आत्म रक्षाको दावी मौकामा नै गर्नुपर्ने आफैले उत्तेजना सृजना गरेमा आत्म रक्षाको सुबिधा नपाउने‚सार्वजनिक अधिकारीको सहयोगको अवस्थामा पनि यो सुविधा पाउन नसक्ने तथा राष्ट्रसेवकले काम गर्दा समेत यो सुविधा नपाउने अवस्था बाहेकका अन्य अवस्थाहरुमा यसको व्यवस्था गरेको पाइन्छ । त्यस्ता अवस्था र परिस्थितिहरुको परिकल्पना गरी पूर्ववस्थाहरुको वर्णन गरेको पाइन्छ । परिस्थिति र अवस्था यस्ता आइपर्छन कि जसमा आफूले केही नगर्दा आफ्नो वा अरुको ज्यान जाने वा अंगभङ्ग हुने‚ शरिर बन्धक वा अपहरणमा पर्ने‚विष्फोटक पदार्थ प्रयोग भै मानवीय क्षति हुने‚डकैती भइरहेको अवस्थामा सार्वजनिक सम्पत्तिको रक्षा गर्दाको अवस्थाहरु वा जबरजस्ती करणी गरेको कारण तत्काल केही गर्दा मृत्यू भएमा भन्ने कुरा उल्लेख गरिएको छ । यस बारे प्रत्याक्रमणकारी दफा २४(३) बमोजिम स्पष्ट हुनुपर्ने व्यवस्था गरेको पाइन्छ । यस दफालाई हेर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरु कसैको ज्यान वा सम्पत्तिको सुरक्षा गर्न सकिदैन भन्ने मनासिव कारण भई वा विश्वास गर्नुपर्ने मनासिव अवस्था भएमा मात्र यसको प्रयोग गर्न सकिने थप शर्तहरुको ब्यवस्था गरेको छ । त्यसै गरी यो अधिकारको प्रयोग गर्दा दफा २५(३) बमोजिम आवश्यक भन्दा बढी बल प्रयोग गर्न नपाइने ब्यवस्था समेत गरेको छ । निजी रक्षाको अधिकारको प्रयोग गर्दा आवश्यक मनासिब बलमात्र प्रयोग गर्नुपर्ने भनी केही सीमित अवस्थामा मात्र आक्रमणकर्ताको ज्यान गएको वा अंगभङ्ग भएको भएपनि निजी रक्षाको अधिकार क्रियाशिल हुने देखिन्छ । यस दफाले प्रत्याक्रमणकर्ताले माथि उल्लेखित अवस्थामा रहेको वा त्यस्तो विश्वासमा परी काम गरेको अवस्थालाई कसूर नमानिने मान्याता राखेको हुँदा प्रतिरक्षा न्यायोचित नभइ माफियोग्य तर्फको प्रतिरक्षा भन्नु अझ उपयुक्त देखिन्छ । यो निजी अधिकारको प्रयोग अन्य कारणबाट ज्यान लिएको विषयमा भने लागू हुन नसक्ने देखिन्छ । त्यसैले कुनै पनि घटना आक्रमण हो की प्रत्याक्रमण हो भन्ने कुरा छुट्याउनु जरूरी हुन्छ । आफ्नो ज्यान अन्य तबरले बाँच्न सक्ने अवस्था छ भने कसैलाई मार्ने निजी रक्षाको अधिकार इजाजत बन्न नसक्ने भन्दै ज्यान जाने डर‚भय‚त्रस‚सम्पत्ति क्षति हुने अवस्था र परिस्थितिलाई यसले उजागर गरेको छ । तर यो अवस्था आइपरेको भन्ने कुरा मनोगत हुनुपर्ने हो वा बस्तुपरक हुनुपर्ने हो भन्ने सम्बन्धमा केही उल्लेख गरेको पाइदैन । विश्वास गर्नुपर्ने मनासिब कारण भएमा भन्ने शब्द र मनासिब बल भन्ने वाक्य प्रयोग भएको हुँदा अदालतले प्रत्येक तथ्य र परिस्थितिलाई केलाई मुद्दाको यकिन गर्दछ । आक्रमणकारीले के कस्तो प्रहार आफू उपर गरेका छन । सोही बमोजिम अनुपातिक बल प्रयोग हुनुपर्ने कानूनी मान्यता रहेको पाइन्छ । फरक फरक अवस्था र परिस्थितिमा फरक फरक बलको प्रयोग हुन सक्ने देखिन्छ । रातको समयमा डकैत गर्न आउने मानिस उपर समानुपातिक बल प्रयोग हुन सक्दैन । डकैत रातको समयमा गर्न आउने व्यक्तिहरुले जोखिमी हतियार सहित आउन सक्ने अनुमान गरी घातक प्रहार भएपनि समानुपातिक बलको अर्थ लगाइ यसबाट उम्कन सक्दैन । कुनै व्यक्तिले एक थप्पड हिर्काएको भरमा अर्को व्यक्तिले धारिलो हतियार प्रहार गर्दछ भने त्यो मनासिव बल प्रयोग भएको हुन सक्दैन । कुनै पनि व्यक्ति निजी रक्षाको अधिकार प्रयोग गरेको व्यक्ति हो वा आक्रमणकारी हो वा दुवै पक्षलाई छुट्टाउन जाने व्यक्ति हो भनी हेर्नु पर्छ । त्यसै गरी व्यक्ति उक्त स्थानबाट केही नगरी भागेर उम्कन सक्ने अवस्था हो होइन वा आक्रमणकारीले घेरा बन्दीमा पारी केही नगरी बाँच्न सक्ने अवस्था हो होइन भनी केलाइ अदालतले यो अधिकार प्रयोग कर्तालाई छुट वा दोषी ठहर गर्नु पर्ने कुरा यस दफाले बताएको देखिन्छ ।
