रामप्रसाद सुवेदी
रुप्से म्याग्दीको ऐतिहासिक समाचारपत्र हो । स्थापनाकालदेखि अहिलेसम्म निरन्तर प्रकाशन हुँदै यतिखेर विशेषाङ्कको सँघारमा छ । यो सबै पाठकहरुको लागि खुसीको कुरो हो । पत्रपत्रिका जनताका मुख हुन्, निमुखाका आवाज हुन् र चेतनाका संवाहक पनि हुन् । यस्ता भूमिकामा रमाएका पत्रपत्रिकाहरु लोकप्रिय नै हुन्छन्, त्यति हुँदाहुँदै पनि कतिपय अवस्थामा पत्रपत्रिकाका विकल्पमा काम गर्न सक्ने अरु कुनै माध्यमले यसलाई असर पु¥याएको हुन्छ । त्यतिबेला टिक्न सक्ने आधार भनेको त्यसभित्रको खुराक हो । स्थापनाकालदेखि निरन्तर प्रकाशन भइरहेको रुप्सेमा त्यस्तो केही छ जसले यसलाई टिकाइरहेको पनि छ । पत्रिका निकाल्नु कुनै चुनौती होइन, टिकाइराख्नु र लोकप्रियता हासिल गर्नु ठूलो
चुनौती हो ।
समाचारपत्र प्रकाशनको धेरथोर अनुभव मलाई पनि छ । यसका आन्तरिक तथा वाह्य गरी दुई प्रकारका हुन्छन् । आन्तरिक चुनौती व्यवस्थापकीय चुनौती हो भने वाह्य चुनौती सामग्री र प्रकाशनको हो । यी दुबै चुनौतीहरु आर्थिक चुनौतीसँग जोडिएका हुन्छन् । आर्थिक रुपमा कमजोर रहेका कुनै पनि कुरा फस्टाउन सकेको पाइँदैन । यसकारण रुप्से आर्थिक रुपमा सफल होओस् र चुनौतीहरु पन्छाउँदै अगाडि बढोस् ।
दैनिक रुपमा प्रकाशन गर्नुपर्दा खुराकको छनौटमा समस्या पर्न सक्छ तर सूचना सम्प्रेषणमा दैनिक पत्रिका सधैं अगाडि नै हुन्छ । दैनिक समाचारपत्रका समाचारका आधारमा कतिले फिचर र समाचार विश्लेषणका पाना भर्छन् । यो अर्थमा दैनिक पत्रिका समाचारको मेरुदण्ड हो । आफ्नो छुट्टै शैली जो जनताको चासोसँग जोडिन्छ, त्यसलाई समातेर अगाडि बढ्दा केन्द्रबाट आउने पत्रिकाभन्दा स्थानीय पत्रिका लोकप्रिय बनाउन सकिन्छ ।
एक्लो सन्तान सबैको प्यारो भन्छन्, रुप्सेलाई त्यो नजर नपर्ला भन्न सकिन्न, त्यसैले यहाँ जतिवटा दैनिक पत्रिका स्थापना भए पनि रुप्से लोकप्रिय नै रहिरहन यसले प्रशस्तै गृहकार्यहरु गर्न जरुरी छ, जो अहिले अभ्यास भइरहेको पाइएको छ । यस मानेमा खुसी लागेको छ । रुप्सेले सुरुबाटै नसच्याइकन अगाडि बढेको विषय के हो भने ग्राहक बनाउने प्रक्रियामा लगभग फ्रि वितरण गर्नु र विज्ञापनमा मात्रै पत्रिका टिकाउनु । पत्रिका टिकाउन कसकसको भूमिका छ, त्यो स्वयम् पत्रिकाको इतिहासले बताउला तर यसको वितरण विस्तार चुस्त छैन । यो पत्रिका जिल्ला बाहिर पनि काम लाग्ने बनाउन जरुरी छ । यसमा प्रकाशन हुने विचारमूलक आलेखहरु प्रायः साभार अनुकूलित हुने गरेका छन् । सम्बन्धित व्यक्तिहरुलाई सम्पर्क राखी ताजा विचारहरु राख्नतर्फ यसले कदम चाल्नुपर्ने छ । भाषाको सामान्य विद्यार्थी भएको नाताले मैले भन्नै पर्छ भाषा सञ्चारको माध्यमभ हो तर यसको भाषिक पक्ष रोमन अङ्कजस्तो भएको छ, हिसाब गरेर बुझ्नुपर्ने । समाचारपत्र वा अन्य जुनसुकै पत्रपत्रिका, पुस्तक आदि जो शब्दमा लेखिन्छ, त्यो भाषा उत्तम सरोकारको विषय हुन्छ । त्यो सबैले हेर्ने भएकाले त्यसमा शब्दहरुको प्रभाव मान्छेको मानसपटलमा रेकर्ड हुन्छ र त्यही प्रभाव लेखाइबोलाइमा पर्दछ । भाषाको मर्म नबुझी भाषसँग