भारतसहित विभिन्न चार देशका राजदूतको संसदीय सुनुवाई गर्न आइतबार बसेको संसदीय सुनुवाई समिति बैठकमा प्रधानमन्त्री केपी ओलीको विवाहबारे चर्चा चल्यो ।
विषयको चुरोभन्दा बाहिर गएर सांसदहरुले ओलीको बिहेको चर्चा गरे । प्रसंग हो सरकारबाट इजरालयका लागि राजदूत सिफारिस भएकी अञ्जान शाक्यको । केपी ओली पत्नि राधिका शाक्य । ससुरालीतर्फ थर मिल्ने अञ्जानलाई प्रधानमन्त्री ओलीले नै राजदूतमा सिफारिस गरेका हुन् ।
यसअघि परराष्ट्र मामिला प्रतिष्ठानमा सदस्य पनि ओलीकै पहलमा भएकी हुन् अञ्जान । शाक्य भएकै कारण उनलाई धेरैले केपी ओलीकी साली भन्ने बुझेका छन् । तर, कुरा त्यस्तो होइन । अञ्जान र ओलीको ससुरालीको थर मिल्नु संयोग मात्र हो । उनी कतैबाट पनि ओलीकी साली पर्दिनन् ।
पार्टीभित्रका ओलीविरोधी र विपक्षीले सालीलाई राजदूत बनाएको भन्दै खेदो खनेका मात्र हुन् । संसदीय सुनुवाइमा त्यस्तै धारणा राखे पूर्वएमाले र हाल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले । आफू स्थानीय नेवार परिवारकै भएको भन्दै श्रेष्ठले अञ्जान शाक्य प्रधानमन्त्री ओलीको नाता नपर्ने बताए ।
‘म काठमाण्डुको नेवार परिवारको मान्छे हुँ । मलाई केपी ओली र राधिका शाक्यको विवाह कसरी भएको हो भन्ने मलाई थाहा छ’, श्रेष्ठले भने, ‘उहाँहरुको अञ्जान शाक्यसँग नाता पर्दैन ।’
श्रेष्ठको भनाइ नसकिँदै बीचैमा बोले नेकपाका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे । पाण्डेले ओलीसँग राधिकाको विवाहको सम्पूर्ण तारतम्य आफूले मिलाइदिएको बताए । सँगै उनले पनि राधिका र अञ्जानको माइतीतर्फबाट कुनै नाता नपर्ने उल्लेख गरे ।
‘केपी ओलीजी र राधिकाजीको विवाहको सबै तारतम्य मिलाउने मान्छे मै हुँ’, पाण्डेले भने, ‘नातासाता केही पर्दैन, सबै अनुमानका आधारमा गरिएका सतही कुरा हुन् ।’
पाण्डेपछि फेरि बोले सांसद श्रेष्ठ । उनले पाण्डे पञ्चायती व्यवस्थाको समयमा भूमिगत हुँदैदेखि विवाह गराइदिन माहिर रहेको बताए । ‘उहाँ भूमिगत कालमै विवाह गराइदिन माहिर हुनुहुन्थ्यो’, श्रेष्ठको कुरा सुनेर बैठकमा उपस्थित सांसद, कर्मचारी र पत्रकारबीच हाँसो चल्यो ।