-इश्वर गिरी
पाश्चात्य सभ्यता र संस्कृति बमोजिम विवाह एक सम्झौता मात्र हो । यसको उल्लंघन जति बेला पनि गर्न सकिन्छ तर हिन्दु सभ्यता र संस्कृति बमोजिम विवाह एक संस्कार हो । हिन्दु धर्म अनुसार विवाहको उद्देश्य मोजमस्ती गर्नु नभई पुत्र प्राप्त गर्नु हो । पुत्रको अर्थ खोज्ने हो भने नर्क (पुँ) बाट तारण गर्ने (त्र) जीवनको उत्पत्ति गर्नु हो जसले मृत्युपछि विभिन्न कार्यहरु गरेर पितृ आत्मालाई नर्क जान नदिने र गएको भए पनि चाँडोभन्दा चाँडो नर्कबाट मुक्ति दिलाउने कार्य गरोस् । हिन्दु धर्ममा वर्णित १६ संस्कारहरुमध्ये अन्त्येष्ठी अन्तिम संस्कार हो भने अन्तिम संस्कारसँग प्रत्यक्ष रुपले सम्बन्धित प्रथम संस्कारको रुपमा गर्भाधान संस्कार रहेको छ । खास गरेर गर्भाधान संस्कारको लागि नै विवाह गरिन्छ । विवाहपछि उचित बार, तिथि, नक्षेत्र, योग र करणका साथै शुभ बेला र शुभ मुहुर्त जुराई तथा चतुर्दशी, आमावश्यक, ग्रहण आदि अवस्थाहरुलाई बर्जित गरी गर्भाधान संस्कार पूरा गरिन्छ । यो गर्भाधान संस्कार पूर्ण वैज्ञानिक पद्धतिमा आधारित छ र यस संस्कारको ज्ञाता पुरुषले चाहे अनुसारको समयमा चाहे अनुसारको पुत्र वा पुत्रीको गर्भाधान गर्न सक्दछ । आधुनिक समयमा हिन्दुधर्म यति विकृति भइसकेको छ कि १६ संस्कार मध्ये केही सीमित संस्कारहरु न्वारन, अन्नप्राशन, ब्रतबन्ध, विवाह र अन्त्येष्ठी मात्र चलिरहेका छन् । त्यसैले विवाह संस्कार नभई सम्झौता हो भनी मान्ने व्यक्तिहरुको संख्या वृद्धि हुँदै जानु स्वाभाविक नै हो । विवाह जन्म र मृत्यु बीचको अवधिमा यस लोक र परलोक दुबैलाई सुधार्ने उद्देश्यले मानिसले गर्नुपर्ने एक मानवीय कर्मलाई जनाउँछ । जसको लाभ हानीसँग कुनै सम्बन्ध हुँदैन । विवाहलाई संस्कारको रुपमा नलिई सम्झौताको रुपमा लिएको परिणाम स्वरुप पौन उच्छृंखलता बढेर एड्स जस्तो रोग फैलिइसकेको अवस्था हो । विवाह सम्बन्धी प्राचीन र आधुनिक अवधारणा नियाल्दा, प्राचीन अवधारणा अनुसार विवाहको उद्देश्य वंश परम्परालाई निरन्तरता प्रदान गर्नु हो । ७ वर्ष वा सोभन्दा कम उमेरकी कन्याको दान गर्नाले पुण्य प्राप्त हुन्छ । रजस्वला भइसकेकी स्त्रीको दान गर्नाले पाप लाग्छ भन्ने चलन थियो । तसर्थ बाल विवाहलाई सर्वमान्य र उत्तम मानिन्थ्यो । विवाहले पूर्णता प्रदान गर्दछ भन्ने चलन थियो । विवाह गृहस्थाश्रममा प्रवेश गर्ने एक माध्यम मानिन्थ्यो । विवाह जन्म जन्मान्तरको सम्बन्ध भएकोले विवाह हुने पुरुष र स्त्री पूर्वा निर्धारित हुन्छन् भन्ने समेत विश्वास गरिन्थ्यो । विवाह पश्चात् पुत्री प्राप्त गरेर कन्यादान गरी दान सम्बन्धी पुण्य कमाउनु पनि रहेको थियो । विवाहको आधारमा जति बढी सन्तान उत्पादन गर्न सकिन्छ, त्यति नै बढी राम्रो मानिन्थ्यो । विवाह स्त्रीलाई आश्रय र शरण दिने एक माध्यम थियो । अर्धाङ्गिनीको रुपमा रहेकी स्त्रीको मुख्य कार्य जीवनकालमा र मृत्युपछि