भदौ दोस्रो सातासम्म एकीकृत भइसक्ने नेकपाका प्रदेश र जिल्ला कमिटीहरुमा लगभग बराबरीकै हैसियतमा भागबण्डा हुने भएको छ । जिल्ला कमिटीहरुलाई आफैं मिलाउन प्रेरित गरिएको एकता प्रक्रिया प्रदेश कमिटीमा पुग्दा आमरुपमा बराबरीकै सिद्धान्तमा हुन लागेको हो ।
प्रदेश १ मा पूर्वएमाले ५० र पूर्वमाओवादीले ४१ प्रतिशत पाए पनि अन्य प्रदेशमा केही संख्यामात्र तलमाथि हुने बताइएको छ । प्रदेश ६ मा माओवादीले एमालेभन्दा एकजना बढी सदस्य पाएको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका तल्ला कमिटीहरुको एकीकरण भने बराबरी संख्यामा गर्न लागिएको हो । केही संख्या तलमाथि भए पनि आमरुपमा प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गर्दा बराबरीकै आधारमा दुवैतर्फबाट सदस्यहरु सिफारिस भइरहेका छन् ।
सातै प्रदेशमा एकीकरणका लागि गठित कार्यदलले जिल्ला कमिटीसम्मको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुर्याएका छन् । एकीकरण गर्दा हिजोको पूर्वएमाले वा माओवादीको आधारमा होइन योग्यता, क्षमता, आवश्यकता, बरिष्ठता जस्ता आधारमा व्यक्तिहरुको नाम कमिटीमा सिफारिस गर्न सर्कुलर पठाइएको महासचिव बिष्णु पौडेलले बताए ।
यसका साथै सम्बन्धित स्थानीय तहमा पूर्ववत् अवस्थामा कुन पार्टी जितेको थियो भन्ने कुरालाई पनि आधार बनाइएको छ ।
प्रदेश र जिल्ला कमिटी कसलाई कति ?
स्रोतका अनुसार ७ वटा प्रदेशमध्ये पूर्वएमालेले चार र पूर्वमाओवादीले तीन प्रदेशको अध्यक्ष पाउने गरी शीर्ष तहमा छलफल भएको छ । त्यसो गर्दा प्रदेश १, २, ६ र ७ मा पूर्वएमालेले प्रमुख नेतृत्व पाउनेछ भने प्रदेश २, ४ र ५ को नेतृत्व पूर्वमाओवादीका नेताले पाउनेछन् ।
प्रदेश अध्यक्ष जसले पाउँछ, प्रदेश सचिव अर्को पक्षले पाउनेछ । प्रदेश अध्यक्ष र सचिव केन्द्रीय कमिटी सदस्यबाट चयन हुने सम्भावना छ । प्रदेश इन्चार्ज स्थायी कमिटी र सहइन्चार्ज पोलिटव्यूरो सदस्यबाट पठाइने सम्भावना छ ।
त्यस्तै ७७ जिल्ला कमिटीमा पनि बराबरीकै आधारमा अध्यक्ष र सचिव तोकिने छ ।
कुन जिल्ला कमिटीको नेतृत्व कसले पाउने भन्ने प्रदेश कमिटीको कार्यदलले नै सिफारिस गर्ने र सो आधारमा केन्द्रले निर्णय लिनेछ । केन्द्रले माथिबाट जिल्ला बाँडफाँट नगर्ने नेताहरुले बताए । जिल्लाको एकीकरण पनि प्रदेशकै मोडेलमा हुनेछ ।
कर्णाली प्रदेशमा त्यहीँको कार्यदलले ५ जिल्लामा पूर्वएमाले र ५ मा पूर्वमाओवादीले अध्यक्ष पाउने गरी सिफारिस गरेको छ । प्रदेश ७ मा पूर्वएमालेले ६ र पूर्वमाओवादीले ३ जिल्लाको नेतृत्व पाउने गरी सहमति हुन लागेको छ । यद्यपि २ जिल्लाको छलफल बाँकी रहेको छ ।
त्यस्तै प्रदेश ५ मा पूर्वमाओवादीले ६ र पूर्वएमालेले ६ जिल्लाको नेतृत्व गर्ने गरी समझदारी बनेको छ । यद्यपि पूर्वमाओवादीले ५ र पूर्वएमालेले ७ जिल्लाको नेतृत्व लिने गरी अर्को छलफल पनि चलिरहेको छ ।
गण्डिकी प्रदेशमा पूर्वएमालेले ७ र पूर्वमाओवादीले ४ जिल्लाको नेतृत्व पाउने गरी छलफल अघि बढेको छ । प्रदेश २ मा आठमध्ये दुवैले चार–चार जिल्लाको नेतृत्व गर्ने सम्भावना छ । प्रदेश १ मा पूर्वएमालेले ८ र पूर्वमाओवादीले ६ जिल्लाको नेतृत्व पाउने सम्भावना छ ।
प्रदेश ३ मा पूर्वएमालेले पूर्वएमालेले ८ र पूर्वमाओवादीले ५ जिल्लाको नेतृत्व पाउने गरी अनौपचारिक छलफल अघि बढेको छ ।
