लामो समय देखि दलित समुदायको समस्या र आन्दोलनमा अग्रसर भएर परिवर्तनको लागि दलित समुदायको हक हित अन्यायको विरुद्ध आवाज उठाउदै आएकी अन्तराष्ट्रिय दलित एकता संजालको निर्वाचनबाट हालै अध्यक्ष पदमा निर्वाचित अध्यक्ष सरु सुनार संग इरुप्से गु्रपको लागि पुर्ण विश्वकर्मा (पहाडी) ले गरेको कुराकानीको संपादीत अंश यहाँ प्रस्तुत छ ।
स्वागत छ यहाँलाई इरुप्से गुरुपमा ?
धन्यवाद पुर्ण जि यहाँ र समग्र रुप्से ग्रुपको टिमलाई ।
भर्खरै सम्पन्न दलित एकता संजालको निर्वाचनमा संयोजक पदमा बिजय हुनु भएको छ, कस्तो महसुस गर्नु भएको छ ?
भर्खरै भएको निर्वाचन लोकतान्त्रिक पद्धति गरिएको हुँदा धेरै देशमा रहनु भएका अभियानताहरुले अनलाइन बाट प्रत्येक्ष आफुले चाहेको उमेदवारलाई भोटिङ गर्नु भएको र लोकतान्त्रिक चुनावी प्रक्रियाबाट मलाई संयोजक पदमा चुन्नु भएकोमा देश बिदेशमा रहनु भएका दाजुभाइ दिदिबहिनीहरुमा धन्यवाद ब्याक्त गर्द्छु । साथै म लगायत दलित एकता संजाल आई सि सिमा निर्वाचित पदाधिकारी अत्यन्तै खुसी छौ । हाम्रो टिमले पहिला भन्दा आगामी दिनमा सबैको सहयोग र साथ रहने छ त्यसैले अझै राम्रो काम गर्ने विश्वास लिएकी छु । सबैले जुन चाहना अनुरुप हाम्रो टिमलाई जिताउनु भयो त्यो उहाँहरुको आशालाई निराशा हुन दिने छैनौं हामी ।
तपाईं महासचिव हुँदा संजाललाई आर्थिक हिनामिना भएको आरोप पनि लाग्ने गरेको छ नि के भन्नू हुन्छ ?
म महासचिव हुँदा कतिपय लागेका खर्च हामीले व्यक्तिगत रुपमा गरेका छौ । संस्थाको पैसा संस्थाको हित भन्दा बाहिर एकपैसा पनि खर्च गरेका छैनौं । हामी संग सबै प्रमाण छन् । हामीले लेखापरीक्षण गरेर सम्बन्धीत निकाय तथा जिल्ला प्रशासनमा पनि हिसाब किताबको सबै कागजपत्र बुझाएको छौ । सामाजिक काम गर्दा यस्ता किसिमको आरोप प्रत्यारोप हुनु सामान्य कुरा हो । वास्तविक के हो भन्ने कुरा बुझ्न जरुरी हुन्छ । संजालमा केही ब्याक्तिले लेखेको भरमा सत्य हो भन्ने कुरा सरासर गलत हो । हामीलाई आरोप लगाउने संस्था ती पदाधिकारीलाई बारम्बार अफिसमा आएर छलफल गरौ भन्ने गरेका छौ । हामिले कहाँ कहाँ कुन विषयमा खर्च गरेका छौ त्यो पनि हेर्न सक्नेछन् अझै पनि म त्यही भन्छु । हाम्रो हिसाब किताब पारदर्शी छ । हरेक कुनै संघ संस्थामा आवद्ध पदाधिकारी सबै कुरामा सन्तुष्ट हुन्छ्न भन्ने पनि छैन नि ! हामिले हरेक सहयोग अभियान अहिले फेसबुकको माध्यमबाट लाइभ हाल्ने गरेका छौ । लागेको आरोप सबै भ्रम हुन भन्ने कुरा हाम्रा शुभ चिन्तकहरुले अहिलेको निर्वाचनमा देखाउनु भएको छ ।
दलित समुदायको हितको लागि अहिले सरकारले कानुन पनि केही परिमार्जित गरेको छ, अबको दिनमा परिवर्तन र सम्मानता हुनेमा कत्तिको आशावादी हुन सकिन्छ ?
दलित समुदायको न्यायको लागि सरकारले कानुन केही परिमार्जित गरेको छ । यो सकारात्मक कुरा हो । कानुन परिमार्जित गरेर मात्रै हुदैन । अहिले हरेक दिन छुवाछूतको घटना घटेको छ । कहिले पानी छोइयो त कहिले धारा पँधेरामा दलित समुदाय माथी हुने कुटपिट यस्ता घटनाले अझै पनि समाजमा विभेद छ । समाजमा घटेका घटनालाई प्रहरीमा उजुरी गर्दा प्रक्रिया पुगेन भनेर उजुरी लिन मान्दैन । राज्यले परिमार्जित गरेको कानुन हरेक नेपाली जनतालाई बुझाउनु जरुरी छ । राज्यले हरेक नागरिक सम्मान हुन भनेर कानुनी र व्यावहारिक पक्षलाई परिपक्व बनाउदैन, राज्य जिम्मेवार बन्दैन तब सम्म आशावादी हुने अवस्था छैन ।
यहाँ अर्को समस्या पनि छ, दलित समुदायको न्यायका लागि बनेको कानुन कार्यान्वयन नहुने, यस्तो अवस्थामा दलित एकता संजालले कस्तो भुमिका खेल्न सक्छ ?