पनि पतिको सेवा र आराधना गर्नु रहेको थियो । विवाह धर्म, अर्थ, काम र मोक्ष यी ४ पुरुषहरुको पूर्तिमा एक अर्कालाई सहयोग गरेर मोक्ष प्राप्त गर्न सरल पार्नु रहेको थियो । त्यस्तै आधुनिक अवधारणा अनुसार विवाहको उद्देश्य स्त्री पुरुष बीचको लैङ्गिक मिलन मात्र हो । २० वर्ष उमेर नपुगेकी स्त्रीको विवाह गर्नु अनुचित र दण्डनीय मानिन्छ । विवाहले स्त्री र पुरुषलाई पूर्णता दिने कुरालाई स्वीकार गर्दैन किनकि स्त्री र पुरुष पहिले नै पूर्ण रहे भएको मान्दछ । विवाह पश्चात् स्त्री र पुरुष दुबैले गृहस्थी सम्बन्धी समस्याको समाधानको उपायहरु खोजी हिँड्छन् । विवाहसँग पुनर्जन्मको कुनै अस्तित्व र सम्बन्ध नभएकाले विवाह स्त्री र पुरुषको रोजाइको विषय हो । विवाह पुत्र र पुत्रीको प्राप्ति भन्दा पनि जीवनसाथीको उत्पन्न गर्नु हो । विवाह गर्नुभन्दा पहिले नै परिवार नियोजन कार्यक्रम विवाहभन्दा बढी महत्वपूर्ण विषयका रुपमा रहेका छन् । पुरुषले नसकेमा स्त्रीले पनि आश्रय दिनुपर्ने हुन्छ । जीवनसाथीको रुपमा रहेकी पत्नीले पुरुषको मृत्यु पछि मात्र नभई पतिको जीवनकालमा पनि अर्को विवाह गर्न सक्छिन् । विवाह सुखमय दाम्पत्य जीवनको लागि पुरुष र स्त्रीबीचको मिलन गराउने एक सामाजिक सम्झौता मात्र हो । विवाह सम्बन्धी शास्त्रीय अवधारणा मनुस्मृतिमा उल्लेख भएको पाइन्छ । यस अवधारणा अनुसार मनुस्मृतिमा ८ प्रकारका विवाहहरुको उल्लेख गरिएको छ । जुन यस प्रकार छन् –
क) ब्राह्मण विवाह ः कन्याको बुबा वा संरक्षकले वेद पढी ब्राह्मण, विद्वान, सुशील, गुणवान र अन्य राम्रा योग्यताहरु भएको व्यक्ति पत्ता लगाई निजहरुलाई आमन्त्रित गरी निजको विधिवत् पूजा गरी निज र आफ्नी कन्यालाई वस्त्रालंकारले विभूषित गरी कन्यादान गर्ने प्रक्रिया ब्राह्मण विवाह हो । यस्तो विवाहमा वरले धर्म, अर्थ, काम र मोक्ष ४ पुरुषार्थहरुमा सदैव पत्नीलाई सहयोग गर्ने वचन दिन्छ भने बधुले पनि त्यसै अनुरुप पतिको आज्ञा पालन गर्छिन् । यसको मुख्य उद्देश्य मोक्ष प्राप्त गरी ब्रह्मालिन हुनु र पति पत्नी दुबैले एक अर्कालाई सहयोग गर्नु रहेको छ ।
२. दैव विवाह ः धार्मिक विधि अनुसार कन्यालाई वस्त्रालंकारले विभूषित गरी यसमा विधिपूर्वक देवताहरुको पूजा गरी यज्ञमा पुरोहितको माध्यमद्वारा कन्यादान गरिने विवाह नै दैव विवाह हो । यस विवाहको मुख्य उद्देश्य कन्यादान गरेर पुण्य कमाउनु र कन्यादानको माध्यमद्वारा आफूले गर्न लागेको यज्ञलाई निर्विघ्नतापूर्वक सम्पन्न गराउनु रहेको छ ।
३. प्रजापत्य विवाह ः “तिमीहरु वर बधु मिलेर धर्मावरण गर्नु” भन्ने अभिप्रायले वरबधु दुबैलाई वस्त्रालंकारले विभूषित गरी तिनीहरुको पूजा गरी कन्यादान गर्ने प्रक्रियालाई प्रजापत्य विवाह भन्दछन् । यस विवाहमा पतिले गृहस्थ धर्म निभाउने, सन्यासी नहुने, पत्नी जीवितै हुँदासम्म अर्को विवाह नगर्ने वचनहरु कन्याको संरक्षकलाई दिन्छ ।
