भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव आठ पटकसम्म स्थगित भएपछि आज खुला गरिएको छ ।
धरहरा पुनःनिर्माणका लागि छ निर्माण व्यवसायी संस्थाले प्राविधिकसहित आर्थिक प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये प्राविधिक प्रस्तावमा पाँच निर्माण व्यवसायी मात्र पास भएको थियो । पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शङ्कास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने मिति आठ पटकसम्म रोकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।
प्राविधिक प्रस्ताव पारित भएका निर्माण कम्पनीमा जेइक/लामा जेभी, सिआर ५ सिइसीरस्वच्छन्द जेभी, कुमार/सिएफइसी जेभी र जिआइइटीसी/रमन जेभी, सिआइसिओ/कालिका/रसुवा जेभी छन् । जेसिजिआइसिसी/आशीष जेभीको प्राविधिक प्रस्ताव नै फेल भएको प्राधिकरणका सहसचिव मानन्धरले बताए । “निर्माण कम्पनी जिआइइटीसी/रमन जेभीको आर्थिक प्रस्ताव पारित भयो, कम्पनीले रु तीन अर्ब ४५ करोडमा धरहरा निर्माण गर्नेछ, प्राधिकरणको लागत स्टिमेट रु चार अर्ब ३८ करोड थियो, दुई हप्तामा निर्माण व्यवसायीसँग सम्झौता हुन्छ, त्यसको एक हप्तामा शिलान्यास गराउने तयारीमा छौँ,” मानन्धरले भने ।
भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्षअघिको भूकम्पसहित चारपटक ढलिसकेको छ । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको नयाँ बनाउने प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो । नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भर्याङसमेत राखिनेछ । धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ ।
भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्माणको लागत रु चार अर्ब लाग्ने लागत स्टिमेट तयार भएको थियो । यसअघि नेपाल टेलिकमलाई धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो । टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
‘मेरो धरहरा मै बनाउँछु’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषमा रु २४ करोड जम्मा भइसकेको छ । बाँकी स्रोत सरकारले नै व्यहोर्ने भएको छ । पुरातत्व विभाग र टेलिकम दुवैले बनाउन नसक्ने भएपछि प्राधिकरण आफैँले बनाउने निर्णय गरेको सहसचिव मानन्धरले बताए ।
हुलाकलाई भवन खाली गर्न पत्राचार गरिसकिएको प्राधिकरणले जनाएको छ । कूल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैँचासमेत बनाइनेछ । हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ निर्माण गरिनेछ । धरहरा बनाउन शुरु गरिहाल्ने र हुलाकलाई हटाउने कामलाई जारी राखिने प्राधिकरणका सहसचिव मानन्धरले सुनाए ।