प्रताप बानियाँ
म्याग्दी, माघ २६ – बिहीबारदेखि परिरहेको निरन्तरको वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको छ । उच्च पहाडी जिल्ला म्याग्दीमा वर्षाका कारण भारी हिमपात भएको छ । १२ वर्षको अन्तरालमा जिल्लाको तल्लो क्षेत्रहरुमा पुनः दोस्रोपटक भारी हिमपात भएको हो ।
समुन्द्री सतहदेखि १ हजार ३ सय मिटरको उचाइमा रहेका वस्तीहरुसम्मै हिउँ परेको छ । हिमपातपछि अहिले म्याग्दीका डाँडाकाँडाहरु सेताम्मे देखिएका छन् । म्याग्दी सदरमुकामदेखि २६ कोष टाढा रहेको विकट तथा दुर्गम गूर्जा गाउँमा तीन फिटभन्दा बढी हिउँ जमेपछि अहिले त्यहाँ सञ्चार सम्पर्कबिच्छेद भएको गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा बताउनुभयो ।
एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीका अधिकांश क्षेत्रमा भारी हिमपात भएको छ । जिल्लाको उच्च क्षेत्रका सबै वस्तीहरुमा बाक्लो हिमपात भएको छ । माघको दोस्रो साता परेको हिउँ पग्लिन नपाउँदै शनिबार बिहानैदेखि फेरी हिमपात भएपछि स्थानीयको दैनिकी थप कष्टकर बनेको छ । हिमपात र अत्यधिक चिसोका कारण धाराको पानी जमेपछि समस्या भएको बेनी नगरपालिका–५, गाजनेका निलकण्ठ शर्माले जानकारी दिनुभयो ।
लेकाली वस्तीहरुको घर आँगनको कुना कुनासम्म हिउँ जमेको छ । म्याग्दीको उच्च भेगहरुमा ३ फिटभन्दा माथिसम्म हिमपात भएको छ भने तल्लो वस्तीका अधिकांश ठाउँहरुमा झण्डै १ फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातपछि चिसो बढेको हुँदा स्थानीयलाई घर बाहिर निस्कन, शौचालय जान र वस्तुभाउलाई घाँसपानी र कुँडोभाँडो खुवाउनै समस्या भएको छ ।
म्याग्दीको उपल्लो क्षेत्रमा पर्ने गूर्जा, मुदी, मल्कबाङ, कुईनेमङ्गले, खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा लगायतका क्षेत्रमा बिहीबारदेखि नै हिमपात भए पनि बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, पुलाचौर, पात्लेखेत लगायतका ठाउँमा शनिबार बिहानैदेखि बाक्लो हिमपात भएको स्थानीयको भनाइ छ । हिमपातपछि सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने यातायात सेवा अवरुद्ध बनेको छ भने सवारीसाधनहरु नचल्दा सडक सुनसान छन् ।
यसैबीच भारी वर्षा र हिमपातका कारण पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध बनेको छ । अन्नपूर्ण गाउँपालिका–३, दाना क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अहिले सडक खुलाउने कार्य भैरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
म्याग्दीमा भारी हिमपात, वर्षा र हिमपातले जनजीवन कष्टकर
Previous Articleराजन खत्रीको लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा
Next Article रुप्से दैनिक ! २६ माघ, २०७५