सम्बन्धित गतिविधि गर्दा भाषा थिल्थिलो हुन्छ । आज नेपाली भाषा यति कमजोर बनाइएको छ कि विद्यार्थीलाई सिकाउने भाषा शिक्षकहरुकै खडेरी पर्न थालेको छ । अङ्ग्रेजी भाषाको हिज्जे खोजीखोजी सही बनाउने मान्छेले आफ्नो देशको दुई शब्द ठीकसँग लेख्न नसक्नुबाट आफ्नो भाषा संस्कृति र देशप्रति कति जिम्मेवजार होला भनेर प्रश्न गर्दा टाउको धेरैको दुख्न पनि थाल्छ । यसकारण रुप्से भाषाको मानक पत्रिका बनोस् । यसलाई रुप्सेले पटक्कै आत्मसात गरेको छैन । सही कुन हो भनी मान्छेले रुप्सेलाई खोजे भने यसको मान चुलिने नै छ । सामाजिक सञ्जालहरुमा देखिएको जस्तो घिनलाग्दो भाषापद्धति रुप्सेमा देखा नपरोस् । विकास, सफलताका समाचारहरुमा वृद्धि गरोस् । बिग्रेभत्केका विषयका समाचारहरुलाई प्राथमिकताको अन्तिम सूचीतिर राखोस् । विकासको सङ्क्रमणकालीन अवस्थाका समाचारहरुमा नकारात्मक टिप्पणी आउने खालका सामग्री प्रसार नगरोस् ।
स्थान परिचय, विकासको लागि बहस, शिक्षा, महिला तथा बालबालिकाहरुलाई सम्बोधन हुने गरी रुप्सेमा सामग्री प्रकाशन हुँदै आएको हो । जडिबुटीसम्बन्धी, स्वास्थ्य सम्बन्धी सामग्रीको मात्रा भने निकै कम भएझैं लाग्छ । सार्वजनिक सरोकारका विषयहरुमा रुप्सेका पाइला अगाडि बढ्नुपर्छ । लागुपदार्थ दुव्र्यसन तथा भ्रष्टाचारको विरुद्धमा रुप्से तीव्र हुँदै जानुपर्दछ । पीत पत्रकारिताबाट सधैं जोगिएर सिर्फ जनताका साझा सवालहरुलाई रुप्सेले अँगाल्नुपर्छ । जसरी सूर्योदय हुँदा प्रत्येकका घरमा प्रकाश पर्छ, वातावरणमा रहेको हावा जसरी यावत जीवात्माको साझा छ, रुप्से त्यस्तै साझा हुनुपर्दछ । वर्ण, वर्ग, लिङ्ग, दल, नाता आदिको हिलामा प¥यो भने यसको अस्तित्व पक्कै मेटिन्छ ।
रुप्सेले भौतिक पक्षमा धेरै सुधार गर्नुपर्ने देखिन्छ । छपाइको दृष्टिकोणले हेर्दा रुप्से कवाडीको टोकरीभित्रबाट झिकेको कागजको गुणस्तरमा आयो भने के होला ? कहिले नबुझिने, कहिले मसी थोपरिएको, कहिले पुछिएजस्तो रिडिङ म्याटर आयो भने राम्रै भए पनि ध्यान जाद्यैन । रुप्सेलाई पढ्नै पर्ने बनाउन कसरी सकिन्छ, त्योतर्फ सोच्नै पर्छ । विज्ञापन माग्न होइन, खोजीखोजी दिनुपर्ने बनाउन रुप्सेमा अझ धेरै परिश्रम हुनु जरुरी छ ।
रुप्सेले यतिखेर ग्राहकको स्पष्ट किटान गर्न थालेको छ । यो राम्रो पक्ष हो । पत्रिकालाई पर्चा पम्प्लेटको सङ्ख्यामा छाप्दैमा केही हुने होइन, दुर्लभ सामग्रीयुक्त एवम् सित्तैमा नदिने गर्नुपर्दछ । रुप्सेले पुराना अङ्कहरुबाट कुनै सामग्री महत्वपूर्ण भए दोहो¥याएर पनि राख्ने र सङ्ग्रह गराउन रुप्से ज्ञानविज्ञान प्रतियोगिता राख्न सक्छ, जसमा रुप्सेका पुराना अङ्कका सामग्रीहरु परुन् । पत्रकारिताका आचारहरु स्वयं पत्रकारहरुलाई भलिभाँती थाहा छ, त्यसको कुनै सरोकार यहाँ राखिएन । भन्न खोजिएको हो कि रुप्से यस्तो समाचारपत्र बनोस्, जसलाई सबैले खोजी खोजी पढून् ।
(लेखक समालोचक एवम् जामुनाखर्क मावि अर्थुङ्गेका नेपाली भाषा शिक्षक हुन् ।)
Previous Articleचौथो एभरग्रिन कपको उपाधी आयोजकलाई
Next Article एसिया छनोट ‘बी’को उपाधि नेपालले जित्यो