आजको तीन दिन पछि बाट यम पञ्चक अर्थात् तिहारको शुरुआत हुँदै छ । उज्यालोको पर्व भनेर लिइने तिहारमा देउसी भैलोका साथै विभिन्न रङ्गीन फुल अनि रङ्गी चङ्गी रङहरुको प्रयोग सँगै उत्सबले हाम्रो घरमा प्रवेश गरे सँगै यम द्वितिया अर्थात भाइ टिका पछि यस वर्षका दुई वटा महान चाडहरु दशैं र तिहारले हामीलाई बिदामागेर जाने छन् । नेपालमा मनाईने चाडहरु मध्ये नागपञ्चमी बाट शुरु भएका हिन्दु चाडहरु लगभग अब सकिने तर्खरमा छन । कृष्णाष्टमी, हरितालिका हुँदै श्रोह्र श्राद्ध र नवरात्र अनि दशैं सकिएको छ भने तिहार हाम्रो नजिकै आइपुगेको छ। अब काग तिहारबाट सुरु भएर कुकुर तिहार, गाइ, गोरु अनि भाइ टिका र त्यस पछि यस वर्षको छठ पर्व सँगै यस वर्षका मुख्य चाडहरु हाम्रो घर आगनबाट बिदा हुनेछन् ।
म्याग्दी भ्रमण वर्ष–२०७५ अहिले सञ्चालन भै रहेको अवस्थामा दशैं तथा तिहारको बिचमा हुने लामो बिदाका कारणले गर्दा म्याग्दी भ्रमणमा आउने पर्यटकहरुको पनि निकै राम्रो उपस्थिति देखिएको छ। हिमाल पारीको जिल्ला मुस्ताङ प्रवेश द्वारको रुपमा रहेको म्याग्दी हुँदै पर्यटकहरु मुस्ताङ जाने भएकाले पनि यहाँ निकै राम्रो तबरले पर्यटकको उपस्थिति देखिन्छ नै । यो समयमा देखिएको पर्यटकको घुइचोलाई ‘क्यास’ गर्ने जिम्मा कास्को र कसरी भन्ने सवालका बारेमा भने सम्बन्धीत निकायले सोच्नै पर्छ । म्याग्दी उद्योग वाणिज्य संघले अगुवाई गरेर भ्रमण वर्ष मनाइ रहेको अवस्थामा त्यसको प्रत्यक्ष लाभ लिने भनेको होटल व्यवसायी तथा यातायात व्यवसायीले हो । तर यी व्यवसायीले त्यसका बारेमा के कति सोचे र सहयोग गरे भन्ने त कि उद्योग वाणिज्य संघ कि त होटल वा यातायात व्यवसायीलाई नै हेक्का होला ।
भ्रमण वर्षलाई लक्षित गरेर गत वर्ष नै प्रचार प्रसारलाई तिब्रता दिएको भए यस वर्ष पर्यटकहरुको आगमन बढ्ने थियो होला तर भ्रमण वर्षको ७ महिना बिति सक्दा बल्ल आयोजक संस्थाले विभिन्न चार वटा प्रदेशमा भ्रमण गरेर निम्तो दिन थालीदा त्यसको प्रभाव कस्तो पर्ला त्यो त भविष्यमा आउने रिणामले नै देखाउला । तर बाहिरबाट हेर्दा पनि अलिकती नमिल्दो त पक्कै भएको हो नि । नत्र भने भ्रमण वर्ष मनाउँदै छौं भन्ने थियो भने भ्रमण वर्ष सुरु हुनु भन्दा पहिल्यै प्रचार प्रसार गर्नु पर्ने होइन र ?