अहिले नेपाल मात्र नभएर विश्वका धेरै मुलुकहरुमा भयावह रुपमा फैलिने बर्ड फ्लुले पोल्ट्री व्यवसायलाई चौपट बनाउनुका साथै धरापमा पनि पारेको छ । यस रोगको पूर्ण नियन्त्रणको उपायका लागि धेरै प्रयास भएको भएपनि पूर्णता भने पाउन सकेको देखिदैन । विभिन्न रोगहरु पत्ता लागेका तिथिहरुको एकिन रेकर्ड नभए पनि बर्ड फ्लु भने पहिलो पटक सन १९९७ मा हङकङमा फेला परेको तथ्यले देखाउँछ । त्यस पछि विभिन्न मुलुकहरुमा पनि यसको संक्रमण बढ्दै गयो । प्राय चराका प्रजातिमा देखिने यो संक्रमण द्रुतगतिमा फैलने हुनाले पनि नियन्त्रणकालागि निकै समस्या भएको पक्का हो । विश्वका झण्डै ७० जति मुलुकमा यसको संक्रमण देखिएको बर्ड फ्लुले अहिले सम्म एकिन तथ्य नभएको भएपनि करिब चार सय जना मानिसको पनि मृत्यु भएको देखिन्छ । बर्ड फ्लुको संक्रमण र आसंकामा अहिले सम्म १० करोड भन्दा बढी कुखुरा नष्ट गरीएको मान्न सकिन्छ ।
हङकङमा देखिएको इन्फ्लुन्जा भाइरस ए प्रजातिका कारण बर्ड फ्लु हुन्छ । मानिसमा निकै घातक मानिने एच ५ एन १ संक्रमण हङकङमा सन १९९७ मा देखियो र सोही तथ्यलाई नै आधार मोनर बर्ड फ्लु पनि त्यही मुलुकमा भेटियो भन्न थालिएको भए पनि खासमा पहिला कहाँबाट कसरी उत्पत्ती भयो भन्ने एकिन तथ्य कहिँ कतै पनि देखिएको छैन । त्यसपछि युरो, अफ्रिका र उत्तर अमेरिकामा पनि देखियो तर त्यस क्षेत्र भन्दा पहिला एसियाली मुलुकमै कुखुरामा फैलिएर खर्बौंको धनराशी नष्ट भएको थियो । अहिले सम्मको अवस्था हेर्ने हो भने पनि बर्ड फ्लुका कारणले गर्दा विश्वले खर्बौं डलर भन्दा बढीको क्षति व्यहोरेको तथ्य कहिँ कतै लुकेको छैन । बर्ड फ्लु रोगका कारण कुखुरा व्यवसाय श्रृंखलाले बेहोर्न परेको चुनौती भनेको उपभोत्तामा कुखुरा जन्य काँचो मासु फुल तथा तयारी परिकार प्रति उत्पन्न हुने त्रास नै प्रमुख मानिन्छ ।
नेपालमा पनि पटकपटक बर्ड फ्लुको संक्रमणका कारण अर्बौंको लगानी डुवेको छ भने पाँच हजार भन्दा धेरैले आफ्नो रोजगारी गुमाएका छन् । यही कारणले गर्दा हालै गण्डकी प्रदेशको धौलागिरी अञ्चल भित्र अन्य जिल्लाबाट कुखुराजन्य सामाग्री आयातमा रोक लगाइएको छ । त्यस्तै गत हप्त मुस्ताङ तर्फ लैजाँदै गरेको मासु समेत कुस्मामा नष्ट गरीएको तथ्यले पनि बर्ड फ्लुका कारणले निकै ठूलो नोक्सानी भएको देखिन्छ । अहिले सम्म एच ५ एन १को संक्रमणबाट मृत्यु भएका मानिसहरु हेर्दा बर्ड फ्लु लागेको कुखुरा संगको सम्पर्क वा त्यस्तै मरेका कुखुरा संग सम्बन्धीतहरु नै देखिन्छन् । यसकारण यस्ता प्रकारका रोगबाट बच्नका लागि मासुजन्य खाद्यान्न प्रयोग गर्दा जति सक्यो चिस्यानयुक्त प्रयोग नै सुरक्षीत हुन्छ । सके सम्म फ्रिजमा राखेको मासुजन्य सामग्री प्रयोग नै मानव स्वास्थ्यका लागि बर्ड फ्लुबाट केही हदसम्म पनि बच्ने उपाय हो । खुला एवम् ताजा मासुको प्रयो गर्ने हाम्रो बानि नै एच ५ एन १ को संक्रमणको मुख्य कारण हो ।