नेपालमा १० वर्ष सम्म चलेको सशस्त्र युद्धपछि आएको शान्ति पनि अहिले एक दशक पार गरी सकेको छ । जो सुकैले पनि र जहिले सुकै पनि भन्ने एउटै चाहना र कामनाको शब्द हो शान्ति होस, शुख समृद्धि अनि प्रगति । आज सेप्टेम्बर २१ अर्थात् ३७ औं विश्व शान्ति दिवस । सन १९८१ मा संयुक्त राष्ट्रसंघको महासभाले आह्वान गरे अनुरुप सन १९८२ देखि यो दिवस मनाउन थालिएको हो । सन २००१ सम्म सेप्टेम्बरको तेश्रो मंगलबार मनाइँदै आएको यो दिवसलाई २००२ देखि २१ सेप्टेम्बरमा मनाउन थालिएको हो । विश्वका सम्पूर्ण देश अनि जनताको शान्तिको कामना सहित यो दिवस विश्वभर आजकै दिन मनाइदै छ।
आज विश्वले ३७ औं विश्व शान्ति दिवस मनाइ रहँदा नेपालमा भने यो दिवस मनाउन थालेको धेरै भएको छैन । विश्व शान्ति दिवस सन १९८२ देखि थालिएको भए पनि नेपालमा पहिलो पटक २०६५ सालमा मनाइएको थियो । नेपालमा चलेको सशस्त्र युद्धको विश्रामसँगै २०६३ मंसीर ५ मा भएको विस्तृत शान्ति सम्झौता भएको र सोही भावना र मर्मलाई आत्मसाथ गर्दै यो दिवसमनाउन थालिएको हो । शान्तिलाई हामीले लेखिएको शब्द मात्र ठान्यौ भने त्यो अपमान हुन सक्छ । यो एउटा शब्दाबली मात्र नभै मानव सभ्यताका लागि अनिवार्य आवश्यकता पनि हो । आज हामीले शान्तिको कामना सहित शान्ति दिवस मनाइ रहँदा नेपाल तथा विश्वमा धेरै कुराले अशान्ति भने पक्कै पनि भएको छ । न्याय पाउने आशमा बसेका पिडीतहरुले न्याय पाउन नसक्दा भएको असान्त मानसिकता होस या युद्धको भुमरीमा पिल्सीएका सिरिया तथा देश भित्रै अनागरिक बनेका म्यानमारका रोहिङ्ग्या समुदाय सबैको लागि आवश्यकता शान्ति नै हो ।
युद्ध, हिंसा तथा सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो । दोश्रो विश्वयुद्धको समापन पछि सन १९४५ मा जारी भएको संयुक्त राष्ट्रसंघको बडापत्रको प्रमुख उद्देश्य नै युद्ध रोकेर शान्ति स्थापना गर्नु भन्ने नै थियो । त्यस पछि मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को प्रस्तावनामा नै अधिकारहरुको मान्यता नै न्याय र शान्तिको स्थापना गर्नु नै थियो । विश्वभर हुने कुनै पनि हिंसा अनि मानवनरसंहार पछि बन्ने समिति तथा आउने परिणामलाई पनि शान्तिको खुड्कीलोको रुपमा लिइन्छ । आजको दिनमा हामीले शान्ति दिवस मनाइरहँदा म्यानमारका रोहिङ्ग्याको न्याय, भुटानी सरणार्थीको स्वदेश फिर्तीले मूर्त रुप पाओस् ।