जिल्लाको दक्षिण क्षेत्रमा उत्पादन हुने मुला तथा केराउ लगायतका तरकारी बालिको बिउँ उत्पादनमा पछिल्लो समय किसानले चासो देखाउन छोडेका छन् । लगानी अनुसारको प्रतिफल प्राप्त नभएका कारण उनीहरुले बिउ उत्पादनमा चासो नदेखाएका हुन् । कुनै बेला बिउँका लागि पकेट क्षेत्रको रुपमा रहेको जिल्लाको जैमिनी नगर क्षेत्रका कृषकहरु अहिले मुस्किलले आफ्नो प्रयोजनको लागि बिउँको उत्पादन गर्दै छन् । केही बर्ष पहिला बिदेशबाट आयात हुने बिउँलाई प्रतिस्पर्धात्मक तरिकाबाट प्रतिस्थापन गर्न लागेका किसान एकाएक बिउँ उत्पादनबाट पलायन भैरहेका छन् । किसानहरु बिउँको उत्पादनबाट पलायन भैरहँदा एकातर्फ लाखौं रुपैयाँ भित्रिने गरेको सो क्षेत्रले उक्त रकम गुमाई रहेको छभने आवश्यक बिउँ खरिदका लागि नेपाली किसानले लाखौं रुपैयाँ विदेश पठाउनु पर्ने अवस्था सिर्जना भएको छ । किसानहरु किन बिउको उत्पादनबाट पलायन भैरहेका छन् भन्ने विषय मुख्य विषय हो । बजारमा हजारौं रुपैयाँ केजी पर्ने मुलाको बिउलाई बिचौलियाले एक सय २० रुपैयाँका दरमा किसानबाट खरिद गर्ने र श्रमको मुल्य खोज्दा बिउँ नै नलिईदिने समस्या एउटा समस्या हो ।
अर्कोतर्फ राज्यले कृषिका लागि ठूलो रकम लगानी गरेपनि बिऊ उत्पादक किसानका लागि अनुदान तथा अन्य कार्यक्रमहरु ल्याउन नसक्दा किसान पलायन भैरहेका छन् । कृषिको क्षेत्रमा धेरै अनुदान आउने गरेका छन् तर त्यहिँ कृषि कर्मको लागि आवश्यक बिउ उत्पादमा राज्यको ध्यान नपुगेकै कारण आज यो समस्या पैदा भएको हो । पकेट क्षेत्रको रुपमा आफ्ना खेतबारीलाई प्रयोग गरेर बिउको उत्पादन गरिरहेका किसानलाई पुनः सोही कर्ममा फर्काउनु राज्यको दायित्व हो । उनीहरुले उत्पादन गरेको बिउँले एकातर्फ राज्यको आत्मनिर्भरता बनाईरहेको छभने अर्कोतर्फ बिउँको खरिदको लागि बिदेशिने करोडौं रकम देशमा नै परिचालन हुने वातावरण बनिरहेको थियो । यो कुरालाई मनन् गर्दै राज्यले किसानलाई ठगेर सिजनमा नै करोडौं रुपैयाँ कुम्ल्याउने बिचौलियालाई कार्वाही गर्ने किसानको श्रमको उचित मुल्य दिने र आवश्यक परेको खण्डमा बिउ उत्पादक किसानहरुलाई मल, जल तथा प्राविधिक सहयोग अनुदानमा उपलव्ध गराउने र कृषि समाग्रीहरुको प्राप्त उपलव्धता सुनिश्चित गर्ने होभने कुनै बेला २० टनभन्दा धेरै मुला र केराउ तथा ५ टनको हाराहारीमा रायोको साग, टमाटर लगायतका तरकारीको बिउँ उत्पादन गर्ने किसान पुनः आफ्नो कर्ममा फर्किने छन् ।
किसानको लागि भनेर स्थानिय तहदेखी केन्द्र सरकार सम्मले बनाएको बजेटमा आगामी आर्थिक बर्षमा बिउ उत्पादक किसान पनि पर्नुपर्छ । उनीहरुले बिउँ उत्पादन मात्रै गरिरहेका छैनन् बिउ उत्पादनबाट नै देशको अर्थतन्त्र र स्थानिय सरकारको आर्थिक स्रोतमा सहयोग गरिरहेका छन् भन्ने कुराको शासक वर्गमा ज्ञान हुन जरुरी छ । किसानमा भएको जाँगर प्रयोगमा ल्याउने र उनीहरुलाई उत्पे्ररित गर्ने कार्यक्रम अब तिनै तहका सरकारले बनाउन आवश्यक छ । किसानका मर्मलाई बुझ्न नसक्ने होभने हामीले तरकारी बिउँ मात्रै होइन आवश्यक हरेक वस्तुको आयात अन्य देशबाट निर्यात गर्नुपर्छ । समयमै चेतना भया ।
Previous Articleछात्राहरुलाई सेनेटरी प्याड वितरण
Next Article २०७५ जेठ १६ गते बुधबारको राशिफल