म्याग्दीका सहायक जिल्ला वन अधिकृत घुस रकमसहित बिहीबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले ३४ हजार घुससहित डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई पक्राउ गरेको जनाएको छ ।
डिभिजन वन कार्यालय म्याग्दीमा कार्यरत सहायक वन अधिकृत ठाकुर सेवाग्राहीबाट नगद ३४ हजार रुपैयाँ घुस लिँदै गर्दा बेनीमा रङ्गेहात पक्राउ परेका हुन । अख्तियारको टोलीले आवश्यक कारवाहीका लागि बिहीबार नै अधिकृत ठाकुरलाई पोखरा लगेको छ ।
म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारस्थित डिभिजन वन कार्यालयमा रहेको आवासगृहको पुजा कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै उनले सेवाग्राहीबाट घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जानकारी दिएको छ ।