काठमाडौं, ११ कात्तिक-महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित उनका सहयोगीमाथि समेत छानबिन गर्ने गरी कार्यविधि बनेको छ ।
सद्को महाअभियोग समितिले गठन गरेको आन्तरिक कार्यविधि निर्माण उपसमितिले प्रमुख आयुक्तमा रहँदा कार्कीलाई सहयोग गरेका ‘विज्ञ, सल्लाहकार, जासुसी संयन्त्र र सुरक्षा संयन्त्रमा रहेकाहरूसँग समेत बयान लिने गरी कार्यविधि तयार पारेको हो।
प्रारम्भिक कार्यविधिमा कार्कीलाई अनुसन्धानका क्रममा बयान लिनेदेखि साक्षी बुझ्ने, प्रमाण बुझ्नेलगायतका सबै कार्य गर्नेछ । कार्यविधिअनुसार अड्डा अदालत, विभिन्न निकाय, मन्त्रालयबाट पनि फाइल झिकाउन खानतलासी गर्ने अधिकारसमेत महाअभियोग समितिलाई हुनेछ ।
संसद्को नियमावलीले महाअभियोग लागेका व्यक्तिलाई मात्र एक साताभित्र सफाइको मौका दिन महाअभियोग समितिमा बोलाउने व्यवस्था गरेको थियो । आन्तरिक कार्यविधि निर्माण समिति महाअभियोग लागेका कार्कीमाथि छानबिन गर्ने कार्यविधिको प्रारम्भिक मस्यौदा बुधबार समितिमा पठाइएको छ ।
कार्यविधिअनुसार महाअभियोग समितिका सदस्यलाई गोपनीयता भंग गर्ने अधिकार हुनेछैन । महाअभियोग सिफारिस समितिले महाअभियोगको प्रस्तावमा उल्लेख आधार र कारण देखिँदैन भनेर सिफारिस गर्न पनि सक्नेछ ।
यो समिति संवैधानिक समिति भएकाले यो स्थायी प्रकारको समिति हो । यदि यसरी संसद्को बैठकमा पठाइए संसद्ले पुनः दोहो-याएर महाअभियोग सिफारिस समितिमा पठाउनुपर्नेछ । संसद्ले दोहो-याएर विचार गर्न भनेपछि पुनः महाअभियोग समितिले प्रतिवेदन बुझाउनुपर्नेछ । राजधानी दैनिक