प्रताप बानियाँ
म्याग्दी, माघ १२ – उच्च पहाडी जिल्ला म्याग्दीमा शुक्रबार साँझदेखि परेको वर्षाका कारण भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रसहित तल्लो क्षेत्रको अधिकांश ठाउँहरुमा हिउँ परेको हो ।
समुन्द्री सतहदेखि १ हजार ५ सय मिटरको उचाइमा रहेका वस्तीहरुसम्मै हिउँ परेको छ । हिमपातपछि अहिले म्याग्दीका डाँडाकाँडाहरु सेताम्मे देखिएका छन् । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकाका ७ ओटै वडामा बाक्लो हिमपात भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् ।
यसैगरी बेनी नगरपालिकाको १, २, ३, ५, ९ र १० नम्बर वडाका वस्तीहरुमा हिमपात भएको छ । मालिका गाउँपालिकाको पनि सातवटै वडाका वस्तीहरुमा हिमपात भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका वस्तीहरुमा पनि भारी हिमपात भएको छ । अधिकांश गाउँको घर, आँगन र छानाहरु ढाकिने गरी हिमपात भएको छ ।
लेकाली वस्तीहरुको घर आँगनको कुना कुनासम्म हिउँ जमेको छ । बिहान उठ्नेबित्तिकै घरको आँगनमै सेताम्मे हिउँ देखेपछि आफूहरु हिउँ खेलेर रमाएको बेनी नगरपालिका–५, डडुवाका अर्जुन भण्डारीले टेलिफोनमा जानकारी दिए । लामो समयपछि जिल्लाको मध्ये वस्तीमा हिउँ परेपछि स्थानीयवासिन्दा खुसी भएका छन् । म्याग्दीको उच्च भेगहरुमा २ फिटभन्दा माथिसम्म हिमपात भएको छ भने तल्लो वस्तीका अधिकांश ठाउँहरुमा झण्डै आधा फिटसम्म हिउँ जमेको आँकलन गरिएको छ ।
गाउँवस्ती नै छोपिने गरीको परेको हिमपातका कारणले गर्दा वस्ती अनौठो देखिएको छ । जिल्लाको पर्यटकीय क्षेत्र घोरेपानी, पुनहिल, महरेडाँडा, टोड्के, रुईसे–भेडिओढार, गुफाको डाँडो, भकिम्लीको स्वर्गाश्रम, बराङ्जाको झाँक्रीपानी लगायतका क्षेत्रहरु अहिले सेताम्य हिउँको ढिस्कोमा रुपान्तरण भएका छन् । पर्यटकीय क्षेत्रमा पुगेका आन्तरिक तथा बाहय पर्यटकहरु हिउँ खेलेर रमाइरहेका छन् ।
हिमपातका कारण स्थानीयवासिन्दालाई भने घरको दैनिक काम गर्न समस्या भएको छ । हिमपातपछि चिसो बढेको हुँदा स्थानीयलाई घर बाहिर आवतजावत गर्न समस्या भएको बेनपा–५, गाजनेका यामबहादुर बानियाले बताए । हिमपातले मल भिजेर बिरुवालाई फाइदा गर्ने र उत्पादन बढ्ने भएपछि कृषकहरु खुसी भएका छन् ।
उता हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार साँझदेखि परेको वर्षा र हिमपातका कारण यातायात र विद्युत सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको हिउँ सडकमै जमेपछि बेनी–जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको लेतेमा सडक अवरुद्ध बनेको हो ।
लेतेस्थित सडकमा हिउँ जमेपछि सवारीसाधन जाममा फसेको हुँदा सवारी आवागमन अवरुद्ध भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले टेलिफोनमार्फत बताए । उनका अनुसार हिमपातपछि शुक्रबारदेखि नै मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा आपूर्ति बन्द भएको छ ।
विद्युत सेवा बन्द भएपछि अहिले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा सञ्चार सम्पर्क बिच्छेद भएको उनले जानकारी दिए । यसैगरी जोमसोम विमानस्थलको रनवेमा हिउँ जमेपछि हवाई उडान बन्द भएको सहायक प्रजिअ रेग्मीले बताए ।