कवि शिरोमणी लेखनाथ पौड्यालले लेखेका थिए केही हरप । कसैको देशमा पनि हुन्न एकनाश समुन्नती, अरुको त के कुरा र हेर? सन्ध्यामा सूर्यको गती । यो हरपले के भन्छ भने कसैको पनि एकनासको प्रगति वा दुर्गती हुँदैन भन्ने हो । तर पनि मानिसहरुले आफू सँधै उही स्थानमा रहन्छ कि जस्तो गर्दछन् । तर त्यस्तो कदापी हुँदैन । जब मानिसहरु कुनै पनि समस्यामा पर्दछन् त्यसबेला आफ्नो अवस्था सकिएको हो कि जस्तो पनि बुझ्दछन् । तर त्यही बेला नै स्वयंसेवा अर्थात समाजसेवाम सक्रिय व्यक्तित्वहरुले सहयोग जताउन थाल्छन् । आगालागि, बाढि पहिरो, भू–क्षय जस्ता प्राकृतिक प्रकोप तथा कुनै पनि रोगको महामारीका समयमा पनि सेवा भावका साथ खट्नेहरु पनि हुन्छन् । उनीहरुले सबैलाई समान ठानेर नै खट्छन् ।
संयुक्त राष्ट्रसंघकै अगुवाइमा विश्वर डिसेम्बर ५ लाई विश्व स्वयम् सेवक दिवसका रुपमा मनाइन्छ । नेपालको सन्दर्भमा हामी धेरैले ठानेका हुन्छौं कि स्वयम् सेवा भनेको नै रेडक्रस हो भनेर । तर रेडक्रस मात्र पनि स्वयम् सेवा होइन । किन ने अन्य पनि धेरै यस्ता संघसंस्थाहरु छन् जुन मानविय सेवाका लागि मात्रै खट्ने गरेका हुन्छन् । स्वार्थ विना नै कसैका लागि खट्नु भनेको नै स्वयमसेवा हो । नेपाल मात्र नभएर कहिँ कतै पनि सबै भन्दा पहिला स्वयमसेवक नै पुग्दछन् । जब मानिसहरु आपतमा परेका हुन्छन् त्यस स्थानमा विना कुनै स्वार्थ र आफूले कुनै पनि प्रतिफल पाइन्छ भन्ने मनमा नलिइकन पुग्नु नै त स्वयम्सेवा हो ।
युद्धका बेलामा बत्ती लिएर घाइते सेनाको उपचारमा खट्ने फ्लोरेन्स नाइटीङ्गेल हुन् वा नेपाल तथा विश्वभर नै पोलियो विरुद्धको खोप दिन जाने हुन् वा भिटामिन ए तथा जुकाको औषधि खुवाउनका लागि घरघरमा पुग्ने स्वास्थ्य स्वयम् सेवीहरु हुन् । उनीहरुको योगदान र जिम्मेवारीको कुनै तुलना हुँदैन र तुलना गर्न सकिदैन । हामीले गाउँघरमा पहिला भन्ने र सम्झने एउटा शब्द थियो ‘सुडेनी’ । त्यो शब्द सामान्य लागे पनि हाम्रो ग्रामिण भेकमा हुने महिलाहरुका लागि जिम्मेवार एवम् एक जना सुत्केरी हुन लागेकी महिलाको आशाको केन्द्र हुन् । उनलाई जे शब्दले पुकारे पनि उनी पनि खासमा स्वयम्सेवक नै हुन् । त्यसैले हामी कसैले पनि स्वम्सेवालाई कमजोर अनि सामान्य तबरले लिन हुँदैन । जब स्वयम्सेवकहरुको उपस्थिति कहिँ कतै हुदैन त्यहाँ समस्या सृजना हुन्छ ।