इश्वर गिरी
तथ्यको भ्रममा परी गरेको कामलाई अपराध मानेको छैन तर यो दफामा कानुन बमोजिम गर्नुपर्ने वा क्षम्य मानिएका भनी थप शर्तहरु तोकिएको छ । यसमा Ignorance of Law is no excuse but ignorance of fact is always excuse भन्ने मानिन्छ । तथ्य नै भ्रममा परेको आधारमा अपराधिक काम भए पनि अपराध हुन सक्दैन । यसमा त्यस्तो परिणामको इच्छा राखेर कर्ताले काम गरेको हुँदैन । त्यसैले परिणामको इच्छा राखेर गरिने काम वा मनसायसहितको दायित्व आउने मुद्दामा मात्र यो तथ्यको भ्रमको प्रतिरक्षा पाउने हो । यहाँ मनसाय वा विश्वास गरेको तथ्य नै नभई अर्को तथ्य पर्न आउने, त्योे तथ्य भएको भए त्यस्तो काम नगरिने, केवल अर्को तथ्य रहेको भन्ने ठानी वा विश्वास गरी काम गरिने हुँदा ठहर गरेको तथ्य नभई अर्को तथ्य परेमा त्यो तथ्यप्रति कर्ताले कुनै परिणाम आउने मनसाय राखेको हुँदैन । मनसाय र परिणामको परिकल्पना विहीन अवस्थामा आपराधिक क्रिया हुने भएकाले यो प्रतिरक्षा दिइएको हो । परन्तु आपराधिक कार्य नै पर्याप्त हुने पूर्ण वा कठोर दायित्वमा भने तथ्यको भ्रमको प्रतिरक्षा सामन्यतः पाइँदैन । एक वस्तु हो भन्ने विश्वास गरी प्रहार गरेकोमा यथार्थमा सो वस्तु नभई अर्को वस्तु पर्न गएको रहेछ भने तथ्यको भ्रम हुन जान्छ । तथ्यको भ्रममा विश्वास गरेको वस्तु उपरको क्रिया अपराध हुँदैन भन्ने ठानिन्छ । यदि विश्वास गरेको वस्तुउपर गरिने क्रिया यदि आपराधिक हुन्छ भने यहाँ अपराध घटेन भने पनि तथ्यको भ्रम भएको भनी छुट पाउने अवस्था हुँदैन । प्रमाणबाट पुष्टि भएमा अवस्था अनुसार उद्योगतर्फ सजाय हुनसक्छ । आफैंलाई आक्रमण गर्न लागेको ठानी प्रहार गरिएको अवस्थामा आत्मरक्षाको सुविधा दिन मिल्ने हो वा होइन भन्ने परिस्थितिले देखाउने कुरा हो । तर यो भ्रम त्यस्तो परिस्थितिमा कर्ता पर्न सक्ने हो वा होइन, त्यो न्यायकर्ताले यकिन गर्ने कुरा हो । सामान्यतया आम रक्षाको दावी गर्दा आत्मरक्षाको लागि ज्यान लिएको भन्ने कर्ताको जिकिर रहने हुन्छ तर कर्ताले त्यस्तो परिणाम ल्याउने गरी स्वेच्छाले कुनै काम गरेको होइन भन्ने देखाउनु पर्ने हुन्छ । कस्तो अवस्थालाई तथ्यको भ्रम गरेको होइन भन्ने देखाउनु पर्ने हुन्छ । कस्तो अवस्थालाई तथ्यको भ्रम मानिन्छ भन्ने सन्दर्भमा हेर्दा रातको समयमा घरमा चोर पसेको मानिन्छ भन्ने सन्दर्भमा हेर्दा रातको समयमा घरमा चोर पसेको सम्झी घरको सुरक्षाका लागि राखिएको गार्डले गोली चलाउँदा मानिसलाई लाग्न गयो तर उक्त मानस चोर नभई सो घरको पाहुना रहेछ भने पनि यहाँ गार्डको काम कसुर हुादैन किनकि उसले गरेको काम पूरापूर तथ्यको भ्रममा परी गरेको मानिन्छ । तर कानुनको अनविज्ञता वास्तविक कानुन थाहा नपाएर नै गरेको भए पनि क्षम्य मानिन्न । जुन कुरा Ignorance of law is no excuse भन्ने युक्तिले नै पुष्टि गरेको छ । यो प्रश्नलाई हाम्रो अदालतले पनि मान्यता दिई आएको देखिन्छ । तथ्यको भ्रम