमा आवश्यकता के हो त्यसका लागि खट्न पर्ने समय हो । भिआइपीहरुको सवारीले सुरक्षा निकाय नितैको पछि लाग्न पर्ने हुनाले राहत र उपचारमा पनि समस्या हुन्छ । कुनै पनि हालतमा त्यस क्षेत्रका नागरिकहरुलाई पिडाबाट बच्नका लागि सबैले आफ्नो क्षमताले भ्याए सम्मको कुनै पनि प्रकारको सहयोग गर्नु आवश्यक छ । अहिले सुदुरपश्चिम प्रदेश सरकारले राहतकोलागि आर्थिक सहयोग घोषणा गरेको छ भने अन्य क्षेत्रबाट पनि सहयोगका लागि पहलकदमी भएकै छन् । तर जति पनि सहयोगका लागि चर्का स्वरमा गरिएको छ घोषणा त्यो व्यवहारमै भएको खण्डमा पक्कै पनि पिडितलाई मलम हुने थियो । नत्र भने सँधै पिडामा रहेको समयमा भएका घोषणाहरु घोषणामै सिमित हुने रहेछ भन्ने तर्फ पनि मत जाने देखिन्छ ।