मानव जातिको उत्पत्तीको तथ्यलाई विष्लेषण गर्न तर्फ लागीरहन अहिले भर्खरै नपर्ला तर पनि कुनै पनि जिव जन्तु तथा पशुपंक्षिहरु पनि समूह र आ–आफ्नै समुदायमा बसोबास गर्ने गर्दछन् भन्ने कुरामा भने पक्कै पनि दुईमत छैन । कमिला तथा किराफट्याङ्ग्रा मात्र होइन सबै जनावर अनि मानिसहरुको त कुरै नगरौं समाजमा मिलेर बस्ने र शान्तिपूर्ण वातावरणमा बस्ने गर्दछन् । शान्तिपूर्ण समाजको निर्माणका लागि कयौं आन्दोलनहरु भए तर पनि ति आन्दोलनले समाजलाई आक्रान्त पार्नु सिवाय कुनै पनि अन्य उपलब्धी भने हुन सकेन । त्यसैले त सबैले शान्तिका लागि निकै पहल गरे अनि विश्वका अधिकांस देशहरु पनि शान्तिका लागिनै पहलकदमी गरीरहेका छन् ।
नेपालमा पनि धेरै समय अशान्ति भएकै हो । तर पनि विभिन्न कालखण्डमा शान्ति प्रकृयामा सबै आए र विरोधका स्वरहरु उठाउनेहरु पनि राजनैतिक मूलधारमा आएपछि शान्तिपूर्ण राजनैतिक माहौल सृजना भए सँगै देशमा केही परिवर्तनका किरणहरु अंकुराएका पनि छन् । २००३ सालमा स्थापना भएको नेपाली कांग्रेस पार्टीले पनि तत्कालिन अवस्थामा देशमा शान्ति र अमन चयन अनि राणाहरुको निरंकुशताको विरुद्धमा हतियार नै उठाएर लडेका थिए । तर अहिले नेपाली कांग्रेसले आफूलाई देशको पुरानो पार्टी भनेर दावी गर्दै गर्दा उसले पनि आफू हतियार त्यागेर मूलधारमा आएको राजनैतिक पार्टी भएको हेक्का भने पक्कै पनि राख्न पर्छ । नेपालमा सबै भन्दा धेरै पटक टुक्रीएको पार्टी भनेको नेकपा नै हो । २००८ साल पछि नेपाली राजनीतिमा आधिकारीक रुपमा आएको यो कम्युनिष्ट पार्टीले आफ्नो ७ दशक लामो राजनैतिक घटना क्रममा ७० भन्दा धेरै कम्युनिष्ट दल बनेर राजनैतिक पृष्ठभूमिमा आएर सक्रिय र बिलय पनि भएकै हुन् ।
नेपालमा कयौं राजनैतिक दलहरुको क्षेत्रीय दलहरु गठन हुने र आफ्नो क्षेत्रमा केही गतिविधि गर्ने तर राष्ट्रिय राजनीतिमा गुमनाम हुने परम्परा नै हो । तर पनि राजनैतिक मुलधारमा आउनभने निकै पापड बेल्नै पर्छ । क्षेत्रीयताका सवालमा निकै चर्को स्वर उचालेका विवेकशिल शाझा पार्टी पनि प्रदेश ३ को प्रदेश सभामा केही संसद पाउनु सिवाय अरु केही पनि हुन सकेन । निकै लामो राजनैतिक इतिहास बोकेको राप्रपा पनि अहिले प्रत्यक्षमा एक संसद जितेको भएपनि समानुपातिक मत नपुगेको कारणले गर्दा स्वतन्त्र संसदको हेसियतमा संसदमा उपस्थित छ । त्यसैले बन्दुगको नालबाट राज्य सत्ता आउँछ भन्दा पनि शान्तिपूर्ण राजनीतिबाटै हो सत्ता आउने भन्ने तर्फ लाग्दै बुलेट नभएर ब्यालेट तर्फ लाग्नु नै बुद्धिमता हुनेछ । देशका जनतालाई त्रासमा ल्याएर वितण्डा मच्चाउने तर्फ नभै उनीहरुलाई नै खुशी पारेर सबै प्रकारका समूहहरु ब्यालेट तर्फ नै लाग्नु पर्छ ।