आत्म रक्षा भन्ने तर सजाय भएका मुद्दाहरु हेर्दा आफ्नो घरमा बास बस्न आएका बल बहादुरले राती मलाई जबरजस्ती करणी गर्न खोज्दा मैले मुङ्ग्राले हानी मृत्यु भएको भन्ने प्रतिवादी पीनु मगरर्नीको मुद्दामा सर्वोच्च अदालतको निष्कर्ष छ । ” मृतक आफ्नो नाता सम्बन्धको व्यक्ति देखिएको र मार्नुपर्ने सम्मको पूर्व रिसइवी रहेभएको कुरा कही कतैबाट खुल्न सकेको छैन । आफ्नै घरमा बास बस्न आएकोमा राती जबर जस्ती करणी गर्न खोज्दाको अवस्थामा आफ्नो धर्म सतित्व बचाउनको लागि मुङ्ग्राले हान्दा मृतकको मृत्यु भएको देखिन्छ । घटनाको प्रकृतिबाट सतित्व रक्षार्थ छोडेको चोटबाट मृत्यु भएकोमा कानून बमोजिम सजाय गर्दा चर्को पर्ने देखिदा अ.व. १८८ नं बमोजिम निज प्रतिवादी पिनु मगरर्नीलाई कैद ५ बर्ष सजाय हुने”ज.क.गर्न खोज्दा हार गुहार गर्न सक्ने अवस्था‚उक्त घरमा अन्य प्रतिवादीहरु समेत सुतेको अवस्था र प्रतिवादीले मुङ्ग्राले हिर्काइ मृत्यु भएका मृतकलाई अन्य व्यक्तिहरुको सहयोगमा रुखमा लगि झुण्डाएको अवस्थाले आत्म रक्षा भए पनि ५ वर्षको कैद सजाय भएको देखिन्छ ।आत्मरक्षा नहुने अवस्थाहरुका मुद्दाहरुलाई हेर्दा प्रतिवादी रुपनारयण सिंहको मुद्दाबाट यो कुरा प्रष्ट हुने देखिन्छ । यसमा बाटो बन्द गरेकाले आलीको बाटोबाट सिताराम सिंह हिडेको हुन्छ । जगदिश सिंहले गुहार माग्दा सिताराम सिंह त्यहाँ आइपुग्छ र प्रतिवादीले हानेको लाठीले सिताराम सिंहको मृत्यु हुन्छ । रुपनारायण सिंहले आत्म रक्षाका लागि लाठी चलाएको भन्ने अवस्था र परिस्थिति पनि देखिदैन‚ भनाई पनि छैन ।मौकामा दावी पनि लिएको छैन । यसमा अदालतको निष्कर्ष छ “जोरजुलुम गर्न लागेकोमा त्यस्तालाई पक्राउ गर्न वा गुहार वा मद्दत माग्न नसकिने वा मागे पनि पुग्न नसक्ने वा त्यस्तो पन्जाबाट भागी उम्की आफ्नो ज्यान बचाउन समेत फुर्सत नपाउने अवस्थामा प्रस्तुत वारदात घटेको एवं आफूउपर कुनै व्यक्ति आईलागेको मिसिल एवं प्रमाणबाट समेत समर्थित छैन । ज्यान लिने सम्मको अवस्था नपुग्दै वा गुहार मद्दत माग्न नसक्ने वा गुहार मद्दत मागेको अवस्थामा पनि बखतमै मद्दत पुग्न सक्ने अवस्थामा आत्म रक्षाको कसैले चोट छोडी कुनै व्यक्ति मरेमा त्यस्तोमा ज्यान सम्बन्धीको ७ नं आकर्षित हुन सक्दैन । प्रतिवादी रुपनारायणको लागि बरु मानिसहरु रहेको देखिन्छ र मार्नेले पक्राउ गर्न गुहार पाउने अवस्था परी ज्यान जोगाउन सितारामलाई प्रहार गरेको मिसिलबाट नदेखिएकोले ज्यान सम्बन्धीको १४ नं बमोजिम कसूर ठहरी प्रतिवादीलाई वर्ष १० कैद हुने” कुरा उल्लेख गरेको पाइन्छ ।
आत्मरक्षाको लागि हारगुहार गर्दाकै क्रममा भाग्दा मृत्यु भएमा मुद्दा भवितव्यमा परिणत हुन्छ । आत्मरक्षाका लागि चिच्याएको अवस्थामा सोही जरियामा कसूर गर्न जाने व्यक्तिको मृत्यु हुन गएकोमा दुरभाग्यपूर्ण मृत्यु मान्नुपर्ने देखिन्छ । यसमा केही कुरा गर्नको लागि प्रयास गरिरहेको अवस्थामा सो काम पुरा गर्न नपाउदै थाहा पाई लखेटिन पुग्दा भीर‚खोला र पहिरो जस्तामा परी मृत्यु भएका अवस्थालाई लिन सकिन्छ । वास्तवमा यो प्रतिरक्षाको अधिकार कानूनले तोकेको स्थितिमा रही गरिनुपर्ने हुन्छ । यो अधिकारको प्रयोग प्रतिशोध‚आक्रमणकारी वा परपिडा गरी कसूर गर्न दिएको होइन अर्थात कसूर गर्नको लागि दिएको अधिकार होइन ।
स्रोत: मुलुकी अपराध संहिता (लेखक: केदार दाहाल), सहयात्रा नेपाल पब्लिकेशन
प्रतिक्रियाका लागि: ९८५७६२६७१८