लगातारको खराब प्रदर्शनपछि रियल मड्रिडले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गर्ने भएको छ ।
स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको एल क्लासिकोमा बार्सिलोनासँग ५–१ ले पराजित भएपछि लोपेटेगीको रियल मड्रिड भविष्य संकटमा परेको छ । उनलाई सोमबार बर्खास्त गरिने बुझिएको छ । लोपेटेगीको स्थानमा चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेलाई नियुक्त गरिने बताइएको छ ।
एल क्लासिकोमा पराजित भएसँगै रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा सात अंकले पछि रहँदै नवौं स्थानमा झरेको छ ।
मड्रिडको कार्यकारी बैठक सोमबार बोलाइएको छ । जुन बैठकपछि लोपेटेगीको आधिकारिक बर्खास्तीको निर्णय गर्नेछ । ‘हामीले निर्णय गर्नुपर्छ । यो अवस्थालाई निरन्तरता दिन सक्दैनौं,’ रियल मड्रिड स्रोतले भनेको छ ।
रियलले कोन्टेलाई सम्पर्क गरिसकेको छ र उनी सोमबार नै स्पेनिस राजधानी पुग्नेछन् । यसअघि पनि कोन्टेलाई रियलले सम्पर्क गरेको थियो । तर चेल्सीसँगको सम्झौताका कारण उनी रियल आउन सकेका थिएनन् ।