एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीवार काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि उनी आएका हुन् । उनलाई नेपाली सेनाको सलामीसहित उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए । त्यसभन्दा अगाडि म्यानमारकी शीर्ष नेत्री आङ सान सू की पनि नेपाल आइसकेकी छिन् ।
सू की र सेन दुवै ‘एसिया प्यासिफिक समिट–२०१८’ मा सहभागी हुन सेन नेपाल आएका हुन् । नेपाल सरकार, विवादास्पद संस्था युनिभर्सल पीस फेडरेसन–नेपाल (यूपीएफ–नेपाल), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आइक्याप) लगायतको संयुक्त आयोजनामा उक्त समिट काठमाडौंमा भइरहेको छ । सम्मेलनको अध्यक्षता नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने जनाइएको छ ।
सम्मेलनको आयोजकमध्ये एक युनिभर्सल पीस फेडरेसन–नेपालमाथि बेलाबखत क्रिस्चियन धर्मप्रचार गरेको आरोप लाग्दै आएको छ । युनिभर्सल पीस फेडरेसन–नेपालका अध्यक्ष एकनाथ ढकाल हुन् । उनी अहिले नेकपासँग आबद्ध छन् ।
नेपाल आउने विदेशी अतिथिबारे हामीलाई निकै कम जानकारी रहेको हुन्छ । म्यान्मारकी नेत्री सू कीको बारेमा हामीलाई केही थाहा भएतापनि ३३ वर्षसम्म लगातार कम्बोडियाको प्रधानमन्त्री खाइरहेका हुन सेन ‘कम्बोडियन जंगबहादुर राणा’ हुन् भन्दा फरक नपर्ला । उनी संसारकै सबभन्दा लामो समयसम्म प्रधानमन्त्री बनिरहेका व्यक्ति हुन् ।
कम्बोडियाली प्रधानमन्त्री हुन सेनले तीन दशकभन्दा लामो समय डर र हिंसामा आधारित राजनीति गरिरहेका छन् । उनले राजनीतिलाई मृत्युसँगको संघर्ष भन्ने गर्दछन् र उनको भाषामा त्यो संघर्ष सधैं उनी र उनको विपक्षीबीचको हुन्छ ।
उदाहरणको लागि २००५ को जुलाईमा भएको निर्वाचनमा हुन सेनले आफ्ना विपक्षीहरूलाई विद्रोही र आतंककारी भन्दै जसजसले चुनाव लड्ने योजना बनाएका छन्, उनीहरूले आफ्नो कात्रो आफैं किनेर राख्नुपर्ने र आफ्ना परिवारलाई अन्तिम इच्छा भनिराख्नुपर्ने भनी चेतावनी दिएका थिए ।
सन् २०१८ को कम्बोडियाको आमनिर्वाचनमा हुन सेन विपक्षी विना नै एक्लै लडेका थिए । उनको मुख्य विपक्षी दल कम्बोडिया नेसनल रेस्क्यु पार्टीलाई निर्वाचनको एक वर्षअगाडि त्यहाँको उच्च अदालतले सरकार ढाल्ने षड्यन्त्र गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो ।
नेपालमा जंगबहादुर राणाले तानाशाही व्यवस्था चलाएजस्तै सन् १९८५ देखि निरन्तर तानाशाही तरिकाले देशको नेतृत्व गरेका प्रधानमन्त्री हुन सेन यस्तो अवस्थामा पुनः विजयी हुनु स्वाभाविक थियो । आमनिर्वाचनको बेलामा नयाँ पार्टी बनाएर विपक्षीहरू प्रतिस्पर्धामा त उत्रिए तर त्यसले हुन सेनलाई कुनै असर पारेन । उनी तीन चौथाइभन्दा बढी मत ल्याएर प्रधानमन्त्री पदमा विजयी भएका थिए ।
हुन सेनलाई ह्युमन राइट्स वाचले गैरकानूनी हत्या, यातना, स्वेच्छाचारी पक्राउ र संघसंस्थाहरूमा प्रतिबन्ध लगाएको आरोप लगाएको छ ।
कम्बोडियालाई सधैं नियन्त्रणमा राखिरहनका लागि हुन सेनले कैयौं दमनकारी उपायहरू अपनाएका छन् । उनका विरोधी दलहरू र सञ्चारमाध्यमहरू उनका प्रमुख दुश्मन हुन् ।
तीन दशकभन्दा बढी कम्बोडियामा शासन गरेका हुन सेनले कम्बोडियाको अर्थव्यवस्थाको ठूलो हिस्सा आफ्नो कब्जामा राखेका छन् । गरीब कम्बोडियनहरू चीनले दिने दानमा आश्रित छन् । हुन सेनले आफ्ना तीनवटै छोराहरूलाई पार्टीको शीर्ष नेतृत्व र सेनाको उच्च तहमा राखेका छन् ।
सन् १९५२ मा एक किसान परिवारमा जन्मेका हुन सेनले माध्यमिक तहको शिक्षा पनि पूरा गरेका छैनन् । किशोरावस्थामा उनी खमेर रुज विद्रोहीका सिपाही बने । सन् १९७० मा कम्बोडिया गृहयुद्धको चंगुलमा फस्यो र करीब बीस लाख जनता मारिए । हुन सेनलाई देशलाई गृहयुद्धमा फसाएको आरोप समेत लागेको थियो ।