गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानो मानसिकता र संरचना परिवर्तन नहुँदा सरकारको कामले गति लिन नसकेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पाटी (ने क पा) म्याग्दीले आज बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले देशमा शासक र शासन गर्ने शैली फेरिए पनि सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने कर्मचारीतन्त्रमा पुरानै मानसिकता कायम रहँदा अपेक्षाकृत काम हुन नसकेको बताउनुभयो । उहाँले पुरानै मानसिकता र संरचनाका कारणले गर्दा सरकारले काम गरेपनि प्रभावकारी नदेखिएको बताउँदै कार्यान्वयन गर्ने तौर तरिकामा पनि परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभएको छ । अहिलेको सरकारप्रति जनताको ठूलो अपेक्षा र आशा रहेको भन्दै उहाँले सरकारको कामलाई तल्लो तहसम्म पु¥याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
मुख्यमन्त्री गुरुङले संवैधानिक र कानुनी हिसाबले चुनाव लडेर नेपालमा दुई तिहाई बहुमत ल्याएर कम्युनिष्टले सरकार बनाएको बताउँदै यस्तो दुनियाँमा कहीँ नभएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले घुमाइफिराई देशमा राजतन्त्र ल्याउन चाहेको आरोप लगाउँदै भारतले गणतन्त्र दिवसमा पूर्वराजालाई बोलाउने विषय ठूलो ग्राइन्ड डिजाइनका साथ बाहिर आएको तर्क गर्नुभयो । कांग्रेसका महामन्त्रीले हिन्दुराष्ट्रको वकालत गर्नु, यही समयमा राप्रपाका बिचमा पार्टी एकताको प्रसङ्ग उठ्नु कम्युनिष्ट पार्टीबीच भएको एकताको विरुद्ध विभिन्न चलखेलहरु भएको भन्दै उहाँले भारतले नेपालमा अस्थिरता ल्याउन चाहेको आरोप लगाउनुभएको छ ।
अहिले प्रतिपक्षहरु नीति र अस्तित्व रक्षाको सङ्गटमा रहेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘पार्टी र सरकारको आलोचना गरौं तर निन्दा गर्ने काम नगरौं ।’ उहाँले गण्डकी प्रदेश अन्य प्रदेशहरुको तुलनामा प्राकृतिक स्रोत र साधनका हिसाबले सम्भावनायुक्त रहेकोमा जोड दिँदै प्रदेश सरकारले प्रदेशका सबै जनताको पहुँचमा व्यवस्थित खानेपानी र विद्युत पु¥याउने लक्ष्य लिइएको बताउनुभयो । नेपालको पर्यटनको राजधानी पोखरा भएको हुँदा गण्डकी प्रदेशमा ३ सयवटा गाउँलाई ग्रामीण पर्यटनका रुपमा विकास गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।
आगामी २ वर्षभित्र गण्डकी प्रदेशमा ३ हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी रहेको बताउँदै प्रदेशका बेरोजगार युवाहरुलाई एउटा–एउटा उद्यमको सिप सिकाएर आत्मनिर्भर बनाइने उहाँको भनाइ छ । मुख्यमन्त्री गुरुङले कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै गण्डकी प्रदेशलाई ५ वर्षभित्र निरक्षरमुक्त प्रदेशका रुपमा घोषणा गरिने पनि बताउनुभयो ।
नेकपाको गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री गुरुङले केपी ओली र प्रचण्ड नभएको भए पार्टी एकता हुन नसक्ने ठोकुवा गर्दै केन्द्रीय कमिटी र प्रदेश सङ्गठन कमिटीमा पार्टी एकताको काम सकिएको हुँदा अब जिल्ला कमिटीहरु गठन गरिने बताउनुभयो । उहाँले कसैले बोले जसरी काम गर्न सजिलो नभएको बताउँदै संक्रमणकालमा पार्टी एकताको कामले तीव्रता नलिएको हुँदा नियमितता दिने र व्यवस्थित बनाउने काम भैरहेको बताउनुभएको थियो । उहाँले नेपाल कम्युनिष्ट पार्टी शुन्यतामा छैन भन्ने सन्देश प्रवाह गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै तल्लो तहसम्म पार्टी कामलाई पु¥याउन निर्देशन दिनुभयो ।