दलित समुदायको न्यायका लागि बनेको कानुन कार्यान्वयन हुँदै नभएको त होइन । २०६८ को कानुनलाई संसोधित गरेर २०७५ सम्म पुराउनु नै कार्यान्वयन भएको भन्नू पर्छ तर कर्मचारी र प्रशासन बाट कार्यान्वयन नभएको कुरा सत्य हो ।
छुवाछूत समुदायमाथी घटेका कतिपय घटनाहरुको टुङ्गो नलाग्नु नै त्यसको प्रमाण हो । दलित एकता संजालले कस्तो भुमिका खेल्ने भन्ने कुरामा दलित समुदाय माथी घटेका घटना संजाललाई जानकारी आएमा हामी तुरुन्तै त्यो केसलाई दर्ता गर्ने र कानुनी कार्वाहीको लागि पिडकलाई कष्टडिमा राखेर छानबिन गर्ने सम्मको काम भएका छन । हिजोको दिनमा प्रशासनले यस्ता किसिमका घटनाको उजुरी लिन नमान्ने मुद्दा दर्ता नगर्ने समस्या थियो । अहिले संजालले कम्तीमा यी कुराहरुमा भुमिका खेलेको छ । केस ३ दिनको होस वा ९ दिनको तर संवन्धित निकायले जाहेरी दर्ता गरेर कष्टडिमा राखेर कार्वाही प्रक्रिया अगाडी बढाउने गरेको तपाईं हामी सामु छर्लङ्ग छ । आगामी दिनमा संजाल नेपाल यस् विषयलाई वार्षिक योजनामा राखेर पीडितलाई न्याय दिलाउन र सम्बन्धित निकायलाई जिम्मेवारी बनाउन हाम्रो महत्त्वपूर्ण भुमिका रहने छ ।
अहिले देशै भरी बलात्कार पछि हत्याको घटना घटेको छ, कार्वाहीको लागि राज्यलाई दबाब दिने के योजना छ ?
देशै भरी बालिका र छोरी चेलीमाथि घटेको बलात्कार र यौनजन्य घटनाहरु यसमा मेरो फरक मत के छ भने ३ जना महिला वा बालिका बलात्कार हुँदा एक जना जहिले पनि दलित महिला, बालबालिका परेका छन । बलात्कार र हिंसाको घटनालाई हामिले ओभरल रुपमा हेर्दा सबै भन्दा धेरै दलित महिला बालबालिका माथी घटना हुने गरेको छ । बलात्कार गर्नेको सहि पहिचान भए पछि फासीको सजाय हुनुपर्छ । हाम्रो माग पनि हो । विषेश गरेर दलित एकता संजाल विशुद्ध सामाजिक संस्था हो । यसले विभेद विरुद्ध आवाज उठाउदै आएको छ । दलित महिला र बालबालिका माथी भएको बलात्कार र यौनजन्य हिंसाको डाटा संकलन गरेर छिटै नै प्रधानमन्त्री गृहमन्त्री लाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराउन जादैछौ ।
अन्त्यमा : देश बिदेशमा रहनु भएका समुदायलाई के भन्न चाहानु हुन्छ ?
देश बिदेशमा रहनु भएका दाजुभाइ दिदिबहिनीहरुले आफुले सक्दो सहयोग गर्नु भएको छ । बिदेशमा भए पनि नेपाली समुदायमा भएको जातिय घटनाहरुले हामिलाई भन्दा बढी तपाईहरु पीडा हुने गर्द्छ । हामी जहाँ भए पनि जातीय विभेद कुसंस्कार विरुद्ध एक हुन जरुरी छ । जातिय विभेद मुद्दा भनेको दलित समुदायको साझा मुद्दा हो । यो राज्यको मुद्दा हो बिशेष गरेर राज्य जिम्मेवार हुनुपर्छ, हामी भित्र पनि अझैसम्म एकता हुन नसकेको अवस्था हो कामी, दमाई, सार्की बिचको जुन असमानता रहेको छ सबै भन्दा पहिला यो असमानताको अन्य गर्दै विभेद बिरुद्ध समतामूलक समाजको परिकल्पना गर्न आवश्यकता छ । सम्मान पुर्वक जिउनको लागि राज्यले दिएको हक अधिकार सबैमा सम्मानता लागू हुनुपर्छ । यस अभियानको लागि देश बिदेशमा रहनु भएका दाजुभाइ दिदिबहिनीहरुमा दलित एकता संजाल अन्तर्राष्ट्रिय समिति नेपाल स्वागत गर्द्छ । मेरो र संस्थाको महत्त्वपूर्ण बिचारलाई यहाँको मिडिया ग्रुप रुप्से मार्फत देश बिदेशमा रहनु भएका दाजुभाइ दिदिबहिनीहरु माझ पुर्याउनु भएकोमा हार्दिक आभार व्यक्त गर्द्छु ।