म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा अहिले म्याग्दी जिल्लाले आन्तरीक तथा बाह्य पर्यटकहरलाई भिœयाउनका लागि म्याग्दी भ्रमण वर्ष–२०७५ मनाइ रहेको छ । वि.सं. २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउनका लागि निजि क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले थालेको अभियानमा सबै म्याग्देलीहरुको सहभागिता र सहयोग अनि सद्भाव पाएकै छ । भ्रमण वर्ष मनाउनु भन्दा पनि त्यसले कस्तो प्रभाव पार्छ र त्यसका लागि पूर्वाधार के कस्ता छन् भन्ने हो । जसरी भ्रमण वर्षका लागि प्रचार गरीएको छ त्यस्तो प्रचारको सार्थकता के कस्तो छ भन्ने पनि सवाल पक्कै छ । किन भने म्याग्दी भ्रमण वर्षका लागि प्रचारप्रसार गरीएका पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधार निर्माण भएका छन त? त्यस्ता स्थानमा पुग्ने पर्यटकहरुले सुविधा पाउँछन् त भन्ने सवाल पक्कै पनि उठ्छ ।
म्याग्दीका धार्मिक, ऐतिहासीक र पर्यटकीय स्थलहरुमा कति छन् त्यस्ता प्रचारका लागि आवश्यक चिज अनि त्यहाँ पूर्वाधार? हामीले चर्चा सुन्दै आएको भकिम्लीको बेलढुङ्गा, राखुको रुइसे, टोड्के, तातोपानी, पुनहिल, घोडेपानी जस्ता स्थलहरुमा के कस्ता पूर्वाधार छन् त्यसका वारेमा पनि सोच्ने र त्यसको वारेमा पनि जानकारी दिन आवश्यक छ भ्रमण वर्षको प्रचार गर्ने क्रममा । कुनै पनि स्थलको प्रचार गरेर त्यसको सकारात्मक अनि दृष्यावलोकनको बारेमा प्रचार गर्ने क्रममा त्यस क्षेत्रमा भएका अन्य सुविधाहरु पनि छुटाइनु हुदैन । किन भने टोड्केलाइ लक्ष्य बनाएर गएको पर्यटकले आफ्नो बासको टुङ्गो कसरी लगाउन सक्छ यदी त्यस स्थलमा आवासीय सुविधाको वारेमा थाहै भएन भने । जति प्रचार गरीएका पर्यटकीय स्थल छन् त्यस्ता स्थलमा बासका लागि भने समस्या भएको गुनासो नआएका पनि होइनन् । भ्रमण वर्षको निम्तो गरेर राम्रो सुझाब पाउन पर्छ नकि गालिको वर्षा ।
म्याग्दी भ्रमण वर्ष मनाइ रहेको म्याग्दी जिल्लामा धौलागिरी, अन्नपूर्णसहित मानापाथी, चुरेन, गूर्जा, निलगिरी, मुना, पुठा, सिता जस्ता हिमालहरु रहेका छन् म्याग्दी जिल्ला भित्र । त्यस्तै प्रसिद्ध धार्मिकस्थलहरु बाइसे–चौबीसे राज्यका पालाका राजदरबार, कोत मन्दिर र म्याग्दी जिल्लाका विभिन्न स्थानहरुमा तातोपानी कुण्ड रहेका छन् । म्याग्दी जिल्लामा भ्रमण गरेर मनोरञ्जन लिनका लागि थुप्रै ठाउँहरु रहेका छन् । पर्यटकहरुका लागि यहाँका थुप्रै ठाउँहरु घुम्नलायक छन् । यही स्थलहरुको प्रचारका लागि हामीले भ्रमण वर्ष त मनाइयो तर अहिलेको भ्रमण वर्ष मनाउने क्रममा पूर्वाधारहरुको निर्माण तिर ध्यान दिन नसकेका हौं कि हामीले भन्ने पनि त पक्कै छ ।