रवीन्द्र अधिकारी
पर्यटनमन्त्री भएको केही दिनमै मेरो टवीटर ह्यान्डलमा एउटा मेन्सन आयो, ‘रवीन्द्र दाइ, काठमाडौं एयरपोर्टको अध्यागमन कार्यालयमा फाराम भर्ने ठाउँमा कलम नै हुँदैन । ४०/५० वटा कलम राखिदिनुहोस् न ! खाडी मुलुक जाने कामदारले फाराम भर्न जान्दैनन्, भरिदिने मान्छेको पनि व्यवस्था गरिदिनुहोस् ।’
त्यो थाहा पाएपछि म सचिवलाई लिई गृह मन्त्रालय पुगें । सचिवहरूसँग छलफल गरें । अनि पो थाहा भयो, त्यो फाराम भर्नुपर्ने कानुनमै रहेनछ । अहिले नेपालीले फाराम नै भर्नुपर्दैन । त्यो हटाइयो । यहाँको कर्मचारीतन्त्र जिम्मेवारी बहन नगर्ने अजिबकै रहेछ । ‘भइहाल्छ १५ दिनको कुरा त हो हजुर’ भन्ने, तर दुई महिना बित्दा पनि कामै पूरा नगर्ने । काम गर्न पनि नसक्ने ।
मैले आउनेबित्तिकै सयदिने कार्यक्रम ल्याएँ । कतिपयले १५ दिनसम्म खेलाँची नै गरे । तर म तारन्तर लागिरहेपछि ‘यसले छाड्ने रहेनछ भनेर बल्ल कर्मचारीतन्त्र सयदिने कार्यक्रममा लाग्यो । यसबीचमा विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याइयो । म मन्त्री भएर आएको ७२ दिन नाघ्दै छ । सरकारसँग स्रोत र साधन सीमित छन् । तर भएका स्रोतसाधन प्रयोग गर्ने क्षमता पनि कर्मचारीतन्त्रमा कमै देखें । यहाँका योजना वस्तुनिष्ठ छैनन् । चालु योजना पनि लागत र आवश्यकताको विश्लेषण नगरी ल्याइएका छन् । हाम्रो प्राविधिक क्षमतामा पनि कमजोरी छ । प्रणाली पनि लम्बेतान रहेछ । वर्षको अन्तिममा आएर ‘सकिँदैन’ भन्यो अनि कर्मचारीको सरुवा हुन्छ ।
कतिपय राम्रो काम गर्ने कर्मचारी पनि देखिएका छन् । तर, तिनलाई मैले नै रिवार्ड गर्न मिल्ने व्यवस्था छैन । बढुवामा मैले नम्बर दिने प्रणाली छैन । सजाय दिने प्रणाली पनि छैन । पुरस्कार भनेको क्या काम गर्नुभयो भनेर धाप मार्ने हो । पनिस्मेन्ट दिनुपर्यो भने मुख बाझ्ने मात्रै रहेछ । चाहिने जनशक्ति पनि छैन । प्रभावकारी परिचालन गर्न सकिएको छैन । केही कर्मचारीलाई ढुक्कै छ । कोही बोलेर काम गर्दैनन्, कोही नबोलेरै गर्दैनन् ।
हामीकहाँ कर्मचारीको ‘परफर्मेन्स’ का आधारमा मूल्यांकन गर्ने पद्धति विकास हुन सकेकै छैन । अर्को समस्या समन्वयको पनि हो । म विकास समितिको सभापति हँुदा मन्त्रालय–मन्त्रालयबीच समन्वय हुँदैन भनिन्थ्यो । मन्त्री भएपछि थाहा पाएँ, आफ्नै मन्त्रालयको महाशाखा–महाशाखाबीचकै समन्वयमा समस्या रहेछ । कुनै नवीन काम अगाडि बढाउन खोज्यो