अवको ५० वर्षमा विश्वमा कति जनसंख्या मानिसले स्वच्छ पिउने पानी उपभोग गर्न सक्लान ? अनुमान गरौं तर त्यो सत्य होला नहोला । तर पनि सत्य कुरा के हो भने विश्वमा जसरी अहिले पिउने पानीको प्रयोग भएको छ र प्राकृतिक श्रोत साधनको दोहन भएको वर्तमान अवस्थामाा हामीले अबको ५० वर्षपछिको अवस्था कल्पना गर्नु भनेको मुर्खता सिवाय अरु नहुन पनि सक्छ । जे हामीले सोच्दै छौं त्यो कसरी सम्भव होला भनेर कल्पना गर्नु भन्दा पनि त्यसलाई कसरी सुरक्षित राख्न सक्छौं र विश्वभरमा हामी भन्दापछिको पुस्ताका लागि हामीले के छाडेर जाँदै छौं भन्ने पनि त सोच्न पर्छ । अहिले पनि दक्षिण अफ्रिकामा पुरै जनसंख्याले स्वच्छ पिउने पानी उपभोग गर्न पाउँदैनन् । त्यहाँबाट सुरु भएको पिउने पानीको अभाव विश्वभर फैलदै जान्छ नै ।
अहिले पनि विश्वमा दुई अर्व १० करोड मानिसले अस्वच्छ पिउने पानीकै उपभोग गर्न बाध्य छन् । विश्वका यस्ता देशहरु छन् जहाँ राज्यले चाहेर पनि स्वच्छ पानी उपलब्ध गराउन सकेको छैन । अहिले विश्वका धेरै यस्ता शहरहरु छन् जहाँ पिउने पानीकै लागि युद्ध नै गर्नु पर्ने पो हो कि जस्तो अवस्था छ । ब्राजिलको साओपाउलो, भारतको बैङ्लुरु, चीनको बेइजीङ, मिश्रको कायरो, इन्डोनेसियाको जाकार्ता, रुसको मस्को, टर्कीको स्तानबुल, बेलायतको लण्डन, अमेरिकाको मायामी, मेक्सीकोको मेक्सीको सिटिलगायतका शहरहरुमा अहिले पनि पिउने पानीको समस्या छ । यसले के देखाउँछ भने पानीलाई कम प्रयोग गर्ने र सुरक्षित गर्ने र तर्फ लाग्नै पर्छ ।
बेनीबजारमा खानेपानी वितरण गर्दै आइरहेको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीलाई प्रविधिमैत्री बनाउने बताइरहँदा बेनी बजार क्षेत्रमा कहिले सम्म आम नागरिकले स्वच्छ पिउने पानी पाउँछन् भन्ने सवालमा पनि सोचियो सोचिएन त ? ‘स्मार्ट वाटर टेक्नोलोजी’ भन्दै अगाडी बढ्न लागिरहेको वेनी खानेपानीले २०६३ देखि बेनी बजार आसपासका नागरिकलाई पिउने पानी उपलब्ध गराउँदै आएको छ । २०६३ मा सोचिएको उक्त लक्ष्य अहिले आएर फेल खाइ सकेको छ । त्यसैले अब भने दुरदर्शीता अनि दिगो लक्ष्य सहित पिउने पानीको श्रोत खोज्नुका साथै व्यवस्थीत वितरण गर्न सकिएन भने बेनी पनि विश्वका ठूला शहरहरु जस्तै पिउने पानीको समस्या हुने बजारको रुपमा अगाडी नआउला भन्न सकिदैन ।