भूगोलका ७७ जिल्ला कमिटीमध्ये पूर्वएमालेले बढीमा ४४ र पूर्वमाओवादीले ३३ जनाअध्यक्ष पाउने संकेत देखिए पनि तल्ला कमिटीलाई नै नेतृत्व टुंग्याउन दिँदा अझ राम्रोसँग एकीकरणको भावना व्यक्त हुने नेताहरुको बुझाइ छ । सकेसम्म तलबाटै मिलाएर पठाउने र नमिलेका ठाउँमा मात्र केन्द्रबाट मिलाउने मोडालिटी अपनाइँदैछ ।
प्रदेशको सिट बाँडफाँट यस्तो छ
पार्टी स्थाायी कमिटीले गठन गरेका कार्यदलहरुले प्रदेश कमिटीमा रहने सदस्यहरुको सिट बाँडफाँड टुंगो लगाउँदैछन् । प्रदेश ४ र ७ बाहेक अन्य कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीले कति–कति सिट पाउने भन्ने टुंगो लागिसकेको छ ।
प्रदेश १ः प्रदेश नम्बर १ को प्रदेश कमिटी र स्थानीय कमिटीहरुको एकीकरणका लागि गठित कार्यदललमा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले सदस्य छन् । यो कार्यदलले २०७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १२२ र पूर्वमाओवादीबाट ८५ सदस्य रहने सहमति गरेको छ ।
यो भनेको पूर्वएमाले ५९ प्रतिशत र पूर्वमाओवादी ४१ प्रतिशत हो ।
प्रदेश १ को प्रदेशसभामा तत्कालीन एमालेको एकल बहुमत थियो । सोही आधारमा कमिटीहरुको एकीकरण गर्न लागिएको नेताहरुले बताएका छन् ।
प्रदेश २ः प्रदेश २ को पार्टी एकीकरण कार्यदलमा सत्यनारायण मण्डल, विश्वनाथ साह, प्रभु साह र नागेन्द्र चौधरी सदस्य छन् । कार्यदलले एक चरण सबै जिल्लाका नेताहरुसँग छलफल गरेको मण्डलले जानकारी दिए ।
२१५ सदस्यीय रहने प्रदेश कमिटीमा पूर्व एमालेबाट १०८ र पूर्व माओवादीबाट १०७ सदस्य रहने प्रस्ताव गरिएको छ ।
प्रदेश ३ः प्रदेश नम्बर ३ का स्थानीय कमिटी एकीकरण गर्न गठित कार्यदलमा अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशिनाथ अधिकारी र नारायण दाहाल सदस्य छन् । २१७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट ११६ र पूर्वमाओवादीबाट १०१ सदस्य रहने सहमति भएको छ । यो भनेको ५४ प्रतिशत र ४६ प्रतिशत हो ।
गण्डकी प्रदेशः गण्डकी प्रदेशका स्थानीय कमिटी एकीकरण कार्यदलमा किरण गुरुङ, हरि अधिकारी, जगत विश्वकर्मा र हितराज पाण्डे सदस्य छन् । १८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र पूर्वमाओवादी कति कति रहने भन्ने टुंगो नलागेको गुरुङले बताए । स्रोतका अनुसार पूर्वएमालेबाट ९९ र पूर्वमाओवादीबाट ८८ जना रहने गरी प्रदेश कमिटीको एकीकरण गर्ने बारे छलफल भइरहेको छ ।
प्रदेश ५ः प्रदेश नम्बर ५ का कमिटी एकीकरण गर्न गठित कार्यदलमा शंकर पोखरेल, दलबहादुर राना, मणि थापा र गणेशमान पुन छन् । २०३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले १०६ र पूर्वमाओवादी ९७ जना रहने सहमति भएको छ
कर्णाली प्रदेशस् कर्णाली प्रदेशको कार्यदलले आफ्नो प्रतिवेदननै बुझाइसकेको छ । कार्यदलमा युवराज ज्ञवाली, जनार्दन शर्मा,यमलाल कडेल,मायाप्रसाद शर्मा छन् । १७५ सदस्यीय प्रदेश कमिटीमा पूर्व माओवादीबाट ८८ र पूर्व एमालेबाट ८७ सदस्य रहने सहमति भएको छ ।
प्रदेश ७ः प्रदेश नम्बर ७ का कमिटीहरुको एकीकरण गर्ने कार्यदलमा भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा र लक्ष्मी जोशी छन् । १८३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १०० र पूर्वमाओवादीबाट ८३ जना राखेर एकीकरण गर्ने सहमति भएको छ ।
Source: kathmandutoday