ज्ञानमा आधारित भ्रम, विश्वासमा रहने भ्रम र परिस्थितिमा रहने भ्रम वा दोषहरुलाई अदालतले तथ्यको भ्रममा राखेको पाइन्छ । प्रतिवादी उमेशप्रसाद सिन्हा भएको मुद्दामा आफ्नो ट्रकका ड्राइभरलाई चामल ल्याउन पठाएकोमा ढुटो र गाँजा लोड गरेको पाइएकोले चेकजाँच पछि गाडी समेत जफत हुने दावी लिएको रहेछ । लागू औषध मुद्दामा अपराध गर्न गाडी धनीले सहमति दिएको वा संलग्नता रहेको प्रमाणित नभएको भन्ने आधारमा गाडी जफत तर्फ वादीको दावी नपुग्ने भनी मुद्दामा निर्णय दिएको पाइन्छ । यो मुद्दामा निजले जानाजान गाडी गाँजा ल्याउन दिएकाले जफतको माग गरिएको थियो । अदालतले जानाजान दिएको भन्ने तथ्य स्थापित गर्न वादीले नसकेको भन्ने आँकलन गरेको देखिन्छ । यसैले जानकारी नरहेको तथ्यमा पनि दोषारोपण गर्न नमिल्ने निष्कर्ष अदालतको रहेको छ । यहाँ गाडीधनीले चामल लोड गरी ल्याउन ड्राइभरलाई पठाएको कुरा कानुनसम्मत काम हो । यसरी चामल ल्याउने नियतले गाडी पठाएकोमा गाँजा ल्याएको कामको दायित्व अब गाडीधनीमा आउने हो वा होइन भन्ने कुरालाई अदालतले खोजविन गरेको पाइन्छ । त्यसैले कानुनसम्मत काम गर्दा कुनै कारण परी अन्यथा काम भए पनि त्यस्तो काम गर्ने पक्षको दोष छैन भने त्यहाँ दायित्व बहन गराउन मिल्दैन । यस्तै गरी कुनै केटीले आफ्नो वयस्क केटा साथीलाई आफू वयस्क भएको भनी सहमति दिई यौन क्रिया गरेपछि निजहरु बीचमा विवाद भई आफू कानुन बमोजिम उमेर नपुगेका अवस्थामा जबरजस्ती करणी गरेको भन्ने तथ्य मुद्दामा आउने अवस्थालाई इन्कार गर्न सकिन्न । फेसबुकबाट सम्पर्क भई विवाह गर्ने भनी काठमाडौं पुगेकी एक जना केटी र काभ्रे घर भएको एक जना केटा दिनभर बजारमा घुमी बेलुका ८ देखि १० बजेसम्मको लागि भक्तपुरमा कोठा बुक गरी करणी लेनदेन भएपछि मनमुटाव भई जबरजस्ती करणी गरेको मुद्दा दायर हुन्छ । यस अवस्थामा वयस्क केटाले आफ्नो केटी साथीले उमेर पुगेको विवाह गर्न भनी हिँडेको दुबैको इच्छाले यौन क्रिया भएको भन्ने तथ्यबारे केही पनि भनेको पाइँदैन । तर परिस्थिति र अवस्था भनेको उमेर पुगेको विश्वासमा परेको अवस्था देखिन्छ । केटाले उमेर पुगेको भन्ने विश्वासमा परी मञ्जुरीले करणी लिनुदिनु भएको देखिए पनि सो कुरा मुद्दामा रहेको पाइँदैन । केटाले ती केटी साथीको उमेर पुगी यौन क्रियाको सहमति भएको विश्वासमा यौन क्रिया भएको भन्ने प्रतिरक्षा पनि लिएको पाइँदैन । यो मुद्दामा भक्तपुर जिल्ला अदालतले जबरजस्ती करणी ठहर गरेको पाइन्छ । यो मुद्दाको परिस्थिति दुबैले शारीरिक सम्पर्क गर्दा वयस्कताको परिस्थिति र अवस्थाले गर्दा दुबैको मञ्जुरीले करणी लिनुदिनु भएको छ, जुन काम अपराध होइन तर कानुनी अवस्थालाई हेर्दा त्यही कुरामा विश्वास गरी यौन सम्पर्क गरेको कुरामा उमेरको कारणले अपराधको अवस्था सृजना गर्छ । त्यसैले यहाँ शारीरिक अवस्था हेरेर गरिएको कामको परिाउमेर कम भएको अपराधको कानुनी परिणाम के कुराको तथ्यमा विश्वास