४. आर्ष विवाह ः वरले एक वा दुई जोडी गाई वा गोरु कन्या पक्षको संरक्षकलाई उपहार स्वरुप दिने र कन्याको संरक्षकले विधिपूर्वक कन्यादान गर्ने प्रक्रियालाई आर्ष विवाह भनिन्छ ।
५. गन्धर्व विवाह ः विवाहयोग्य स्त्री पुरुषले एक अर्कालाई मन पराई आआफ्नो संरक्षकहरुको अनुमतिविना पती पत्नीको रुपमा बस्ने प्रक्रियालाई गन्धर्व विवाह भनिन्छ । यस्तो विवाहको प्रचलन गन्धर्वहरुबाट सुरु भएको हुँदा यसलाई गन्धर्व विवाह भनिएको हो । यस विवाहको मुख्य उद्देश्य काम वासनाको तृप्ति मात्र रहेको हुन्छ ।
६. आसुर विवाह ः वरलाई मन परेको बधुको बुबालाई बढी भन्दा बढी धन दिएर कन्यालाई आफ्नो पत्नी बनाउने प्रक्रियालाई आसुर विवाह भनिन्छ । यसमा धनको सीमा हुँदैन । कन्याको बाबु सन्तुष्ट हुने रकम पाएपछि मात्र यो विवाहको सम्झौता हुन्छ ।
७. राक्षस विवाह ः पुरुष वा वर पक्षका मानिसहरुले कन्या पक्षका मानिसहरुलाई कुटपिट गरी कन्याको अपहरण गरेर पत्नी बनाउने प्रक्रियालाई राक्षस विवाह भन्दछन् । यसमा हिंसा, तोडफोड, अपहरण जस्ता राक्षसी घटनाहरु अवश्य घटित हुन्छन् ।
८. पैशाच विवाह ः जाँड रक्सी खाएर प्रमादयुक्त अवस्थामा सुतेकी वा जागेकी तर आफ्नो सतित्व गर्न सक्ने इच्छा नराखेकी वा राखेकी भए पनि सतित्व रक्षा गर्ने अवस्थामा नरहेकी अर्थात् समर्पणको अवस्थामा रहेकी महिलाको बलात्कार गरिसकेपछि पत्नी बनाउने प्रक्रियालाई पैशाच विवाह भनिन्छ ।
यी माथि उल्लिखित विवाह बाहेक अन्य विवाहहरु प्रेम विवाह, दर्ता विवाह, परम्परागत विवाह, अनुलोभ र प्रतिलोभ विवाह भएता पनि बढी प्रचलनमा रहेको विवाह भने परम्परागत विवाहलाई मान्न सकिन्छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ११ मा विवाह सम्बन्धी कसुरको व्यवस्था गरेको छ । मञ्जुरी विना विवाह गर्न गराउनु हुँदैन । यस्तो विवाह वदर हुनेछ भने यसरी विवाह गर्ने गराउने व्यक्तिलाई २ वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ । हाडनाता विवाह पनि गर्न गराउन हुँदैन । यस्तो विवाह गर्नेलाई पनि हाडनाता करणीमा हुने सजाय र गराउनेलाई ३ महिना कैद वा ३ हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुनेछ । विवाहमा लेनदेन गर्न नहुने, यदि लेनदेन गरेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ । बाल विवाह गर्न नहुने, यदि कोही व्यक्तिले २० वर्ष उमेर पूरा नगरेका व्यक्तिले गरेको विवाह स्वतः बदर हुनेछ भने विवाह गराउनेलाई ३ वषएको कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ । त्यस्तै गरेर बहुविवाह गर्न नहुने, यदि कोही कसैले बहुविवाह गर्छ भने उक्त विवाह बदर हुन्छ र विवाह गर्ने गराउने व्यक्तिलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(लेखक कानुन व्यवसायी हुन् ।)
Previous Articleच्याङ्ग्रालाई तहैपच्छिे चर्को कर
Next Article राष्ट्रिय भलिबलमा छाएकी म्याग्दीकी अरुणा