काठमाडौं। मन्त्रालयका तर्फबाट प्रधानमन्त्रीसमक्ष प्रस्तुत चौमासिक लक्ष्य कति पूरा भयो रु प्रधानमन्त्री कार्यालयले पाइचार्ट बनाएर अनुगमन गरिरहेको छ, आफैंले निर्धारित गरेको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गरेका छैनन् ।
यो खबर आजको नयाँपत्रीकामा छ – प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको चौमासिक रिपोर्ट कार्ड अनुगमन गरिरहेका छन् । निर्धारित समयमा कति काम हुन सक्छ भनेर उनले मन्त्रालयहरूबाट प्रतिबद्धता मागेका थिए । आफैंलले प्रस्तुत गरेको लक्ष्य मन्त्रालयले कति पूरा गरे भन्ने मूल्यांकन प्रधानमन्त्री कार्यालयको सफ्टवेयरले गरिरहेको छ । सफ्टवेयरले अद्यावधिक गरिरहेको पाइचार्ट प्रधानमन्त्रीले आफ्नो ट्याबलेटमा हेरिरहेका छन् । तर, प्रधानमन्त्रीलाई दिएको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गर्न सकेका छैनन् ।
प्रधानमन्त्रीको अनुगमनले मन्त्रीमाथि नैतिक दबाब सिर्जना गरिरहेको छ । किनकि, आफैँले तोकेको लक्ष्यअनुसार कति काम गर्न सकियो भन्ने मन्त्रालयले नै सफ्टवेयरमा भर्नुपर्छ । ‘यो पाइचार्ट हामीले बनाएको होइन । सम्बन्धित मन्त्रालयका सचिवले स्वयं मूल्यांकन गरेबापत सफ्टवेयरबाट पाइचार्ट बन्छ,’ महाशाखाका सहसचिव यमलाल भुसालले भने, ‘प्रधानमन्त्रीज्यूले आफ्नो ट्याबलेटबाट मन्त्रालयको पर्फर्मेन्स हेरिरहनुभएको हुन्छ । त्यसो हुँदा आफैँले गर्छु भनेको काम पनि नगर्दा मन्त्रीज्यूहरू नैतिक दबाबमा पर्नुहुन्छ ।’
मन्त्रालयहरूले लक्ष्यअनुसार काम गर्न नसकेको पाइचार्टमा देखिएको भुसालले बताए । उनले प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रालयको अनुगमनलाई प्रभावकारी बनाउने र कमी–कमजोरीलाई सल्टाउन सहयोग गर्ने बताए । रातो रङ बढी देखिएको मन्त्रालयको अनुगमनमा ध्यान दिने उनको भनाइ छ । धेरै रातो रङ लिएर बस्ने मन्त्रालयलाई प्रधानमन्त्रीको कार्यालयले पनि प्रश्न गर्ने भुसालले बताए ।
तीन रङः तीन अर्थ
मन्त्रालयको कामका आधारमा सफ्टवेयरले फरक–फरक रङ देखाउँछ । मन्त्रालयले मासिक वा चौमासिक रूपमा लिएको लक्ष्यअनुसार काम भएको छ भने हरियो रङ देखिन्छ । लक्ष्यअनुसार काम सकिएको छैन, तर कामको प्रक्रिया चलिरहेको भए पहेँलो रङ देखिन्छ । लक्ष्यअनुसार कामको प्रक्रिया पनि सुरु नगर्ने मन्त्रालयको रातो रङ लाग्छ ।
लक्ष्यअनुसार काम सम्पन्न भएपछि सचिवले मन्त्रालयबाटै सफ्टवेयरमा ५ स्टार दिन्छन् । ५ स्टारले पाइचार्टको रङ बदल्छ । जस्तै स् एक वर्षभित्र भवन बनाउन पहिलो चौमासिकमा बोलपत्र आह्वान गर्ने लक्ष्य राखिएकोमा सोहीअनुसार काम भएको भए त्यस कामबापतको ५ स्टार दिइन्छ । तर, त्यसपछिको काम लक्ष्यअनुसार भएन भने हरियो रङको प्रतिशत घट्छ, पहेँलोको बढ्छ । मन्त्रालयले गरेको कामका आधारमा रङ बदलिन्छ । रङअनुसार कुन मन्त्रालयले कति काम गरिरहेको छ भन्ने देखिन्छ ।
स्वास्थ्य मन्त्रालयको अपडेट भेटिएन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा मन्त्रालयहरूको नीति तथा कार्यक्रम, बजेट र अनुगमन गर्न सञ्चालित प्रणालीमा स्वास्थ्य मन्त्रालयको तथ्यांक भने प्राविधिक कारणले स्पष्ट हुन सकेन ।