हो भन्ने प्रश्न निरुत्तरित छ । केटीको फेसबुकको आग्रह र शारीरिक अवस्था हाउभाउले कम उमेरको भन्ने केटामा विश्वास नै छैन, जुन केटीको शारीरिक अवस्था तथा मानसिक अवस्थाले देखाएको छ तर कानुनले भने यी कुरालाई नभई उमेर कति हो भन्ने आधारमा मञ्जुरीको अवस्था हेर्ने हो । कानुनले निषेध गरेको उमेरका केटी साथीको यौन क्रिया वा वयस्क महिलाको मञ्जुरी नलिई गर्ने करणीलाई कसुर भनेको छ । यो तथ्यको परिस्थितिको कारण अपराध हुन गए पनि तथ्यको भ्रमको सुविधा प्रतिवादीलाई दिनु पर्ने कि नपर्ने भन्ने प्रश्न यो मुद्दामा आएको पाइन्छ । तर सो कुरा प्रतिवादीले दावी गरेको पाइँदैन । जहाँ दुबैको इच्छाशक्तिको कारण वयस्क भएको सम्झी यौन क्रिया भएको अवस्थामा के हुने भन्ने तर्फ पनि अदालतले कुनै विश्लेषण गर्न सकेको पाइँदैन । यस्तै अपराध मध्येको सम्पत्ति सम्बन्धी अपराधलाई उदाहरणको रुपमा लिन सकिन्छ। कसैसँग कुनै कुरा छ भनी विश्वासमा पारी सो कुरा लिने दिने गर्ने गरी विश्वास दिलाउनेले पहिले रकम कलम लिई खाएकोमा पछि उक्त सम्पत्ति निजसँग नभएको पत्ता लागेमा ठगी हुने अवस्था हाम्रो कानुनले गरेको पाइन्छ । त्यसैले ठगी जस्ता सम्पत्ति सम्बन्धी अपराधहरुमा मनसाय तथ्य बनेको बेइमानी गर्ने रहेको हुन्छ । मानिसको इमानजमानलाई जहिले पनि कानुनले संरक्षण गरेको हुन्छ । यस्तो इमानजमानमा कुनै कारणले गर्दा पूरा हुन नसक्ने अवस्था भएमा ठगी गरेको हुँदैन तर इमानजमान गर्नेले आफूसँग भएको वस्तु वा सेवाको बारेमा मात्र सो कुरा गर्न सक्ने हुन्छ । आफूसँग नभएको कुरामा इमानजमान गरेको अवस्था भएमा सुरुदेखि नै सो काममा बेइमानीको परिस्थिति सृजना हुन्छ । यो बेइमानीको परिस्थिति सुरुवाट नै देखिएमा त्यो कामको निरन्तरतामा भएको जुनसुकै क्रिया पनि बेइमानीका नियतबाट गरेको ठहरिन जान्छ । केही सार्वजनिक संवेदनाको कारण आफूले गल्ती नगरे पनि दोष आउने अवस्था हुन्छ । गाडीको ड्राइभर कुनै पनि हालतमा निद्रामा पर्नु हुँदैन । यदि निद्रा लागेमा गाडी रोक्नु पर्दछ, चलाउनु हुँदैन । यति हुँदाहुँदै पनि निद्रा आइरहेको अवस्थामा गाडी चलाई दुर्घटना भएमा निजले मेरो स्वेच्छाले निद्रामा परेको होइन भनी प्रतिरक्षा गर्न पाउँदैन । यदि कुनै व्यक्तिले गाडी चलाउने लाइसेन्स छ भन्छ र उक्त ड्राइभरले सो गाडी चलाउन अर्को व्यक्तिको विश्वासमा परी लाइसेन्स नभएको व्यक्तिलाई चलाउन दिन्छ र गाडी दुर्घटना हुन्छ भने ड्राइभर कसुरबाट उम्कन पाउँदैन । यहाँ ड्राइभरको कुनै दोष छैन । केही अवस्थाहरु तथा परिस्थितिहरुमा आफ्नो स्वेच्छाले काम नगरेको र आफ्नो गल्ती नभए पनि दोषी हुनुपर्ने हुन्छ । यहाँ निजले अर्कोलाई अनुमति दिएको र आफूले पर्याप्त सावधानी नअपनाएको आधारमा सार्वजनिक संवेदनाको कारणले दोषी बन्नुपर्ने हुन्छ ।
Previous Article२० रुपैयाँमै भाडाका गर्लफ्रेन्ड
Next Article विश्वभर निःशुल्क वाईफाई उपलब्ध गराउँने तयारीमा चीन