नेपाली मात्र नभएर विश्वका सबै जसो मुलुकका मानिसहरु अर्को मुलुकमा कामको शिलशिलामा जाने त गर्दछन् नै । आफ्नो मुलुक छाडेर अन्यत्र अर्थात् अर्को देशमा पुगेका व्यक्तिहरुले गर्ने कामका कारण पनि त्यस देशको विकासमा पनि योगदान हुन्छ नै । विश्वमा अर्बौं व्यक्तिहरु आप्रवासीका रुपमा रहेका छन् । नेपालीहरु पनि कयौं देशका आप्रवासीका रुपमा कार्यरत छन् । दैनिक करिब २ हजार हाराहारीमा नेपाली युवाहरु विदेशीने गरेका छन् । नेपाली युवाहरु विश्वका झण्डै २ सय देशमा पुगेका छन् । तिनै आप्रवासी नेपालका कारण नै अर्बौंको विप्रेषण नेपाल भित्रने गर्दछ । तैपनि कसैले पनि आप्रवासीका वारेमा ठोस र यथार्थ अनि अर्थपरक तथ्य ल्याउन भने कसैले पनि हिम्मत गर्न सकेनन वा चाहेनन् भन्ने अन्यौल छ । आज डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।
आप्रवासी दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा र सरकार तथा राजनीति दलहरुलाई यी बिषयमा ध्यानाकर्षण गराउँदै आएकाछन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरुलाई विमानस्थलमा विदा औपचारिक रुपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरु गरिन्छ । हुन त यतिले मात्र पुग्छ पुग्दैन भन्ने तर्फ कसैले सोचेका छन् छैनन थाहा पाउन सकिएको छैन तर पनि हामीले युवालाई आप्रवासी बनाउनकै लागि विदाई गर्नु भन्दा पनि स्वदेशमै केही गर्न सक्ने वातावरण सृजना गर्न तर्फ पनि लाग्ने हो कि? वेरोजगार भएर बस्नु भन्दा रोजगारी तथा जीविकोपार्जनका लागि अन्य देश जाने र वस्ने प्रकृयालाई नै आप्रवासन भन्ने गरिएको हो । आप्रवासीहरुलाई देश अनुसार फरक कानुनी मान्यता हुन्छ । विश्वले आप्रवासी दिवस मनायो र सबथोक पुरा भयो भन्ने चाहि हुदै होइन । संयूक्त राष्ट्रसंघको ६८ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ । यसले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रुपमा स्वीकार गरेको छ भने मानव गतिशिलतालाई दिगो विकासको महत्वपूर्ण हिस्साको रुपमा अङ्गीकार गरिएको छ ।
नेपालमा वर्षेनी आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रुपमा घट्न भनै कहिल्यै सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाईदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएकाछन् । नेपालमा योगदानका आधारमा सामाजिक सुरक्षा योजना ल्याए सँगै नेपालीहरुलाई अब आप्रवासी हुन पर्दैन कि भन्ने त भएको छ त्यसले नेपालमा आउने आप्रवासीका हितमा भने के बोलेको छ र बोल्छ भन्ने कुरा भने खुल्न सकेको पक्कै छैन । त्यसैले आप्रवासी दिवस मनाउँदै गर्दा सम्पूर्ण कामदारहरुको हित होस र सबैको जय होस । आप्रवासी दिवसको शुभकामना ।
Previous Articleसिंगामा गरियो सार्वजनिक सुनुवाइ
Next Article एघार अर्ब ६५ करोड राजश्व सङ्कलन