भने कर्मचारीबाट प्रश्नै प्रश्न आउने । विमानस्थल राति चलाउँछु भन्दा एक वरिष्ठ कर्मचारीले ‘मन्त्रीज्यू, राति त ट्याक्सी नै पाइँदैन’ भने । उत्तर दिनुभन्दा कामै नगर्ने प्रवृत्ति हाबी रहेछ । काम गर्नेलाई खेद्ने, कामै नगर्नेलाई कसैले प्रश्न नगर्ने । अनि ‘उहाँ विवादमा पनि आउनुभएको छैन । असल प्रवृत्तिको हुनुहुन्छ’ भनिने रहेछ । काम गर्दै नगर्नेहरू राम्रो देखिँदारहेछन् । विवादमा आउनु छैन भन्दै कतिपय कामै नगर्ने प्रवृत्तिका रहेछन् । काम गर्दा गल्ती पनि हुन्छ भन्नुभन्दा कामै नगर्ने अर्को प्रकारको डरलाग्दो खतरा रहेछ ।
विकास समितिमा हुँदा मन्त्रालयहरूले संसद्ले दिएका निर्देशन मान्दै मान्दैनन्जस्तो लाग्थ्यो । तर, एउटा मन्त्रीले गर्न सक्ने नै रहेनछ । संसद्लाई सरकारले नटेरेको होइन रहेछ । कर्मचारीतन्त्रको मानसिकतामा समस्या रहेछ । समस्या क्षमतामा पनि रहेछ । मन्त्रीले चाहे टेबल–टेबलमा पुगेर काम गराउन सक्छ तर, यो ठीक होइन । सिस्टमले काम गर्नुपर्ने । तर सिस्टम सरेकै रहेनछ ।
खोरिया बारी फाँडेर बनाइएका, कहिल्यै जहाज नचल्ने विमानस्थल बनाउँदा सबैले पर्रर थपडी बजाउने । तर, म नागीडाँडामा जहाज चल्ने विमानस्थल बनाउँछु भन्दा वाहियात भन्ने † अहिले १० लाख पर्यटक नेपाल आउँछन् । हामी २० लाखको कुरा गर्दैछौं । अहिलेको पर्यटक आगमन दोब्बर पुर्याउँदा पूर्वाधार चाहिँदैन ? अहिलेकै पूर्वाधारले कसरी थेग्छ ? जे कुराका लागि पनि काठमाडौं आउने प्रथा हटाउँछु । मानिस संघीयतामा किन चाहियो, काठमाडौं भन्न थालिसके । अब प्रादेशिक एयरलाइन्स हुन्छन् ।
पोखराबाट भैरहवा, पोखराबाट भरतपुर त उडान हुन थालिसके । अब भैरहवाबाट विराटनगर, पोखराबाट नेपालगन्ज, पोखराबाट जनकपुर अन्तरप्रादेशिक उडान सुरु हुनेछन् । सजिला रुट र नाफा हुने क्षेत्रमा मात्रै जहाज उडाउन पाइने छैन । दुर्गममा पनि विमान उड्नुपर्छ । दुर्गम जानेको मूल्यांकन त्यसैअनुसार गरिनेछ । यो कामको थालनी नेपाल एयरलाइन्सले गर्छ । यसले काठमाडौंको एयर ट्राफिक कन्जक्सन घटाउनेछ । एयरपोर्ट सुधारमा सोसल मिडियाले सहयोग गर्यो । सोसल मिडियालाई धेरै–धेरै धन्यवाद !
(पर्यटन मन्त्रालयमा शुक्रबार ‘सयदिने कार्यक्रमको अनुभव’ बाँड्ने क्रममा मन्त्री अधिकारीले राखेको अभिव्यक्तिको सम्पादित अंश ।)
Previous Articleआफ्नै अनुभूतिले जन्माएको सृजना
Next Article छक्कापञ्जा ३ को छायांकन मल्लाजमा